
काठमाडौं : पुराना दलका महाधिवेशनमा देखिने एउटा समान प्रवृत्ति छ– महाधिवेशनको बन्दसत्र सुरु हुनेबेलासम्म प्रतिनिधि विवाद नटुंगिने । सहमतिका नाममा निर्वाचन तालिका प्रभावित हुने । सर्वसम्मति भन्दै महाधिवेशन हललाई अनिर्णयको बन्दी बनाइरहने । तोकिएको समयभित्र महाधिवेशन टुंग्याउन नसकेर खर्च बढाउने ।
वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाको प्रथम महाधिवेशनमा पनि यो प्रवृत्ति करिब–करिब उस्तै छ । असार ७ गतेदेखि चितवनमा जारी महाधिवेशनको उद्घाटनपछिका डेढ दिन प्रतिनिधिहरू भूमिकाविहीन भए । प्रतिनिधि छनोटको विवाद नटुंगिँदा बन्दसत्र सुरु नगरेरै स्थगित गर्नुपर्यो । मंगलबार दिउँसो ३ बजेपछि सुरु भएको बन्दसत्र रातिसम्म चल्यो । बन्दसत्रमा पार्टीको सांगठनिक तथा वैचारिक, आर्थिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन पारित गर्दै महाधिवेशनको तेस्रो चरण मनोनयन दर्तामा प्रवेश गर्यो ।
यस हिसाबले नयाँ राजनीतिक अभ्यास र योजनासहित आएको रास्वपाले तीन दिनका लागि तय गरेको महाधिवेशन पाँच दिन लाग्ने देखिएको छ । पुराना र परम्परागत राजनीतिक दलभन्दा फरक देखिन खोजे पनि महाधिवेशनमा देखिएको अस्तव्यस्तता र नेतृत्वको शैलीमा कुनै नवीनता नपाइएको टिप्पणी प्रतिनिधिहरूले नै गरेका छन् ।
विगतमा नेपाली कांग्रेस, एमाले, नेकपालगायत दलहरूले कार्यतालिकालाई भन्दा पनि गुटबन्दीलाई बढी प्राथमिकता दिएर आफ्नो पक्षमा परिणाम ल्याउन अनेकन उपाय लगाउँथे । महाधिवेशनका चुनावी प्रक्रिया रातविरात हुने गरेका थिए । जुन परम्परावादी पदचापलाई रास्वपाले पनि पछ्याएको हो । रास्वपा महाधिवेशनका कारण सिंहदरबारसमेत तीन दिनदेखि सुनसान छ । प्रधानमन्त्री वालेन्द्र शाहसहित सबै मन्त्री पार्टीको महाधिवेशनमा व्यस्त छन् ।
रविलाई गुटबन्दीकै त्रास
‘यो महाधिवेशनमा गलत पात्र र गलत प्रवृत्तिको एउटा बीउ पनि नरोपियोस्,’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूलाई निर्देशन दिए । बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई गत निर्वाचनमा मत दिने ५२ लाख नागरिकको विश्वासका लागि भए पनि कुनै गुट–उपगुट र प्यानल नबनाउन आग्रह गरेका हुन् । ‘हामीलाई विश्वास गरेर मत दिने ५२ लाखभन्दा बढी नागरिकले हामीलाई हेरिरहेका छन् । उनीहरूको विश्वासका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस्,’ उनले भने ।
पहिलो महाधिवेशन हुनुअघि नै झन्डै दुईतिहाइको सरकार बनाउन सफल रास्वपाको यो महाधिवेशनले आगामी चार वर्षका लागि नेतृत्व चयन गर्दै छ । सोही महाधिवेशनबाट पार्टीको वैचारिक सैद्धान्तिक धारलाई प्रस्ट पार्नेछ । पार्टी संगठनको कुनै संरचनाविनै प्रनिधिसभा निर्वाचनमा दुईतिहाइका लागि दुई सिट कम पाएको रास्वपाले विधान संशोधनमार्फत धेरै नेतालाई समेट्ने प्रयास गरेको छ । यद्यपि पदाधिकारी आकांक्षीको संख्या विधानमा उल्लेखितभन्दा दोब्बर बढीले इच्छा जाहेर गर्दा सर्वसम्मतिको प्रयास असफल भएको छ । सभापति र वरिष्ठ नेतामा पुनः रवि लामिछाने र वालेन्द्र शाह (बालेन)लाई सर्वसम्मत छाड्न दोस्रो तहका नेताहरू तयार भए पनि पदाधिकारी मिलाउन निकै सकस देखिएको छ ।
तल्ला पदहरूमा दुवै नेतानिकट व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने पक्का भएको छ । सभापति लामिछाने र प्रधानमन्त्री बालेनले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गराउन चाहेका छन् । दोस्रो तहका नेताबीच तीव्र मतभेद देखिएपछि पार्टी सभापति लामिछानेले नेता–कार्यकर्तालाई बन्द सत्रको हलबाटै आन्तरिक मतभेद नराख्न निर्देशन दिएका थिए । यद्यपि उनले महाधिवेशन उद्घाटन गर्दै लोकतान्त्रिक पद्धतिलाई अंगिकार गर्दै स्वस्थ प्रतिस्पर्धा गर्न कसैले नरोक्ने बताएका थिए । सोही कारण पनि आकांक्षीले सभापतिको पछिल्लो निर्देशनभन्दा पनि ‘ब्यालेट’बाटै प्रतिस्पर्धा गर्ने तयारी गरेको रास्वपाका नेताहरूले बताएका छन् ।
सभापति लामिछानेले गुट–उपगुट नबनाई स्वस्थ प्रतिस्पर्धामा जान निर्देशन दिँदै फोनफोनमा नाम नपठाउनसमेत आग्रह गरे । उनले भने, ‘हामी एक ढिक्का रास्वपा हौं । हामी कुनै गुट–उपगुट होइनौं, हामी केवल रास्वपा हौं, केवल घण्टीवाहक हौं ।’ लामिछाने अधिकांश समय आन्तरिक कलह र गुट–उपगुटको विषयमा केन्द्रित भएपछि पार्टीमा ठुलै विवाद उत्पन्न भएको आशंका सहज अनुमान गर्न सकिने राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
अधिकांश पदमा प्रतिस्पर्धा
पार्टीको विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह बसेका छन् । सभापतिका लागि ५१ जना समर्थकको आवश्यकता पर्ने नियम छ । त्यस्तै, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तासहित १९ पदाधिकारी हुने व्यवस्था विधानमा छ । पदाधिकारीका लागि एक प्रस्तावक र ४१ जना समर्थक आवश्यक पर्छ । केन्द्रीय सदस्य उम्मेदवारका लागि एक प्रस्तावक र २१ समर्थक चाहिने व्यवस्था गरेपछि उम्मेदवारीका लागि प्रस्तावक जुटाउनै मुस्किल छ । जसकारण धेरै आकांक्षीले उम्मेदवारी दिन पाएनन् । उम्मेदवारी मनोनयनको कार्यतालिका रातिबाट राखिएकाले उम्मेदवारको विवरण मंगलबार अबेर रातिसम्म आएको थिएन ।
दस्तावेजमा प्रस्टता
रास्वपाको पहिलो महाधिवेशनले दस्तावेजमा पार्टीको वैचारिक सांगठनिक र नेतृत्वको विषयमा प्रस्ट पारेको छ । बन्द सत्रमा विभिन्न प्रतिवेदन पारित गरेको रास्वपाले आफ्नो वैचारिक दृष्किोणमा सामाजिक लोकतन्त्र, उदारवादमा विश्वास गर्ने बहुल लोकतान्त्रिक दल भनेको छ । त्यस्तै, पार्टीको मूल नेतृत्वपछि वरिष्ठ नेतालाई विधानमै व्यवस्था गरेर बलियो बनाएको छ । १९ पदाधिकारीसहित १५१ केन्द्रीय समिति बनाएको रास्वपाले पार्टी सभापतिलाई शक्तिशाली बनाएको छ । सभापतिले केन्द्रीय समितिमा ५१ जना मनोनीत गर्ने व्यवस्था विधानमै गरेको हो । पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बनाउने तयारी गरेको रास्वपाले विधानमा विभिन्न सांगठनिक संरचनाको परिकल्पना गरेको छ । विभिन्न अभियानबाट, आएका कहिल्यै राजनीति नगरेका मानिस जोडिएर देशको प्रमुख राजनीतिक दल बनेको रास्वपामा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयनका लागि हुने निर्वाचनमा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदै छ ।
सवा पाँच लाख सदस्यता
रास्वपाको पार्टी सदस्य ५ लाख २३ हजार ४६५ पुगेको छ । चितवनमा जारी महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्यता उल्लेख छ । महामन्त्री बुर्लाकोटीले कुल सदस्यमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा र कम कर्णाली प्रदेशमा रहेको बताए । जसअनुसार कोशी प्रदेशमा ७३ हजार ३५५, मधेशमा १ लाख २१ हजार ८९९, बागमतीमा १ लाख ८३ हजार ३२०, गण्डकीमा ६१ हजार ९२५, लुम्बिनीमा ७५ हजार ९६२ र कर्णालीमा २९ हजार ३२५ सदस्य रहेका छन् ।
अहिलेसम्म ६४ जिल्ला, ६०९ पालिका र ४३६३ वडाको अधिवेशन सम्पन्न भएको र हुन बाँकी रहेकामा तयारी भइरहेको जनाइएको छ ।