
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाको १७औं नगरसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३/०८४ को नगरको वार्षिक विकास नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
मेयर वसन्त बस्नेतले आफ्नो कार्यकालमा सुशासन, जनतामा दूरगामी प्रभाव पार्ने कार्यसम्पादन गरेको उल्लेख गरे ।
नगरप्रमुख बस्नेतले पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २३ किलोमिटर कालोपत्रे सडक, १६ वटै वडामा प्रशासनिक भवन निर्माण, बिजुली विद्युतीकरण विस्तार गरिएको उल्लेख गरे ।
त्यस्तै कृषि सिँचाईतर्फ २३ हजार ४३४ हेक्टर जमिनमा कृषि सिँचाई, खानेपानीतर्फ ९६ प्रतिशत घरधुरीमा वितरण गरिनुका साथै नगरले घर नक्साको फाइलहरुलाई डिजिटलाईज गरिने उल्लेख गरिएको छ ।
नगरले बजेटको नीति तथा कार्यक्रममा विशेषगरी पूर्वाधार, कृषि, सामाजिक ,आर्थिक विकास तथा वन वातावरण र विपद् व्यवस्थापन लगायत क्षेत्रहरुलाई समेटिएको उल्लेख गरेको छ ।
उपमेयर महेश्वरी राईले नगरपालिकाले मेलमिलापलाई प्राथमिकता दिएको बताइन् । उनले चालु आर्थिक वर्ष २०८२/०८३ मा ३३ वटा उजुरी परेकोमा ३३ वटै फच्र्यौट भएको बताइन् । जसअन्तर्गत सबैभन्दा बढी ऐलानी जग्गा विवाद रहेको बताइन् ।
त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ३८करोड ७७ लाख ७४ हजार रकम विनियोजन भएको छ । नगरले पूर्बाधार तर्फको बहुवर्षीय योजनाको लागि ४ करोड ८५ लाख ८७ हजार १३० रुपैयाँ तथा सामाजिक विकासतर्फ २ करोड ५० लाख र आर्थिक विकासतर्फ १ करोड बजेट विनियोजन गरिएको जनाएको छ ।
राजस्व परिचालनतर्फ नगरले गत आ.व. मा ५ करोड ७४ लाख आन्तरिक आय संकलन भएकोमा यस आर्थिक वर्षमा ७ करोड आन्तरिक आय संकलन हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम तथा बजेटको अनुमानित आय–व्यय अन्तर्गतको आम्दानीतर्फ संघीय सरकार ८५ करोड ८१ लाख, प्रदेश सरकार ७ करोड ४९ लाख ६९ हजार उल्लेख गरिएको छ ।
त्यस्तै आयव्ययतर्फ राजस्व बाडफाड २३ करोड ४६ लाख ५१ हजार २३८ रहेको छ । आन्तरिक स्रोत तर्फ १६ करोड ५०लाख ६५ हजार तथा चालु वर्षको बाँकी मौज्दात ५ करोड ४९ लाख ८८ हजार ७६२ उल्लेख गरिएको छ । सभामा लेखा समिति, आर्थिक विकास समिति, सामाजिक न्यायिक लगायत विभिन्न विषयगत प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।