
पुस्तक : ललितपुरको पत्रकारिता इतिहास
लेखन/सम्पादन : रामहरि कार्की
प्रकाशक : नेपाल पत्रकार महासंघ, ललितपुर
नेपालको पत्रकारिता इतिहासलाई स्थानीय तहबाट अध्ययन र दस्ताबेजीकरण गर्ने प्रयासहरू सीमित छन् । यस्तो अवस्थामा रामहरि कार्कीद्वारा लेखन तथा सम्पादन गरिएको ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक ललितपुर जिल्लाको सञ्चार क्षेत्रको विकासक्रम, उपलब्धि र योगदानलाई समेट्ने महत्वपूर्ण कृति बनेर आएको छ । नेपाल पत्रकार महासंघ ललितपुरद्वारा प्रकाशित यो पुस्तक चार खण्डमा विभाजित छ, जसले ललितपुरको पत्रकारिता जगतको समग्र चित्र प्रस्तुत गरेको छ ।
पुस्तकमा ललितपुरको ७४ वर्षे पत्रकारिता इतिहासको चर्चा गर्दै यसअघि लिपीबद्ध हुन बाँकी विषयलाई समेत अभिलेख गरिएको छ । २००९ सालमा संस्कृतिविद् सत्यमोहन जोशीको सम्पादनमा कलाकार त्रैमासिकबाट ललितपुरमा पत्रकारिताको इतिहास कायम भएको पाइन्छ । हालसम्म जिल्लामा ३८२ ओटा पत्रपत्रिका दर्ता भएका पुस्तकमा जनाइएको छ ।
२०८३ सालमा प्रकाशित पुस्तकमा यस जिल्लाको पहिलो अनलाइनमा रातोपाटी डटकम भएको उल्लेख गरिएको छ । २०८२ असार मसान्तसम्मको तथ्यांक राखेर जिल्लामा २२७ अनलाइन सञ्चालन भएको पुस्तकमा जनाइएको छ । त्यसैगरी नेपाल मण्डल टिभीबाट सुरू भएको ललितपुरमा टेलिभिजन यात्रा २७ ओटासम्म पुगेको छ । सामुदायिकस्तरमै पहिलो स्थापित रेडियो सगरमाथा यो जिल्लाको पनि पहिलो रेडियो रहेको अभिलेखित भएको छ । पत्रकारिता शिक्षामा पाटन संयुक्त क्याम्पसले २०३६ सालमा नै पत्रकारिता शिक्षा अध्ययन सुरु भएको पुस्तकमा उल्लेख छ ।
पुस्तकको पहिलो खण्डमा इतिहासबारे चर्चा गर्दै ललितपुरमा सञ्चालित मूलधारका सञ्चारमाध्यमहरूको विस्तृत विवरण समेटिएको छ । छापामाध्यमअन्तर्गत आर्थिक दैनिक, जनआस्था साप्ताहिक, हिमाल खबरपत्रिका, नेपालसमाचापत्र, अनलाइन पत्रिका, गोदावरी पोष्ट, नामी साप्ताहिकलगायतका प्रकाशनहरूको चर्चा गरिएको छ । त्यसैगरी रेडियोतर्फ सिआइएन र एन्टेना फाउन्डेसनजस्ता संस्थासँगै रेडियो सगरमाथा, उज्यालो, कान्तिपुर, क्लासिक, पर्यावरण, हेडलाइन्स एन्ड म्युजिक एफएम, रेडियो नेसन, किङ्डम भ्वाइस एफएमदेखि रेडियो ललितपुरसम्मको यात्रा प्रस्तुत गरिएको छ ।
टेलिभिजनतर्फ १३ वटा टिभी च्यानलहरूको जानकारी दिइएको छ भने माउन्टेन टेलिभिजन, जिएनएन, नेपाल मण्डल, विजनेश प्लसदेखि कृषि टेलिभिजनसम्मका माध्यमहरूको योगदान उल्लेख गरिएको छ ।
अनलाइन पत्रकारिताको क्षेत्रमा रातोपाटी, सेतोपाटी, देशसञ्चार, लोकान्तर, क्लिकमान्डु, हिमालखबरजस्ता चर्चित अनलाइनदेखि प्रारम्भिक अभ्यासरत मानव आवाज डटकम, दैनिकीन्युजडट, ललितखबर डटकम, शब्दपाटीसम्मका २२७ अनलाइन सञ्चारमाध्यमको तथ्यगत विवरण समावेश गरिएको छ ।
साथै पत्रकारिता विषय अध्यापन गराउने क्याम्पस जनभावना, नमुना मच्छिन्द्र क्याम्पस र प्लस टु तहका शैक्षिक संस्थाहरूमा पाटन हाइस्कुल, प्रभात मावि, नवज्योति माविको विवरण समेटिएका छन् ।
दोस्रो खण्डमा पत्रकारितासँग सम्बन्धित जिल्लामा क्रियाशील सङ्घ÷संस्था तथा सङ्गठनहरूको परिचय प्रस्तुत गरिएको छ । यस खण्डमा नौओटा संस्थाको गतिविधि, उद्देश्य र योगदानलाई समेटेर ललितपुरको पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई उजागर गरिएको छ । जसमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, फोनिज ललितपुर, नेवाः पत्रकार राष्ट्रिय दबु, तामाङ पत्रकार संघ ललितपुरका गतिविधिलगायतका विषयवस्तु समाविष्ट छन् ।
तेस्रो खण्ड पुस्तकको सबैभन्दा आकर्षक पक्ष मान्न सकिन्छ । यस खण्डमा २३ जना वरिष्ठ तथा अनुभवी पत्रकारहरूको अनुभव, संघर्ष र पत्रकारिता यात्राका संस्मरणहरू समावेश गरिएका छन् । ८३ वर्षीय रामकृष्ण कर्माचार्य, लक्ष्मणबहादुर विष्ट, मुक्तिनाथ आचार्य, प्रभुनारायण बस्नेत, संगीता खड्कादेखि दोस्रो र तेस्रो पुस्ताका पत्रकारका अनुभवलाई यो खण्डमा समावेश गरिएको छ । यी अनुभवहरूले नयाँ पुस्ताका पत्रकारहरूलाई प्रेरणा दिनुका साथै नेपाली पत्रकारिताको विकासक्रम बुझ्न महत्वपूर्ण सामग्री प्रदान गर्छन् ।
चौथो खण्डमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको कार्यसमिति परिचय समावेश गरिएको छ । यसले संस्थागत नेतृत्व, जिम्मेवारी र संगठनात्मक संरचनाबारे जानकारी दिन्छ ।
समग्रमा ‘ललितपुरको पत्रकारिता इतिहास’ केवल इतिहासको अभिलेख गर्दै ललितपुरको सञ्चार क्षेत्रको विकास, पत्रकारहरूको योगदान, सञ्चार संस्थाहरूको विस्तार तथा पत्रकारिता शिक्षाको अवस्थालाई दस्ताबेजीकरण गर्ने महत्वपूर्ण ग्रन्थ हो । तथ्य, तथ्यांक र अनुभवहरूको संयोजनले पुस्तकलाई अनुसन्धानकर्ता, पत्रकारिता विद्यार्थी, सञ्चारकर्मी तथा इतिहासमा रुचि राख्ने पाठकका लागि उपयोगी सन्दर्भ सामग्री बनाएको छ ।
स्थानीय पत्रकारिता इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने दृष्टिले ललितपुरको पत्रकारिता इतिहास एक प्रशंसनीय र महत्वपूर्ण प्रयासका रूपमा स्थापित भएको छ । सञ्चार क्षेत्र निरन्तर परिवर्तनशील र गतिशील हुने भएकाले यससँग सम्बन्धित तथ्य, घटना, संस्था र व्यक्तित्वहरूलाई समयमै दस्तावेजीकरण नगर्दा धेरै सामग्री इतिहासको गर्भमै हराउने सम्भावना रहन्छ । यस्तो अवस्थामा लेखक तथा सम्पादक रामहरि कार्कीले ललितपुर जिल्लामा सञ्चालित छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरूको विकासक्रमलाई खोजमूलक ढंगले संकलन गरी पुस्तकाकार रूपमा सरल भाषामा प्रस्तुत गर्नु आफैंमा उल्लेखनीय कार्य हो । पुस्तकले सञ्चारमाध्यमहरूको मात्र विवरण प्रस्तुत नगरी पत्रकारिता शिक्षाको अवस्था, पत्रकारिता क्षेत्रमा क्रियाशील संघसंस्थाहरूको भूमिका तथा अग्रज पत्रकारहरूको अनुभवलाई समेत समेटेको छ । यसले ललितपुरको पत्रकारिता जगतको विगत र वर्तमानलाई बुझ्न चाहने पाठक, विद्यार्थी, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीका लागि भरपर्दो सन्दर्भ सामग्रीको रूपमा काम गर्ने विश्वास गर्न सकिन्छ ।
२४८ पृष्ठमा प्रकाशित यस पुस्तकको मूल्य ६५० रुपैयाँ तोकिएको छ । ललितपुरको पत्रकारिता इतिहासलाई व्यवस्थित रूपमा अभिलेखबद्ध गर्ने यो प्रयासले अन्य जिल्लाहरूलाई पनि आफ्नो पत्रकारिता इतिहास संकलन र प्रकाशन गर्न प्रेरणा दिन सक्छ । त्यसैले ललितपुरको पत्रकारिता इतिहास स्थानीय सञ्चार इतिहासको महत्वपूर्ण दस्ताबेज बनेको छ । यो प्रकाशनले भविष्यमा नेपालको समग्र पत्रकारिता इतिहास अध्ययनका लागि समेत महत्वपूर्ण आधार सामग्रीको भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।