२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

रास्वपा नेतृत्वमा पुरानै अनुहार

Nada
जीवन शर्मा
२०८३ असार १३ गते ०६:४०
Shares
रास्वपा नेतृत्वमा पुरानै अनुहार

काठमाडौं : तीन दिनका लागि तय गरिएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन छौटौं दिनको राति अबेरसम्मै चल्यो । शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै पार्टीमा नयाँ नीति र नयाँ नेतृत्व आएको छ । 

ncell

आगामी चार वर्षका लागि निर्वाचित नेतृत्वले महाधिवेशनबाट पारित नीतिभित्र रहेर काम गर्नुपर्ने छ । सभापतिको शपथ ग्रहणपछिसँगै लामिछानेले रास्वपा अब झनै परिपक्व भएर अघि बढ्ने बताए । उनले भने, ‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व भएर अघि बढ्नेछ ।’ उनले यो ४ वर्षमा केही कमजोरी भएका र अब त्यसलाई सधैं देखिनेगरी अघि बढ्न नहुने दाबी गरेका छन् । 

सभापति र वरिष्ठ नेतामा रवि लामिछाने र वालेन्द्र शाहको विरूद्धमा कोही नउठेपछि उनीहरू सर्वसम्मत भएका हुन् । त्यस बाहेकका अधिकांश पदमा प्रतिस्पर्धा देखिएपनि कतिपय पदमा आन्तरिक सहमति गराएर सर्वसम्मत निर्वाचित गराउन रास्वपा सफल भएको छ । केही पदाधिकारीमा निकै चर्को प्रतिस्पर्धा भएको छ । उपसभापतिमा डा स्वर्णिम वाग्ले सर्वसम्मत भएका छन् भने महिला उपसभापति सोबिता गौतमले जितेकी छन् । गौतमसँग डा तोसिमा कार्कीले प्रतिस्पर्धा गरेकी थिइन् । उपसभापति निर्वाचित सोबिताले ७ सय ८९ मत ल्याउँदा प्रतिद्वन्द्वी तोसिमाले ५ सय ७२ मत पाइन् ।  

त्यस्तै महामन्त्रीमा विपीन आचार्यले बाजी मारेका छन् । महामन्त्री पदमा आचार्यसहित मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपीनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उनलाई जित निकाल्न सहज भएको हो । आचार्यले ६ सय ७३ मत पाएर चार वर्षका लागि पार्टी संगठनको मुख्य जिम्मेवारीमा पुगेका हुन् । त्यस्तै सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन् । असिमले ४७१ मत प्राप्त गरेका छन् भने हरि ढकालले ४१० मत पाएका छन् । महिला सहमहामन्त्री बनेकी निशाले ७ सय ३७ मत प्राप्त गरेकी हुन् । 

पदाधिकारी निर्वाचनमा शीर्ष नेताहरूबाटै हस्तक्षेप भएको भन्दै केही उम्मेदवारहरूले लोकतान्त्रिक प्रक्रियालाई खुला छाड्न आग्रह गरेका थिए । उससभापति, महामन्त्री र सहमहामन्त्री पदमा कसलाई जिताउने र कसलाई हराउने भन्ने पर्दा पछाडिबाट खेल भएको उनीहरूको आरोप छ । 

यद्यपि परिणम आइसकेपछि त्यसलाई स्वीकार्दै पार्टी हितमा काम गर्ने महामन्त्रीका प्रत्यासी मनिष झाले बताए । ‘मेरा लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो’, उनले निर्वाचित महामन्त्री विपीनलाई बधाई दिँदै भने, ‘रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो । महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु । मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु ।’

रास्वपाले गुटगत राजनीतिको परिकल्पना नगरेको दाबी गरेको थियो । सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन सत्रमै समूहको राजनीति गरेर देशको नेतृत्वमा पुग्न नसकिने भनेका थिए । यद्यपि सभापति लामिछानेसहित पार्टीमा राम्रो पकड राख्ने नेताहरूले नै सबैभन्दा बढी गुटबन्दीसहितको चलखेल गरेको नेताहरूले आरोप लगाएका छन् । 

महाधिवेशनको संघारमा लामिछाने नजिकका नेताहरूले संस्थापकहरू एक हुनुपर्ने भन्दै विपीनको समर्थनमा उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवारहरू आक्रोशित बनेका थिए । महामन्त्रीका उम्मेदवार झाले महाधिवेशन स्थलमा पत्रकारहरूसँग भनेका थिए, ‘रवि दाइले समूहगत राजनीतिक अभ्यास नगर्नू भन्नुभएको थियो । उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेको छ । त्यस्तो गर्नेलाई सभापतिले कारबाही गर्नुपर्छ ।’ 

त्यस्तै सोही पदमा उम्मेदवार गणेश कार्कीले पनि नेताहरूको गुटबन्दीप्रति आक्रोश पोख्दै आएका थिए । रास्वपाका सांसद डा अमरेशकुमार सिंहले भने महाधिवेशनको कुनै प्रक्रियामै भाग लिएनन् । पार्टीको महाधिवेशनभर उनी किन गुमनाम भए ? भन्ने राजनीतिकरूपमा चासोको विषय बनेको छ । 

निर्वाचनको अन्तिम मत परिणाम आइसकेपनि रास्वपाको केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । विधानअनुसार सभापतिले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री २, प्रवक्ता १, सहप्रवक्ता–३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ सहित ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । पदाधिकारी बन्न चाहेका विवेकशील साझा पार्टीबाट समाहित भएका समीक्षा बास्कोटा र रञ्जु दर्शनाले पद पाएनन् । उनिहरू विवेकशीलका अध्यक्ष र महासचिव हुन् । सोही दलबाट आएका नेता प्रकाश परियार सदस्यमै आउन सकेनन् ।  त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् ।     

रविसहित २६ सय ६९ प्रतिनिधिले गरेनन् मतदान 

पर्टीको पदाधिकारी चयन प्रक्रियामा कुल महाधिवेशन प्रतिनिधिमध्ये ३२ प्रतिशनले मात्रै भाग लिएका छन् । रास्वपाका पदाधिकारी छान्न भएको निर्वाचनमा १२९० मत मात्रै खस्दा २ हजार ६ सय ६९ मतदाता मतदानबाट बाहिर रहेका हुन् । मतदानमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) सहित २ हजार ६ सय ६९ जनाले भाग नलिएको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले बताए । 

रास्वपाको पहिलो महाधिवेशनमा ३ हजार ९ सय ५९ महाधिवेशन प्रतिनिधि थिए । पहिलो चरणमा बिहीबार भएको केन्द्रीय सदस्यको मतदानमा २ हजार ९ सय ५९ मत खसेको थियो । पार्टीको महाधिवेशन व्यवस्थापन र गुटगत राजनीति झाँगिदा मतदानको समयसम्म महाधिवेशन प्रतिनिधि एकिन गर्न सकेको थिएन ।

अन्तिम चरणमा करिब ४५ सय प्रतिनिधि भएको बताएपनि ३ हजार ९ सय ५९ जनाले सहभागिता जानएका थिए । यद्यपि आन्तरिक लफडालाई झेल्न नसकेर एक हजार भन्दा बढी प्रतिनिधिले मतदान बहिस्कार गरेका थिए । महाधिवेशन उद्घाटन भएको छौटौं दिनमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान भएको हो ।

बालेनले केन्द्रीय सदस्यको मतदानमा समेत भाग लिएका थिएनन् । ३२ प्रतिशत मात्रै महाधिवेशन प्रतिनिधिले मतदान गरेपछि पार्टी पदाधिकारी चयन प्रक्रियाका विषयमा कानुनी प्रश्न उठ्ने रास्वपाका नेताहरूले बताएका छन् । 

महाधिवेशनबाट कतिपय नयाँ नेताहरूले जिम्मेवारी पाउँदा कतिपय पुराना नेताहरूको राजनीतिमा ब्रेक लागेको छ । उपसभापतिमा सोबिता आउँदा एउटै पदमा प्रतिस्पर्धा गरेकी तोसिमा कार्की पछि परिन् । उनीहरू दुबै पार्टी स्थापनाकालकै सदस्य हुन् । त्यस्तै महामन्त्री मनिष झाको महामन्त्री हुने सपनामा ब्रेक लागेको छ । सहमहामन्त्रीमा आएका असिम शाह नायाँ हुन् । तर हरि ढकाल र निशा डाँगी भने संस्थापक नेता हुन् ।     

बालेन समूहलाई मनोनीत कोटा

सभापति लामिछाने र वरिष्ठ नेता बालेनले एकै मञ्चबाट गुटगत राजनीति नगर्ने घोषणा गरे पनि रास्वपामा भित्रभित्रै राम्रै गुटबन्दी मौलाएको देखिएको छ । जसमा बालेन पक्षधर नेताहरूले नेतृत्वमा सहज प्रतिनिधित्व खोजेका छन् । त्यसले पार्टी समायोजनबाट आएका नेताभित्रै दोहोरो मापदण्ड लागू गरिएको छ । महाधिवेशनबाट शीर्ष दुई नेता रवि–बालेन नेतृत्वमा सर्वसम्मत दोहोरिए ।

बाँकी पदाधिकारी र केन्द्रीय समितिका लागि तीव्र प्रतिस्पर्धा मात्रै भएन, समूहगत लबिङसमेत चर्को देखियो । चुनावी प्रतिस्पर्धामा जाँदा हार्ने त्रासले बालेन समूहका नेताहरू सभापति लामिछानेको मनोनीत कोटामा बस्न सहमत छन्, तर उनीहरू जसरी नै रास्वपामा समाहित भएका अरू समूहलाई त्यो सुविधा दिइएको छैन । 

बालेन पक्षका उपसभापति र महामन्त्रीका आकांक्षीलाई  प्रतिस्पर्धा गर्नुपरेन । सभापति लामिछाने समूहसहित अन्यले भने चुनाव लड्नुपर्‍यो । उपसभापतिमा दाबी गरेका गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र महामन्त्रीका दाबेदार भूपदेव शाहले प्रतिस्पर्धामा भाग नलिएरै पद पाउने भएका छन् । यो खेलमा प्रधानमन्त्री बालेनको योजना सफल भएको रास्वपाकै नेताहरू बताउँछन् । सुधन, सुनिल र भूपदेवलाई सभापति लामिछानेले मनोनीत गरेर पदाधिकारी बनाउने पक्का गराएर बालेन महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका थिए ।

बालेन समूहका नेताहरूलाई प्रतिस्पर्धाबिनै सभापति रविले कोटा दिए पनि विवेकशील साझा, थरुहट मोर्चा, हाम्रो नेपाली पार्टी, जेनजी समूहबाट आएकाहरूलाई भने चुनावी मैदानबाटै आउनुपर्ने नीति अवलम्बन गरिएको छ । यसले पार्टीभित्र बालेन पक्ष हाबी भएको प्रस्ट देखिएको छ । जसका कारण पार्टीत्रि विवाद बढेको पनि आकलन गरिएको छ ।

सम्बन्धित खबर