
काठमाडौंं : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि सम्पत्ति शुद्धीकरणको छानबिन सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।
उनी पटक–पटक गरी आठपटक मन्त्री भएका नेता हुन् । पाँचपटक त अर्थमन्त्री भए । कतिसम्म भने पौडेल अर्थमन्त्री हुने हल्लाकै भरमा सेयर बजारमा बिचौलियाहरूले उछाल ल्याइदिन्थे । तीमध्येका दीपक भट्ट र सुलभ अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्वअर्थमन्त्री पौडेल पनि जोडिएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोत बताउँछ ।
उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ । उनलाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि नेपालगन्ज हुँदै काठमाडौं ल्याउन लागिएको हो ।
पौडेल पछिल्लोपटक २०८१ असारमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । जेनजी आन्दोलनले सरकार ढालेपछि उनी पार्टी जिम्मेवारीबाहेक शक्तिमा छैनन् । उनी एमालेको आन्तरिक चुनावी समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको कार्यक्रमका लागि सुर्खेतमा थिए । स्थानीय शुभ होटलमा कार्यक्रम चलिरहेका बेला प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोलीले उनलाई पक्राउ गरेको हो । एसपी पोखरेल आफैं गाडी लिएर होटल पुगेका थिए । प्रहरीले ‘जाने बेला भयो, निस्कनुस्’ भन्दै पौडेललाई होटलबाहिर बोलाएर नियन्त्रणमा लिएको सँगै रहेका एमाले नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पार्टी कार्यक्रममा एमाले नेताहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मासमेत सहभागी थिए ।
पौडेलले सार्वजनिक गरेको सम्पत्ति
२०७६मा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । पछिल्लोपटक उनले सम्पत्ति सार्वजनिक गरेका छैनन् । अघिल्लोपटक उनले सार्वजनिक गरेको सम्पत्तिअनुसार ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा छोरा नवीन पौडेलका नाममा ९ आना १ पैसा २ दाम जग्गा र त्यसमा निर्माण भएको एउटा घर देखाएका थिए । काठमाडौं ४, बालुवाटारमा छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा र १६ तोला सुन देखाएका थिए । त्यस्तै, एभरेस्ट बैंकमा २१ हजार रुपैयाँ नगद मौज्दात थियो भनेका थिए भने छोरा नवीनको राष्ट्रिय वाणिज्य बैंकको खातामा ५७००, यती डेभलपमेन्ट बैंकमा १०००, ग्लोबल आइएमई बैंकमा ३३००० रुपैयाँ र कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा ६१४ अस्ट्रेलियन डलर देखाएका थिए । बुहारी प्रमिता अधिकारीका नाममा ग्लोबल आइएमई बैंकमा ३३ हजार र कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा १३ हजार अस्ट्रेलियन डलर मौज्दात देखाएका थिए ।
पौडेलकी श्रीमती दोमाया पौडेलका नाममा एनडिइपी बैंकको तीन कित्ता सेयर देखाएका थिए । त्यसैगरी छोरा नवीनका नाममा क्यापिटल मर्चेन्ट बैंकमा ५२२ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ५२२ कित्ता र दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजमा १२७५० कित्ता सेयर देखाएका थिए । छोरा नवीनले दुई लाख चुक्ता पुँजी भएको तिलोत्तमा होल्डिङ कम्पनी स्थापना गरे । पौडेलले माइलस्टोन बचत तथा ऋण सहकारी संस्थामा ५० हजार र गौतम बुद्ध स्वास्थ्य सेवा सहकारी बुटवलमा २५ हजार रुपैयाँ लगानी गरेको देखिन्छ । छोरा नवीनले राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख १६ हजार ओभर ड्राफ्ट ऋण लिएको देखाएका थिए ।
बालुवाटार जग्गा हिनामिना प्रकरणमा उपाध्यक्ष पौडेल मुछिएका थिए । अख्तियारले मुद्दा चलाउने भएपछि छोरा नवीनको नाममा रहेको आठ आना जग्गा फिर्ता गरेर उनी जोगिएका थिए ।
सधैं शक्तिमा
आठौंपटक मन्त्रीको अवसर आउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिमपटक अर्थमन्त्री हुन चाहेको बताएका थिए । यसरी पाँचांैपटक अर्थमन्त्री बनेका पौडेल तीन दशकदेखि सिंहदरबारको शक्तिमा छन् । लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा पहिलोपटक युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका उनले २०५३ चैत १२ देखि ०५४ असोज १० सम्म मन्त्रालय सम्हाले । २०६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रोपटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले । त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि बनेको झलनाथ खनालको सरकारमा पनि उनी मन्त्री बने । त्यतिबेला पौडेल २०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । २०७२ सालमा ओली नेतृत्वको सरकारमा उनी पहिलोपटक अर्थमन्त्री बने । २०७७, २०७८, २०७९ र २०८१मा उपप्रधानसहित अर्थमन्त्री बने ।
२०१६ सालमा स्याङजाको पुतलीबजारमा जन्मेका पौडेल ०३५ सालदेखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहसम्म आइपुगे । पञ्चायतकालमा जेलनेलसमेत भोगेका उनले भूमिगत समयमा पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही आदि जिल्लामा पार्टीको काम गरे । पौडेलले लुम्बिनी र महाकाली अञ्चल कमिटीको पनि नेतृत्व सम्हालेका छन् । २०४७ सालदेखि पार्टीको केन्द्रीय सदस्य बनेका पौडेल २०५१ सालको मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभामा विजयी भए । २०६४को पहिलो संविधानसभामा रुपन्देही–४ बाट सभासद जिते । २०७०को चुनावमा सोही निर्वाचन क्षेत्रबाट डा.बाबुराम भट्टराईलाई चुनाव हराएर दोस्रोपटक सभासद बने । २०७४ र २०७९ सालको प्रतिनिधिसभा चुनावमा उनी रुपन्देही–२ बाट सांसद बनेका थिए । गत प्रतिनिधिसभामा भने उनी रास्वपाका सुलभ खरेलसँग फराकिलो मतान्तरले पराजित भए ।