
कहिले माघेसंक्रान्तिको याममा
कहिले अनेक–अनेक अवसरको नाममा
केही थान साँढेहरू जुधिरहन्छन् ।
कहिले तादीखोलाको फाँटमा जुध्छन्,
कहिले इन्द्रावतीको किनारमा सिँगौरी खेल्छन्,
कहिले बागमतीको वारिपारि डुक्रिरहन्छन् ।
तिनकै पछि–पछि
हुलका हुल बाच्छाहरू कुद्छन्, कुदिरहन्छन् ।
साँढेको धर्म जुध्नु नै हो ।
जुध्छन्, जुधिरहन्छन् साँढेहरू ।
बाच्छाको धर्म साँढेका पछि–पछि कुद्नु हो ।
कुद्छन्, कुदिरहन्छन् बाच्छाहरू ।
बाच्छाहरू
कहिले साँढेका पछि रमाई–रमाई कुद्छन्,
कहिले साँढेकै पुच्छर समाई–समाई कुद्छन् ।
बाच्छाहरूलाई साँढेको जुधाइको अन्तर्य बुझ्नुपर्दैन,
फगत साँढेकै पछि कुद्न पाए पुग्छ ।
जोधाहा साँढेका
पुच्छर समाउँदै कुदेका
कति बाच्छाहरू फुत्केर
घरी त्रिशूलीमा खसेर मर्छन् ।
जुध्दा–जुध्दै साँढेहरू
क्षेमावती फाँटको गराभित्रै,
बाच्छाहरू डिलबाट नझरी÷नखसी,
जुध्दा–जुध्दै मर्छन् ।
साँढेहरू बागमतीको खलो
भत्किने गरी जुध्छन् ।
बाच्छाहरू किचिन्छन्, मिचिन्छन् र मर्छन् ।
साँढेहरू डुक्रिन्छन्,
बाच्छाहरू उछिट्टिन्छन् ।
साँढेहरू जुध्छन्,
बाच्छाहरू किचिन्छन् ।
साँढेहरू जुध्छन्,
बाली माडिन्छ,
खलो भत्किन्छ ।
बाच्छाहरू मिचियून्,
बाच्छाहरू किचियून्,
बाली माडियोस्,
खलो भत्कियोस्,
साँढेहरूलाई केही मतलब हुँदैन ।
किन्तु–परन्तु कुनै चिन्ताले छुँदैन ।
यस्तै क्रम चलिरहन्छ,
साँढेहरू जुधिरहन्छन् ।
एकथरी बाच्छाहरू किचिन्छन्, मिचिन्छन् ।
फेरि नयाँ–नयाँ बाच्छाहरू
तिनका पछि–पछि कुद्न थाल्छन् ।
बाली माडिन्छ, खलो भत्किन्छ ।
साँढेहरूको जात्रा चलिरहन्छ ।
तिनका पछि–पछि कुद्न थाल्छन् ।
बाली माडिन्छ, खलो भत्किन्छ ।
साँढेहरूको जात्रा चलिरहन्छ ।
ठुलो–ठुलो स्वरमा
साँढेहरू डुक्रिरहन्छन् ।
आफूलाई जिताउने नाममा
साँढेहरू जुधिरहन्छन् ।