
काठमाडौं : साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरिएको छ ।
काठमाडौंस्थित नागार्जुन ओशो तपोवनमा आयोजित विशेष समारोहमा बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा अनुसर्जक सुमी लोहनीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ १८ जना साधकबीच अष्टावक्र गीताको चर्चा गरेको स्मरण गर्दै यसलाई विलक्षण र दुर्लभ ग्रन्थका रूपमा स्वीकार गरिएको बताए ।
उनले अष्टावक्र गीता जनकपुरको माटोमा जन्मिएको उल्लेख गर्दै यसको प्रवर्धनमा सबै संवेदनशील हुनुपर्ने धारणा राखे ।
उनका अनुसार राजा जनकलाई वैराग्य प्रदान गर्न सक्ने अष्टावक्र गीतामा जम्मा २९८ श्लोक भए पनि ती प्रत्येक श्लोकमा असाधारण अर्थ र प्रभाव रहेको छ । पहिलो २० श्लोकले नै राजा जनकलाई गहिरो रूपमा प्रभावित गर्न सफल भएको उल्लेख गर्दै ओशोले अष्टावक्रबारे असंख्य प्रवचन दिएको र ती प्रवचनका आधारमा ६ वटा ग्रन्थ तयार भएको पनि स्मरण गरे ।
साथै, जनकपुरमा अष्टावक्र मन्दिर निर्माण तथा अष्टावक्र गीतालाई राष्ट्रिय कृति घोषणा गराउन आफू निरन्तर लागिरहेको उनले जानकारी दिए ।
कार्यक्रमको प्रारम्भमा अनुसर्जक सुमी लोहनीले कृतिको रचनागर्भबारे प्रकाश पार्दै कोरोना महामारीको विशिष्ट समयमा अष्टावक्र महागीता अध्ययन गर्दा आफू गहिरो रूपमा प्रभावित भएको र त्यसबाट आमपाठकले सहज रूपमा लाभ लिन सकून् भन्ने उद्देश्यले अनुसिर्जन गरिएको बताएकी थिइन् ।
मन्तव्यका क्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताको महत्वबारे आफ्ना विचार राखेका थिए । लोकार्पित कृतिको विस्तृत समीक्षा गर्दै डा. रमा भट्टराईले यो कृति आमपाठकका लागि उपयोगी रहेको बताइन् । उनले महिला लेखक भएको भनेर उपेक्षा गर्न नहुने तथा आत्मबोधका सन्दर्भमा सदैव महत्वपूर्ण रहने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा डा. अनन्त अर्यालले अष्टावक्र महागीतालाई ध्यान र सेवाभावसहित अध्ययन गर्न सके यसको वास्तविक मर्म बुझ्न सकिने उल्लेख गर्दै स्वामी रवि शंकरले समेत अष्टावक्र गीताबारे सकारात्मक चर्चा गरेको प्रसंग स्मरण गरे ।
साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको ‘अष्टावक्र महागीतामृत’ कृतिको मूल्य २४० रुपैयाँ निर्धारण गरिएको छ । कार्यक्रमको सञ्चालन स्वामी अर्हत्ले गरेका थिए ।