–नारायण गाउँले
बग्गी गुड्ने बेला बनेको न्युरोड मात्रै होइन, कसैसँग गाडी नै नभएको गाउँमा आज पिच हुँदै गरेका सडकमा समेत फुटपाथ छैनन् । कलिला बालबच्चा आँगनबाट सोझै सडकमा पसेर स्कुल हिँड्छन्, वृद्धवृद्धा र शारीरिक दुर्बलता भएका व्यक्ति पनि सडकमै हिँड्छन् र कुनै स्पीड लिमिट नभएको त्यस्तो सडकमा मोटरसाइकलदेखि ट्रक र ट्याक्टर पनि गुड्छन् !
दुर्भाग्य त के छ भने काठमाडौं होस् या भरतपुर, जति जति घना बस्तीभित्र पस्नुहुन्छ, त्यति त्यति फुटपाथ हराउँदै जान्छ । जबकि हुनुपर्ने ठीक उल्टो हो । बाक्लो आवासीय क्षेत्रमा त दुईतिर पर्याप्त फुटपाथ अनिवार्य जस्तै हुनुपर्ने हो । बस्तीमा बालबच्चा हुन्छन्, तिनलाई डो¥याउँदै स्कुल लैजाने हाम्रा वृद्ध आमाबुबा हुनुहुन्छ, आज गरिबीले नहोला तर ‘ह्विलचेयर’ प्रयोग गर्नुपर्ने अशक्त नागरिक हुन्छन्, ‘मर्निङ वाक’ गर्नेहरू हुन्छन्, किनमेल गर्न या अत्यावश्यक कामले ओहोर–दोहोर गर्नुपर्ने हामी नै हुन्छौं । सोच्नुस् त धुलो–धुवाँ उडाउँदै तीव्र गतिमा गुडिरहेको ट्रिपर, हावा जस्तै आँखै नहेरी कुद्ने मोटरसाइकल र स्कुल हिँडिरहेका हाम्रा नानीहरू एउटै लेनमा हुँदा कति सुरक्षित होलान् ? अझ त्यहाँ लट्ठी टेकेर या ह्विलचेयरमा प्रयोग गरेर हिँड्ने हाम्रा हजुरबुवाहरूलाई सम्झनुहोला !
हाम्रा सडक साँच्चिकै भयानक, खतरनाक र असुरक्षित छन् । तथ्यले पनि यही भन्छ । माओवादी युद्धको दौरान जति मान्छे मारिए, त्यसभन्दा बढी त सडक दुर्घटनामा मान्छे मरिरहेछन् । यस्तो विपत्ति आफ्नै सन्तानमाथि नपर्दासम्म हामीलाई हेक्का नहुने रहेछ । ऐतिहासिक शहर या बस्ती त केही गर्न नसकिएला, तर आज कित्ताकाट हुने घडेरी र सडक पनि १२–१३ फिटका छन् । त्यसमा फुटपाथ बनाउनु कि साइकल गुडाउनु ? रूख रोपेर हरियाली बनाउनु कि बिजुली र इन्टरनेटका तार झुन्ड्याउनु ? भोलि त्यहाँ ढल बनाउने कहाँ होला ? तराईका फाँटमा समेत छ मिटरका बाटा छन् । पूरै पिच छ । फुटपाथ छैन । छ मिटरमा दोहोरो फुटपाथ र दुईवटा गाडी गुड्ने सम्भावना एकदम कम हुन्छ । हामीले निर्माण गर्दै गरेको भोलिको बस्ती र शहर कस्तो होला ?
दुई सय वर्ष पहिले डिजाइन भएका लण्डनका बाटाहरूमा सडकभन्दा फुटपाथ फराकिला छन् । जहाँ दुई तर्फी रूखहरू छन्, फूलका बोटहरू छन् । पैदलयात्रीलाई सहजता मात्रै होइन, प्रोत्साहन गर्ने गरी बाटोको डिजाइन भएको छ । सडक उपभोक्ता भनेका गाडीवाला मात्रै होइनन् भन्ने चेतना छ । बच्चा बोक्ने बग्गीदेखि ह्विलचेयरमा सजिलै अटाउने फुटपाथ छन् । बाटो काट्ने ठाउँमा जेब्राक्रस र लाइट मात्रै होइन, पैदल यात्रीलाई सहज होस् भनेर ठाउँ–ठाउँमा सडक नै खुम्च्याएर एउटा मात्रै गाडी पास हुने बनाइएका छन् । शहर या गाउँको मध्य भागमा ‘हाइस्ट्रीट’ को कन्सेप्ट छ, जसमा बजारको बीचमा आपतकालीन यातायातबाहेक अरू गुड्दैनन् । वरपर कुर्सी राखिएका हुन्छन् । मान्छे पैदल हिँड्छन् !
बालेनले न्युरोडमा गर्न चाहेको पनि शायद यस्तै होला । अलिकति पब्लिक कन्सल्टेन्ट र अन्य निकायसँगको सहकार्यमा उनी चुके होलान् । तर, उनको नियत खराब देखिन्न । एउटा भिजन देखिन्छ त्यहाँ । घना बस्ती र बजारभित्र सडकको प्राथमिक उपभोक्ता पैदलयात्री नै हुन् । तिनको सुविधा र सुरक्षा पहिलो प्राथमिकता बन्नै पर्छ । यदि काम सही र आवश्यक हो भने नाक र इगोको लडाइँ लडेर उनलाई असफल बनाउँदैमा के जित हासिल हुन्छ र ? न्युरोडमा सिङ्गो सरकार एकातिर देखिएपछि बालेनको केही नचल्ला, तर हामीलाई गाडी गुड्ने चिल्लो सडकमात्रै होइन, पैदलयात्रीले सहज आवागमन गर्न सक्ने फुटपाथ पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने उनको भिजन चल्नुपर्छ । हाम्रो सडकको कन्सेप्ट फेरिनै पर्छ । गाउँ–गाउँमा आज बन्दै गरेका सडकको स्वरूप बदलिनै पर्छ ।
जति घना बस्ती हुन्छ, त्यति विपत्ति र दुर्घटनाको जोखिम पनि हुन्छ । त्यसैले एम्बुलेन्स अनि दमकल गुड्ने सडक पनि चाहिन्छ, पैदलयात्रीले सुरक्षित र सहज अनुभव गर्ने फुटपाथ पनि चाहिन्छ र शहरलाई पार्किंग पनि चाहिन्छ । पार्किंग नहुने हो भने शहरको अर्थतन्त्र मर्छ । न्युरोड यत्तिकै छोडेर, पार्किङ ठेकेदारबाट लाख÷लाख कमिसन खाएर उनी चुप बस्न पनि सक्थे, तर उनले पैदलयात्री बारे सोचेका छन् । फुटपाथको महत्व र औचित्यबारे एउटा राष्ट्रिय बहसको उत्थान गरेका छन् । उनले सँगसँगै सडक र पार्किङबारे पनि सोचेका होलान् । सुरुवातमै पार्किङ र सार्वजनिक शौचालयबारे उनले चासो देखाएकै थिए ।
नाम न्युरोड भए पनि आफैमा यो पुरानो सडक हो ! न्यूरोडको यो द्वन्द्वलाई ईगोको लडाइँ नबनाई हाम्रा सडकको स्वरूप र संरचनाबारे सिर्जनात्मक बहसको शुरुवात बनाउन पनि सकिन्छ । कसै न कसैले यसको सुरुवात गर्नै पर्ने थियो । काठमाडौंले गरेको छ, बालेनले गरेका छन् ! हामी पनि गरौँ !
(गाउँलेको सामाजिक सञ्जालबाट साभार ।)