२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

अपरिपक्व नेतृत्व, भद्रगोल व्यवस्थापन

Nada
जीवन शर्मा
२०८३ असार १२ गते ०६:३०
Shares
अपरिपक्व नेतृत्व, भद्रगोल व्यवस्थापन

काडमाडौं : पहिलो महाधिवेशन उद्घाटनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) सभापति रवि लामिछानेले भनेका थिए, ‘संसारको राजनीतिक इतिहासमै विरलै हुने घटनाका रूपमा पहिलो महाधिवेशनभन्दा अगाडि नै हामीले झन्डै दुईतिहाइको सरकार प्राप्त गरेका छौं ।’ महाधिवेशन आरम्भमा उनको अभिव्यक्तिप्रति देखिएको उत्साह नेतृत्व चयनसम्म आइपुग्दा हराइसकेको थियो । झन्डै ३० प्रतिशत प्रतिनिधि बीचैमा महाधिवेशन छाडेर घर फर्किसकेका थिए । 

ncell

सांसदसमेत रहेका अधिकांश नेताले पार्टी नेतृत्वको शैली र व्यवस्थापनप्रति तीव्र असन्तुष्टि पोखेका छन् । वैकल्पिक शक्तिको दाबीसहित उदाएको रास्वपाको प्रवृत्ति परम्परागत दलभन्दा भद्रगोल देखियो । कुनै गुट बनाउन नपाइने उर्दी जारी गरेका नेताहरूले नै महाधिवेशन प्रतिनिधि छनोटमा गोजीबाट सूची झिके । जसका कारण पहिलो महाधिवेशनमै आन्तरिक असन्तुष्टि छताछुल्ल हुन पुग्यो । 

तीन दिनमा सक्नेगरी सुरु गरिएको महाधिवेशन पाँच दिनमा पनि सकिएन । चितवनको ३६ डिग्रीको तापक्रममा पाँच दिन अस्तव्यस्त हुनुपरेपछि महाधिवेशन प्रतिनिधिले पार्टी नेतृत्व र व्यवस्थापन प्रक्रियाप्रति कडा टिप्पणी गरिरहेका छन् । यस्तो तरिकाले देश नबन्ने भन्दै एकचौथाइ प्रतिनिधिले महाधिवेशन छाड्नुले पनि असन्तुष्टि कुन तहको थियो भन्ने बुझाउँछ । निर्वाचन तालिका पाँचौंपटक संशोधन गरेपछि बल्ल बन्दसत्र पदाधिकारी चयनतर्फ लाग्यो । 

महाधिवेशनमा चार हजार ३११ प्रतिनिधि सहभागी थिए । तर, दुई हजार ९५९ले मात्रै केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गरे । बाँकी एक हजार ३५२ जना प्रतिनिधि मतदानमै सहभागी भएनन् । ९९ केन्द्रीय सदस्यका लागि ३७९ जनाले उम्मेदवारी दिएका थिए । 

भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतन्त्रिक अभ्यास चलिरहेको दाबी गरिए पनि बाहिर उम्मेदवारसँगै प्रतिनिधिको पोखेको असन्तुष्टि सामान्य छैन । यसले वैकल्पिक दलको लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाएको छ ।  रास्वपाका थुप्रै प्रतिनिधि अनुभवी छन् । उनीहरूले यसअघि कांग्रेस, एमाले, माओवादी, राप्रपा वा जसपालगायत दलका महाधिवेशन देखेका छन् । भारी जनमतले चार वर्षमै हलक्कै बढेको रास्वपामा राजनीतिक अनुभव, चरित्र र व्यवहार भने आलोकाँचो पाइएको उनीहरूको टिप्पणी छ । 

असन्तुष्टिको आगो

महाधिवेशनमा प्रतिनिधि र केन्द्रीय स्तरका नेताले नै असन्तुष्टिको आगो ओकलेका छन् । प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले महाधिवेशन लथालिंग पारेर पदाधिकारीले  अन्तर्राष्ट्रिय जगत्मा पार्टीको बेइज्जत गरेको बताए । कांग्रेस पृष्ठभूमिका रेग्मीले नेतृत्वको विरुद्धमा बोल्न नहुने विषय बोलिरहेको भन्दै उनले आफू निर्वाचनमा पराजित हुने संशय पनि व्यक्त गरे । ‘यत्ति भनेपछि मलाई थाहा छ, धेरैले मत दिन्नन् । म हारिनै हाल्छु,’ उनले भने, ‘यति बोल्नै नहुने थियो, तर बोलिहालियो ।’ 

उनको यो भनाइले रास्वपामा वाक्स्वतन्त्रता र सुझावयुक्त टिप्पणीसमेत पाच्य नहुने संकेत गरेको छ । रेग्मीले भरतपुरमा देखिएको बेथितिप्रति इंगित गर्दै यसरी देश चलाउन नसकिने स्मरण गराए । ‘यति बेथिति गरेर हामीले देश चलाउन सक्दैनौं है साथीहरू,’ उनले भने, ‘मैले आजै भन्दिएको छु । जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, तर पार्टीका पदाधिकारीले नै अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् ।’ 

महाधिवेशन देखिएको भद्रगोल अवस्थाले रास्वपाको संगठनात्मक तयारीमाथि पार्टी आन्तरिक आलोचना व्यापक छ । पार्टीका मूल नेताले भने उनीहरूको कुरा सुनेका छैनन् । नेतृ ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ‘ज्वाला’ हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी नै दिएइन । ‘पार्टीको वेबसाइटमा मेरो नाम केन्द्रीय सदस्य टीका संग्रौला ‘ज्वाला’ रहेको र यसैअनुसार महाधिवेशन प्रतिनिधि हुँदै उम्मेदवार बन्दासमेत यही नाम रहेकोमा भोटिङ मेसिनमा ‘टीका संग्रौला’ मात्रै राखिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छन्, ‘यस विषयमा के भएर नाम हटेको हो, यथाशीघ्र अनुसन्धान गरियोस् ।’ 

‘यस प्रक्रियाबाट आफूमाथि हुन गएको अन्याय र क्षतिको जिम्मा कसले लिने हो ? उनले प्रश्न गरिन् । भोटिङ मेसिनमा थुप्रै उम्मेदवारको ‘परिचित नाम’ राखिएको भए पनि आफ्नो भने बदनियतपूर्वक हटाइएको भन्दै ज्वाला आक्रोशित थिइन् । पनि उनको उजुरीको कुनै सुनुवाइ भएको छैन ।  

रास्वपाका नेता उत्तम पौडेलले पार्टी नेताहरूको तरिकाप्रति सन्तुष्ट छैनन् । नेतृत्वसँग प्रश्न गर्दै भनेका छन्, ‘कुन तरिका हो यो नामावली प्रकाशनको ? ‘कि जसो गरे पनि हुन्छ भन्ने हो नयाँले ? बुझिनँ मैले, बुझाइदेऊ कसैले ।’ मतदान गर्ने बेलासम्म प्रतिनिधि टुंग्याउन नसकेको, भोटिङ मेसिनमा उम्मेदवारको नाम वर्णानुक्रमअनुसार नराखिएको, दर्ता क्रममा तलमाथि बनाइएको देखि तीन दिनका लागि बोलाएर ६ दिनसम्म राख्दा खर्चको अभावमा भौंतारिएको विषयमा प्रतिनिधि असन्तुष्टि व्यक्त गर्दै घर लागेका छन् । 

सांसद आशिका तामाङले पनि केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेको नम्बर र भोटिङ मेसिनमा राखिएको नम्बर फरक पारिएको भन्दै सार्वजनिक रूपमै आपत्ति जनाइन् । ‘मनोनयन दर्ता गर्ने बेला ३७ नम्बरमा भएको मेरो नाम भोटिङ मेसिनमा के–को आधारमा १०६ नम्बरमा पुग्यो ?,’ उनले भनिन् । इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गर्दा आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो परेको बताइन् । नचिनेका÷नजानेकालाई पनि मतदान गर्नैपर्ने बाध्यता रहेको उनको गुनासो थियो । मन लागोस् कि नलागोस् ६४ जनालाई मत हाल्नैपर्ने बाध्यता रहेको उनको भनाइले महाधिवेशनस्थलमा एकखालको तरंग ल्याइदिएको छ । 

सांसद यज्ञमणि न्यौपानेले पार्टी महाधिवेशनमा देखिएको भद्रगोल परिवेशले आफूलाई चिन्तित तुल्याएको बताएका छन् । त्यस्तै, भक्तपुरका सांसद राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरे । आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनी पार्टीको कार्यशैलीप्रति आलोचनामा उत्रिएका हुन् । खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’

रास्वपाका नेता गणेश कार्कीले प्रारम्भिक सूचीअनुसार उम्मेदवारको नाम नराखिएकोप्रति आलोचना गरेका छन् । ‘प्रारम्भिक सूचीमा मभन्दा तल दर्ता भएकाहरूको नाम मेरोभन्दा माथि कसरी भयो ?,’ कार्कीको प्रश्न थियो, ‘के आधारमा भोटिङ मेसिनमा नाम, स्थान तोकियो ?’ उनी आफैं आयोजकसमेत हुन् ।  यी नेताहरू आपत्ति र असन्तुष्टिलाई सम्बोधन गर्न रास्वपा तयार देखिँदैन । पहिलो महाधिवेशन भएकाले कतिपय व्यवस्थापनको पक्ष कमजोरी भएका विषयलाई नेताहरूले नै सार्वजनिक रूपमा बोल्नु पार्टीप्रतिको इमानदारीमा नदेखिएको एक पूर्वपदाधिकारीले मध्यान्हलाई बताए । तर, प्रतिनिधिहरूले भने महाधिवेशनमा सहमतिका नाममा निर्वाचन तालिका प्रभावित पार्ने, सर्वसम्मति भन्दै महाधिवेशन हललाई अनिर्णयको बन्दी बनाइरहने, तोकिएको समयभित्र महाधिवेशन टुंग्याउन नसकेर खर्च बढाउने पुराना दलको पुरानै शैली भएको दाबी गरेका छन् ।  

जनतासँग सिधा कुरा गरेर उदाएको शक्ति 

न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेसहित विभिन्न क्षेत्रका २१ जना अभियान्ताको सक्रियतामा खोलिएको रास्वपा अहिले देशको नेतृत्वकर्ता बनेको छ । त्यो पनि विगतका सरकारको जस्तो कुनै अरू राजनीतिक दलहरूसँगको गठनबन्धन गरेर नभई करिब दुईतिहाइ बहुमतको शक्ति बनेर सरकारका नेतृत्व गर्दै छ ।

२०७९ असार २ गते नयाँ राजनीतिक अभियान थालेर ७ असारमा भृृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहबाट पार्टीको रूप दिएको रास्वपा स्थापनाको चार वर्ष भयो । यो चार वर्षमा रास्वपा तीनपटक सरकारमा पुगेको छ । २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिँदा ६ महिनामै सो दलले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ सिट प्राप्त ग¥यो । लगत्तै भएको उपचुनावमा अर्को सिट थप्यो । 

२०८० वैशाखमा उपनिर्वाचनमा कांग्रेस छाडेर अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले रास्वपाबाट चुनाव लडे र जिते पनि । उनको जितसँगै रास्वपा २१ सिटको चौथो ठुलो दल बन्न पुग्यो । त्यतिन्जेलसम्म पार्टी संगठनका कुनै संरचना थिएनन् । केन्द्रीय समितिमा भएका अधिकांश व्यक्तिहरू सांसद नै थिए । चुनावलगत्तै नेकपा एमाले, माओवादी केन्द्रलगायत दलहरूसँग मिलेर रास्वपा सरकारमा गयो । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । शिशिर खनाल शिक्षा र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बने । तर, अमेरिकी नागरिकता नत्यागेका कारणको उनको सिंहदरबार यात्रामा तत्कालै ब्रेक लाग्यो । मन्त्री र सांसद् पद खारेज भए । प्रक्रिया पुर्‍याएर उनले नेपाली नागरिकता त लिए, संसद्मा फर्किन भने उपनिर्वाचन लड्नुपर्ने भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर कांग्रेसँगको सत्ता सहकार्य गर्दा रास्वपाले सरकार छाड्यो । २०८० फागुनमा एमाले–माओवादीबीच पुनः सत्ता गठबन्धन बनेपछि रास्वपा फेरि सरकारमा फर्कियो । लामिछाने पुनः उपप्रधानमन्त्री तथा गृहमन्त्रीमै दोहोरिए । त्यसबेला पनि उनले भ्रष्टाचारका सबै फाइल खोल्छु भने पनि केही गर्न सकेनन् । बरु राष्ट्रिय परिचयपत्र छपाइ ठेक्कामा सेटिङ गरेको आरोप खेपे । उनी विवादै विवादको चक्रबाट उम्कन सकेका थिएनन् । दोहोरो नागरिकता विवादपछि सहकारी ठगी काण्डमा मुछिए । त्यो प्रकरणबाट उनले अझै उम्किन सकेका छैन । करिब नौ महिना थुनामै बसेका रविले गत निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह समूह, समीक्षा बास्कोटा नेतृत्वको विवेकशील, थरुहट मोर्चा, खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाली पार्टी, जेनजी समूहलगायतलाई रास्वपामा समाहित गराएर देशको शक्तिशाली दल बनाएका छन् । 

पुराना दलप्रतिको वितृष्णा र नयाँप्रति जनतामा जागेको आशा, बालेनको लोकप्रियता र जेनजी विद्रोहको पृष्ठभूमिलाई देखाएर झन्डै ५२ लाख मत प्राप्त गरेको छ । यो महाधिवेशनबाट सांगठनिक सशक्तीकरण, वैचारिक स्पष्टता र पार्टी संस्थागत गर्ने नेताहरूले बताएका छन् । उपसभापतिसमेत रहेका अर्थमन्त्री डा.वाग्लेले राजनीतिको मूल प्रवाहमा आएको रास्वपालाई यो महाधिवेशनले संस्थागत गर्ने बताए । उनले भने, ‘प्रथम ऐतिहासिक महाधिवेशनले  जनमतलाई संस्थागत गर्नेछ । देशभरका स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश संरचना बनेर पार्टीलाई संस्थागत बनेको छ । जन्मेको केही वर्षमै यति धेरै जनमत पाएको रास्वपाको सांगठनिक सशक्तिकरणसँगै वैचारिक स्पष्टता कायम भएको छ ।’  

बालेन समूहलाई मनोनीत कोटा

सभापति लामिछाने र वरिष्ठ नेता बालेनले एकै मञ्चबाट गुटगत राजनीति नगर्ने घोषणा गरे पनि रास्वपामा भित्रभित्रै गुटबन्दी मौलाइरहेको छ । यस्तोमा बालेन पक्षधर नेताहरूले नेतृत्वमा सहज प्रतिनिधित्व खोजेका छन् । त्यसले पार्टी समायोजनबाट आएका नेताभित्रै दोहोरो मापदण्ड लागू गरिएको छ । महाधिवेशनबाट शीर्ष दुई नेता रवि–बालेन नेतृत्वमा सर्वसम्मत दोहोरिए ।

बाँकी पदाधिकारी र केन्द्रीय समितिका लागि तीव्र प्रतिस्पर्धा मात्रै भएन, समूहगत लबिइङसमेत चर्को देखियो । चुनावी प्रतिस्पर्धामा जाँदा हार्ने त्रासले बालेन समूहका नेताहरू सभापति लामिछानेको मनोनीत कोटामा बस्न सहमत छन् तर उनीहरू जसरी नै रास्वपामा समाहित भएका अरू समूहलाई त्यो सुविधा दिइएको छैन । 

बालेन पक्षका उपसभापति र महामन्त्रीका आकांक्षीलाई  प्रतिस्पर्धा गर्नुपरेन । सभापति लामिछाने समूहसहित अन्यले भने चुनाव लड्नुपरेको छ । उपसभापतिमा दाबी गरेका गृहमन्त्री सुधन गुरुङ, सुनिल लम्साल र महामन्त्रीका दाबेदार भूपदेव शाहले प्रतिस्पर्धामा भाग नलिएरै पद पाउने भएका छन् । यो खेलमा प्रधानमन्त्री बालेनको योजना सफल भएको रास्वपाकै नेताहरूले बताए । सुधन, सुनिल र भूपदेवलाई सभापति लामिछानेले मनोनीत गरेर पदाधिकारी बनाउने पक्का गराएर बालेन महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन् । 

प्रधानमन्त्री बालेन समूहका नेताहरूलाई प्रतिस्पर्धाबिनै सभापति रविले कोटा दिए पनि विवेकशील साझा, थरुहट मोर्चा, हाम्रो नेपाली पाटी, जेनजी समूहबाट आएकाहरूलाई भने चुनावी मैदानबाटै आउनुपर्ने नीति अवलम्बन गरिएको छ । यसप्रति भित्रभित्रै असन्तुष्टि पनि छ । उपसभापतिका आकांक्षी विवेकशीलबाट आएकी समीक्षा बास्कोटा, पदाधिकारीमा आउन चाहेका प्रकाशचन्द्र परियार, रञ्जु दर्शना, खगेन्द्र सुनारलगायत नेताहरू चुनावी प्रक्रियामा छन् । यसले पार्टीभित्र बालेन पक्ष हाबी भएको प्रस्ट देखिएको छ ।

सम्बन्धित खबर