२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दहाड : नेपाली समाजको यथार्थ चित्र

Nada
विपेन आदिमा
२०८३ असार ६ गते ०६:१०
Shares
दहाड : नेपाली समाजको यथार्थ चित्र

‘दहाड’ नवीन अभिलाषीद्वारा लिखित १२ वटा कथाहरूको संग्रह हो । दहाड २०८२ सालमा प्रकाशित कथासंग्रह भए तापनि यसले चित्रण गरेको समाज पञ्चायतकालीन समाज व्यवस्था हो । यसर्थ यसलाई तत्कालीन समय र परिस्थितिअनुसार बुझ्नुपर्छ । एक वाक्यमा भन्ने हो भने दहाड कथासंग्रह दुःखहरूको भकारी हो । समाजका तल्लो पिँधमा पारिएका दलित, महिला, गरिब वर्ग/समुदायमाथि प्रभुत्वशाली वर्गको चर्को दलन, दमन, शोषण तथा उत्पीडनको फेहरिस्त यसभित्रका कथाहरूमा चित्रण गरिएको छ । पञ्चायतकालीन शासन व्यवस्था निम्नवर्गीय किसान, मजदुर, निमुखा, अपांगता भएका, महिला र गरिबका लागि कत्तिको क्रूर, हिंस्रक र उत्पीडक थियो भन्ने यथार्थ यी कथाहरूमार्फत लेखकले छर्लंग पारेका छन् । यसर्थ राजतन्त्र ठिक भन्नेहरूका लागि दहाडको घुयेँत्रोले दह्रो झटारो हानेका छन्, नवीनले ।

ncell

कथ्यविषय र परिवेश

हृति, उछिट्टे, सिँहुर, रैयाँ, किनार, दमाहा, चौरासी, परित्यक्त, एक्का, दहाड, ताना र आफ्रे गरी मध्यपश्चिम क्षेत्रका १२ वटा कथामध्ये अधिकांश कथामा तराई र पहाडी ग्रामीण परिवेश तथा एकाध कथामा मात्रै सहरोन्मुख परिवेशको चित्रण गरिएको छ । शासन÷सत्ता र प्रभुत्वशालीहरूले मान्छेको दर्जामा नउभ्याएका अर्थात् मान्छे भएर मान्छेजस्तै बाँच्न नपाएका, आफूलाई मुटु चुँडिने गरी पीडा हुँदा पनि ‘ऐया !’ भनी रुनसमेत नसक्ने÷नपाउने भुइँमान्छेका आर्तनादले कारुणिक परिवेश सिर्जना गरेका छन् ।

प्रस्तुत कथाहरूमा तहगत÷संरचनागत वर्गीय उत्पीडन, लैंगिक उत्पीडन, शासक÷प्रभुत्वशाली वर्गको थिचोमिचो, अपमान, कपटपूर्ण व्यवहार, जात व्यवस्थाले निम्त्याएका समस्या, धोका, वियोगको पीडा, मृत्युको पीडा, रोग, भोक, अभाव, हत्या, बलात्कार, धार्मिक उत्पीडन, अपांगता भएकाले खेप्नुपर्ने समस्या, भौगोलिक विकटताको समस्या, बालमनोविज्ञान, मातृत्व, पितृसत्ताले निम्त्याएको समस्या आदिलाई मुख्य विषय बनाइएको छ ।

वैचारिकी

‘किनार’ शीर्षकको कथामा बालीघरे प्रथा ठिक होइन भन्ने विचार प्रस्तुत छ । कथामा दुखीराममार्फत लेखक ‘स्वतन्त्रता त तिनीहरूले पाउने रहेछन्, जो डरलाई जित्न सक्छन्’ (पृ. ८७) भन्छन् । यो अति राम्रो छ, तर यही विचार अन्य कथा र पात्रहरूमा भने सशक्त रूपमा आउन सकेको छैन । ‘दमाहा’ कथामा सेते दमाईले त्रिलोचनजंगजस्ता क्रूर शोषकको आँगनमा आफ्नो अपमान गरेपछि विरोधस्वरूप सबैले देख्ने गरी थुकेर फर्केको छ (पृ. ९८) । त्यस परिस्थितिमा यत्रो आँट गर्न सक्नु उसको ठुलो उत्पीडनविरोधी चेत हो । ‘चौरासी’ कथाको पात्र देवीलाल र ‘एक्का’ कथामा इन्दल खुलेरै पञ्चायती व्यवस्थाको विरोधमा उत्रिएका छन् । यस्तै ‘ताना’ कथामा गर्जबहादुर मालिकहरू (हरिहर, जिम्वाल, दुर्गादत्त)सँग ‘अब गाइने गाइने भनेर हेलोहोचो गर्न नपाइने कुरो छ, जुगजमाना फेरिन थाले’ (पृ. १८४) भन्दै उनीहरूसँग शास्त्रार्थ गर्नसमेत अग्रसर भएको छ । यो नै कथाको सशक्त पक्ष हो । यसरी उत्पीडनविरोधी चेतको दृष्टिकोणले हेर्दा ‘एक्का’, ‘चौरासी’ र ‘ताना’ कथा यस संग्रहकै उत्कृष्ट कथा हुन् ।

‘एक्का’, ‘चौरासी’ र ‘ताना’ कथामा पञ्चायतविरोधी आन्दोलनमा कथाका मूल पात्रहरूको सहभागिता रहे तापनि खासमा उनीहरू शासक तथा शोषक वर्गकै जितका लागि भर्‍याङ मात्रै बनेका छन् । ‘एक्का’ कथामा पञ्चायतविरोधी चेत बोकेको पात्र इन्दलको हत्या भएको छ भने ‘चौरासी’ कथाको देवीलाललाई पनि आन्दोलनमै गायब बनाइएको छ । यस कथासंग्रहका पात्र मूलतः निराश र कुण्ठित बनेका छन् । ‘दहाड’ कथाको पात्र पनि झन् बिचल्लीमा परेको छ । यसबाट कथाकारले के भन्न खोजेका हुन् ? लेखकसँगको फोनवार्तामा उनले ‘यी कथाहरू मेरो समाज, मेरो भूगोलका प्रतिनिधि सन्दर्भ हुन्, जुन मेरा आँखाहरूले सधैं देख्थे । पञ्चायतकालको कथा भनेर मैले पुस्तकमा लेखेको भए पनि मेरो लागि पञ्चायत समय धेरै पछिसम्म रहन पुग्यो’ भन्ने बताएका थिए । यसबाट के बुझिन्छ भने नेपालका मध्यपश्चिम क्षेत्रमा अझैसम्म भनेजति आमूल परिवर्तन हुन सकेको छैन । 

यो सत्य हो, तर कथालाई दलित र महिला आन्दोलनबाट पूरै टाढा राखेर पञ्चायतविरोधी आन्दोलनले केही गरेन भन्ने भाव फिजाउनु कत्तिको न्यायोचित हुन्छ ? कि लेखक दलित, उत्पीडितहरूको रगत–पसिना बेकार भयो भन्ने पक्षमा पुगेका हुन् र ? यदि यसो हो भने सारा उत्पीडित वर्गमाथि नै अन्याय हुन्छ । जित्नु–हार्नु आफ्नो ठाउँमा छ, तर नेपालका हरेक उत्पीडनविरोधी आन्दोलनमा दलित, महिला, गरिब, मजदुर तथा उत्पीडित वर्ग÷समुदायले बगाएको रगत र पसिना बेकारको भने होइन ।

नेपालमा २००३÷०४ सालदेखि संगठित रूपमा दलित आन्दोलन सुरु भएको हो । राणाशासन फालेर प्रजातन्त्र ल्याउन, निर्दलीय पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याउन, राजतन्त्र फालेर गणतन्त्र ल्याउन दलित र महिला आन्दोलनको भूमिका अवश्य छ । पञ्चायतकालमा पनि दलित आन्दोलन देशभरि नै भइरहेको देखिन्छ । तर, यस कथासंग्रहभित्रका कुनै पनि कथामा दलित र महिला आन्दोलनको झिल्कोसम्म पाइँदैन । अरू त कुरै छाडौं, उत्पीडनविरोधी चेत भएका पात्रहरूलाई समेत संगठित दलित आन्दोलन र महिला आन्दोलनबाट बेखबर बनाइनुको लेखकीय स्वार्थ के हो ?

कथामा पात्रहरूले किन विद्रोह गर्न सकेनन् भन्ने प्रश्नको उत्तरमा लेखकले यी पात्रहरू पञ्चायतकालीन यथार्थवादी पात्र भएका र सत्ताले पैतालामुनि पारेका इतिहास हुन् (पृ. २२१) भन्ने भूमिकामा उल्लेख गरेका छन् । यदि त्यति मात्रै हो भने पञ्चायतकालमा कुनै आन्दोलन नै भएको थिएन भन्नुपर्ने हुन्छ । इतिहासका पात्रले आन्दोलन गर्नै हुँदैन भन्ने त होइन र कथामा यथार्थ चित्रण मात्रै गरिएको हो भने आन्दोलनको यथार्थ चाहिँ किन गायव गरिएको त नि ? उनी अर्को तर्क गर्दै भन्छन्, ‘यी पात्रहरू स्वैरकल्पनाले शृंगार गरेका मुखौटा होइनन्’ (पृ. २२१) । त्यसो भए यी सबै कथा–घटना यथार्थ÷वास्तविक हुन् त ? यथार्थ घटनाले मात्रै कथा, कथा जस्तो बन्दैन । कथामा यथार्थको चित्रण गरिनु फरक कुरा हो, तर कथा नै यथार्थचाहिँ होइन । त्यसो त सामाजिक यथार्थ चित्रण मात्रै गर्ने, दुःख, पीडा, अभाव, भोक, गरिबी, दलन, दमन आदि मात्रै देखाउने हो भने कथा नै किन लेख्नुपर्‍यो र ? 

समाजमा गएर हेरे भइहाल्यो, त्यो सकिँदैन भने इतिहास लेखेर त्यही पढे भइहाल्यो नि ! यसर्थ समाजमा विभेद छ भन्ने स्वीकार गरेपछि त्यसको यथार्थ चित्रण मात्रै देखाएर साहित्य लेख्नुको सार्थकता सिद्ध हुँदैन । यस कथासंग्रहका अधिकांश कथामा उत्पीडनविरोधी चेतनाको सानो झिल्कोसम्म प्रस्तुत गरिएको छैन । सारा उत्पीडनबाट मुक्ति र परिवर्तनका लागि मार्गको संकेतसम्म नगरी खाली रोनाधोना, मृत्यु, दुःख र कष्ट मात्रै देखाउनुको औचित्य के ?

‘ताना’ कथाको मुख्य पात्र गर्जबहादुर भाग्यविधाता वा कुनै ईश्वरको अस्तित्वप्रति आस्था राख्दैन (पृ. १९६) भनिएको छ । फेरि यसैको अलि तल छोराले सारंगी सबै बिगारेर खेल्दा गर्जबहादुरलाई अन्य शक्तिले छोरामाथि खेलेको अनुभूति भइरहेको छ (पृ. १९६) भन्ने कथन छ । ईश्वरप्रति आस्था नै नराख्ने मान्छेले अलौकिक शक्तिको अनुभूति गरेको भन्ने कुरा आफैंमा बाझिएन र ? यस्तो वैचारिक अस्पष्टता किन ? कि यो लेखकमा नै उब्जिएको अस्तित्ववादी हुने कि भौतिकवादी भन्ने वैचारिक अस्पष्टता हो ?

‘हृति’ कथामा आमाले आफ्नो बालक छोरालाई छुट्टै घर बनाएर आमा–छोरा बस्ने सपना देखाएकी छ, तर सधैंका लागि छोडेर जाने बेला छोरासँग बोल्ने त कुरै छाडौं, फर्केरसमेत हेरेकी छैन (पृ. १६) र न कहिल्यै फर्केर आएकी छ, न त छोरालाई भेट्न बोलाएकी छ । वास्तवमा आमा यति हृदयहीन कसरी हुन सक्छिन् ? यस्तै ‘उछिट्टे’ कथामा बसन्तीले आफ्नो श्रीमान् बजार गएको बेला बिरामी नवजात शिशुलाई अलपत्रै छाडी आत्महत्या गरेकी छ (पृ. ४०) । कथाको परिवेश हेर्दा हत्या पो हो कि भन्ने शंका गर्ने ठाउँ छैन । यसरी एउटी आमाले आफ्नी शिशु छोरीको बिचल्ली पारेर कसरी मर्न सक्छे ? हाम्रो समाजमा आत्महत्या गर्छु भनेर हिँडेका आमाहरू त बच्चाकै मायाले फर्केर आएका कैयौं उदाहरण छन् । प्राकृतिक र जैविक रूपमा नै आमाहरू आफ्नो बच्चाका लागि बढी नै समर्पित हुन्छन् । तर उक्त शिशुको हेरचाह गर्ने कोही नभएको बेला, आफ्नी श्रीमती र छोरीका लागि भनेर नुनको भारी बोक्न गएका श्रीमान् घर नआइपुग्दै बिरामी बच्चालाई अलपत्र पारेर आत्महत्या गरेको कथा बुनेर आमा प्रजातिलाई यति धेरै निर्दयी र कठोर देखाउनुको लेखकीय स्वार्थ के हो ?

‘दहाड’ र ‘ताना’ कथाबाहेक अरू सबै कथामा मान्छे मरेको घटनाको बयान गरिएको छ । मृत्यु सत्य छ भन्दैमा प्रिय मान्छेको मृत्युको पीडा र त्रासदीलाई नदेखाई कारुणिक कथा नै बन्दैन जस्तो गरी कथामा भयावह पीडाको चाङ लगाउनुको लेखकीय अन्तर्य के हो ? अतः कथाकार समाजका घटना र परिवेशको यथार्थ चित्रणमा सशक्त देखिए तापनि जातीय, वर्गीय, लैंगिक तथा सामाजिक, सांस्कृतिक र राजनीतिक उत्पीडनबाट मुक्तिको मार्ग चित्रण गर्ने पक्षमा कतै अलमलिएका देखिन्छन् ।

भाषाशैली

सबै कथाका भाषा आलंकारिक, सुरम्य, सरल र बोधगम्य छन् । कथामा प्रयुक्त शब्द र वाक्य गठन प्रक्रियाले पाठकको हृदय छुने लयात्मक शैली निर्माण गरेको छ । आञ्चलिकताको प्रयोगले कथाको भाषा अझ मिठासपूर्ण बनेको छ ।

अन्त्यमा, दलित समुदायको प्रतिनिधित्व गर्दै नवीन अभिलाषीले नेपालको मध्यपश्चिमी समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक आदि अवस्था, सामाजिक समस्या तथा दुःखहरूलाई यथार्थपरक ढंगले कथामा प्रस्तुत गरेका छन् । उनको कथा बुन्ने शैली र भाषा अत्यन्त राम्रो छ । आगामी दिनमा उनका साहित्य समाज परिवर्तनका लागि चेतनाको दियो बन्न पुगून् । लेखनयात्राका लागि कथाकार नवीनजीलाई हार्दिक शुभकामना !

ताजा खबर

सम्बन्धित खबर