
यदि...
विज्ञानभन्दा धर्म ठूलो हुन्थ्यो भने,
झाँक्रीको झाँकले रोकिन्थ्यो महामारी ।
चट्केले उपचार गथ्र्यो क्यान्सरको,
टुनामुनाले जोड्थ्यो मुटुको सवारी ।
तर...
न त झाँक्रीले फेरेका छन् किड्नी,
न चट्केले राखेका छन् कृत्रिम मुटु ।
न टुनामुनाले जन्माएका छन् बालक,
गर्भ नबस्ने आमाको आँसु मेटेर !
ब्रह्माले लेखे–
भोगकै कथा,
तर विज्ञानले लेख्यो–
जीवनको व्याख्या ।
धर्मले भन्यो–
भाग्यको खेल हो !
तर सर्जनले भने–
‘शरीर फेर्न सकिन्छ,
फेरि... प्रयोग गरौँ ।’
एउटा बालक;
जसको आँखाले उज्यालो देख्न छाड्यो,
झाँक्रीले भन्यो–
भूतको छाया छ !
तर...
विज्ञानले ग¥यो आँखाको प्रत्यारोपण,
र... उसले पहिलोपटक देख्यो–
आमाको अनुहारमा उज्यालो !
कुन धर्मले बताएछ रक्तसञ्चारको रहस्य ?
कुन मन्त्रले बनायो कृत्रिम हृदय ?
कुन वेदमा लेखिएको छ डीएनएको कथा ?
कुन पूजा–पाठले जन्मायो नयाँ–नयाँ सन्तान ?
आजको युगले माग्छ;
प्रमाण, खोज र वैज्ञानिक दृष्टि ।
टुनामुनाको झोला होइन,
प्रयोगशालाको रिपोर्टले गर्छ
निर्णय साँचो र स्पष्ट ।
धर्म– संवेदना होस्,
मानवताको मूल चेतना होस् ।
तर अन्धविश्वास ?
त्यो त...
साँचो ज्ञानको घाँटी थिच्ने पर्दा हो !
मैले पल्टाएँ–
वेद, बाइबल, कुरान, त्रिपिटक, गुरुग्रन्थ...,
पृष्ठ–पृष्ठ हेरेँ, मनन गरेँ–
तर...
कुनै विज्ञान थिएन त्यहाँ !
कुनै मानवीय चेतना थिएन ।
थिए त केवल;
अन्धविश्वासका खाका,
भ्रमका खेती,
र झूटको व्यापार !
मानवतालाई पलपलमा हत्या गर्ने
बलीप्रथाका अमानवीय कथा थिए,
जातीय विभेद र महिला हिंसालाई
प्रोत्साहन गर्ने,
अज्ञानीलाई दोषी ठह¥याउने
अनर्गल अनुशासनका
सडिएका सत्ताका नियमहरू !
विज्ञान– जीवनको यथार्थ हो,
धर्म– आत्माको आग्रह
र
अन्धविश्वासको साक्षी !
अब समय आयो;
तथ्यको उद्घाटन गर्ने ।
आँखा खोल्ने... विचार बदल्ने ।
अन्धविश्वासको पर्दा च्यातेर,
नयाँ युगको उज्यालो फैलाउने !