२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

पाल्हीनन्दनको बजेट ५१ करोड १२ लाख

शिक्षा, स्वास्थ्य र पर्यटनलाई उच्च प्राथमिकता

Nada
विनोद निगम
२०८३ असार ३ गते २१:३७
Shares
पाल्हीनन्दनको बजेट ५१ करोड १२ लाख

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु ५१ करोड १२ लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा बुधबार सम्पन्न २१औँ गाउँसभा मार्फत विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको हो । 

ncell

गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले बजेट प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा अध्यक्ष गुप्ताले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समृद्ध, आत्मनिर्भर, समावेशी र जनउत्तरदायी पालिका निर्माण गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताए । 

उपाध्यक्ष अन्सारीले प्रस्तुत गरेको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १२ लाख २ हजार विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ ३२ करोड २५ लाख ७२ हजार तथा पुँजीगत खर्चतर्फ १८ करोड ८६ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले जानकारी दिए । 

गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ८८ लाख ८४ हजार आम्दानी गर्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै संघीय वित्तीय समानीकरण अनुदानबाट १ करोड ३४ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ६ लाख, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७८ लाख ९० हजार, प्रदेश सशर्त अनुदान १ करोड ५ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ७४ लाख १८ हजार, प्रदेश समपूरक अनुदान ७० लाख तथा गत आर्थिक वर्षको बैंक मौज्दात ३ करोड ५० लाख रुपैयाँ समेत बजेटका स्रोतका रूपमा समेटिएको लेखा अधिकृत सञ्जय कुमार शर्माले जानकारी दिए । 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै पाल्ही स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी १५ शय्याको पाल्हिनन्दन अस्पतालमा रुपान्तरण गर्ने योजना अघि सारेको छ । अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सामान्यदेखि मध्यमस्तरका स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, गाउँपालिकाभित्र बर्थिङ सेन्टर सञ्चालनलाई प्रभावकारी बनाउने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने र मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यका कार्यक्रम सञ्चालन गरिने भएका छन् । 

बजेटमा निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रको समग्र सुधारलाई प्राथमिकता दिँदै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याइएको छ । गाउँपालिकाले सबै बालबालिकाको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्ने, विद्यालय छाड्ने दर घटाउने तथा शिक्षाको गुणस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

बजेटमार्फत प्राविधिक शिक्षाको विस्तार, गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयहरूमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तथा शिक्षकको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

गाउँपालिकाले सबै सार्वजनिक विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने लक्ष्यसहित कम्प्युटर, डिजिटल सामग्री तथा सूचना प्रविधिसम्बन्धी आवश्यक उपकरण उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । साथै धार्मिक विद्यालय सञ्चालनका लागि पनि अनुदानको व्यवस्था गरिएको छ ।

कृषि क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको आधारका रूपमा लिँदै किसानमुखी कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषि उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग, सिँचाइ सुविधाको विस्तार, उन्नत बीउबिजन वितरण तथा कृषकलाई प्रोत्साहन गर्ने योजनाहरू बजेटमा समावेश गरिएको छ ।

स्थानीय उत्पादनको बजारीकरण, कृषि सहकारीको सुदृढीकरण तथा पशुपालन र तरकारी खेतीलाई व्यावसायिक बनाउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइएको छ । बजेटमा नन्दन ताल, पाल्ही मन्दिर तथा लोहरौली शिव मन्दिरको संरक्षण, सौन्दर्यीकरण तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ ।

यी क्षेत्रको विकासमार्फत धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धन गरी स्थानीय रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सामाजिक विकास अन्तर्गत महिला, बालबालिका, किशोर–किशोरी, युवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि र सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने भएको छ । विशेषगरी एकल महिलालाई लक्षित कार्यक्रम, सीपमूलक तालिम, स्वरोजगार तथा आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले समाजमा विद्यमान छुवाछुत, विभेद, कुरीति, अन्धविश्वास तथा दुव्र्यसन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । विकासका अवसर र प्रतिफलमा सबै वर्ग र समुदायको समान तथा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने नीति बजेटमा समावेश गरिएको छ ।

गाउँपालिकाका सबै वडामा नियमित विद्युत् आपूर्ति तथा सञ्चार सेवाको पहुँच विस्तार गर्न बजेट विनियोजन गरिएको छ । पूर्ण विद्युतीकरणको लक्ष्य पूरा गर्दै प्रत्येक बस्तीमा गुणस्तरीय विद्युत् सेवा पु¥याउने र इन्टरनेट पहुँच विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बजेटमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । बाढी, डुबान, आगलागी तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक तयारी तथा पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिएको छ ।

सडक, नाला, पुल, खानेपानी, सार्वजनिक भवन तथा अन्य विकास निर्माणका योजनालाई पनि बजेटले निरन्तरता दिएको छ । स्थानीय आवश्यकता र जनचाहनाका आधारमा योजना छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा हालसम्म भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत हासिल गरेको जनाएको छ । आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा वडा–वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गरी स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा योजना छनोट गरिएको अध्यक्ष गुप्ताले बताए । 

गाउँसभा समापन गर्दै अध्यक्ष गुप्ताले चालु वर्षमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कर्मचारी तथा जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन, विकास निर्माणका योजना समयमै सम्पन्न गर्न तथा सुशासन कायम गर्न सबैलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिए । 

पालिकाले प्रस्तुत गरेको बजेटले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सामाजिक विकास तथा पूर्वाधार निर्माणलाई केन्द्रमा राख्दै समग्र पालिका विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सरोकारवालाहरूको भनाइ छ । 

सम्बन्धित खबर