
यात्रा र निबन्धको संयोजनबाट बनेको ‘नियात्रा’ नेपाली साहित्यको लोकप्रिय विधा हो । यसमा लेखकले यात्राका क्रममा देखेका, भोगेका र अनुभूत गरेका विषयलाई आत्मपरक तथा कलात्मक ढंगले प्रस्तुत गर्छन् । स्थान, दृश्य, संस्कृति, इतिहास र सामाजिक जीवनको यथार्थ चित्रणसँगै लेखकका व्यक्तिगत अनुभूति र विचार समेटिएपछि नियात्रा साहित्यिक रूपले समृद्ध बन्छ । यस अर्थमा नियात्रा केवल साहित्यिक सिर्जना मात्र नभई समय, समाज र स्थानको अनौपचारिक इतिहास पनि हो ।
यही विधामा सागर गैरेद्वारा लिखित ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि काला सागरसम्म’ हालै प्रकाशित नियात्रा कृति हो । अल्बाट्रस समुद्री चराको नामबाट शीर्षक राखिएको यस कृतिमा प्रशान्त महासागरदेखि काला सागरसम्मका विभिन्न देशहरूको यात्रा अनुभव समेटिएको छ ।
कोहलपुर क्षेत्रमा सागर गैरे परिचित साहित्यिक व्यक्तित्व हुन् । लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय गैरेले गजलबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका हुन् । पूर्णिमा साहित्यिक प्रतिष्ठानमार्फत उनले कोहलपुरका शिक्षक, प्राध्यापक, व्यापारी तथा साहित्यप्रेमीलाई साहित्यिक क्षेत्रमा सक्रिय हुन प्रेरित गरेका छन् । उनका प्रकाशित कृतिहरूमध्ये ‘लकडाउन’ निबन्धसंग्रह, ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रासंग्रह र ‘मोहोर’ उपन्यास उल्लेखनीय छन् । प्रस्तुत कृति ‘एउटा अल्बाट्रस’ उनको पछिल्लो नियात्रा कृति हो ।
यस पुस्तकमा २०२४ फेब्रुअरीदेखि २०२५ जुलाईसम्म गरिएका मलेसिया, भियतनाम, भारतको गोवा, फिलिपिन्स र जर्जियाका यात्राहरू समेटिएका छन् । लेखकले ती देशहरूको ऐतिहासिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षलाई सूक्ष्म रूपमा अवलोकन गर्दै आफ्ना अनुभूति र अनुभवलाई रोचक ढंगले प्रस्तुत गरेका छन् ।
मलेसियाबाट आरम्भ
कृतिको आरम्भ मलेसिया यात्राबाट हुन्छ । ‘मलायादेखि मलेसियासम्म’, ‘केदामा नेपाली महाथिर’, ‘यदि म मरेको भए !’, ‘वेलकम गेन्टिङ’, ‘गेन्टिङमा नेपाली गुराँस’ र ‘क्वालालम्पुरमा अन्तिम दिन’ शीर्षकहरूमा मलेसियाको भूगोल, इतिहास, संस्कृति तथा त्यहाँको सामाजिक जीवनको जीवन्त चित्रण गरिएको छ ।
२०८० फागुन ९ गते लेखक आफ्नी श्रीमतीसँग मलेसिया भ्रमणमा निस्कन्छन् । काठमाडौंबाट चार घण्टा ४० मिनेटको उडानपछि क्वालालम्पुर पुग्दा उनले त्यहाँको आर्थिक समृद्धि, बहुराष्ट्रिय कम्पनीहरूको उपस्थिति, रबर खेती तथा खानी उद्योगको प्रभावबारे चर्चा गरेका छन् । उष्ण हावापानी, पर्याप्त वर्षा र उर्वर माटोका कारण मलेसियामा कृषि उत्पादन प्रशस्त हुने तथ्य पनि नियात्रामा उल्लेख गरिएको छ ।
‘केदामा नेपाली महाथिर’ शीर्षकमा लंकाबी भ्रमणको चर्चा छ । लंकाबी मलेसियाको प्रमुख पर्यटकीय क्षेत्र हो, जहाँ ९९ वटा टापु रहेका छन् । लेखकले इगल स्क्वायरस्थित विशाल चिलको मूर्ति, स्थानीय संस्कृति तथा पर्यटन विकासका पक्षलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । साथै होटल बसाइँका अनुभवमार्फत त्यहाँको आतिथ्य संस्कृतिको झलक पनि दिएका छन् ।
‘यदि म मरेको भए !’ शीर्षकमा लंकाबीको केबलकार यात्रा तथा आइल्यान्ड हपिङका अनुभव समेटिएका छन् । प्राकृतिक सौन्दर्य, घना जंगल, तालतलैया र पर्यटकीय पूर्वाधारको वर्णनसँगै लेखकले पौडी खेल्ने क्रममा ज्यान जोखिममा परेको घटना पनि स्मरण गरेका छन् । क्वालालम्पुरतर्फ फर्कंदा विमानबाट देखिएका समुद्र, पहाड, टापु र जलयानहरूको दृश्यात्मक वर्णनले पाठकलाई प्रत्यक्ष यात्राको अनुभूति गराउँछ । बातु गुफा, हिन्दू मन्दिर तथा पर्यटक आकर्षणका विविध पक्षलाई पनि लेखकले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।
भियतनाम यात्रा
कृतिको अर्को खण्डमा भियतनाम यात्राको वर्णन गरिएको छ । ‘हनोईमा प्यागोडा’ शीर्षकअन्तर्गत लेखकले हनोई सहरको हरियाली, ट्रान क्वेक प्यागोडा, बौद्ध संस्कृति तथा वेस्टलेक तालको सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । हो चि मिन्हको समाधिस्थल, विशाल मैदान र उनको देशप्रतिको समर्पणको चर्चा गर्दै लेखकले भियतनामको राजनीतिक तथा ऐतिहासिक पक्षलाई समेत उजागर गरेका छन् ।
भियतनामको पुरानो व्यापारिक केन्द्र ‘ओल्ड क्वार्टर’को चर्चा गर्दै लेखकले त्यहाँका पुराना घर, जीवनशैली, संस्कृति र परम्पराको चित्रण गरेका छन् । स्थानीय मुद्रा, खानपान र दैनिक जीवनका सामान्य पक्षलाई समेत रोचक ढंगले प्रस्तुत गरिएको छ । भियतनामी खानपान, ताजा तरकारी, फलफूल, सामुद्रिक परिकार र स्थानीय आतिथ्य संस्कृतिको वर्णनले त्यहाँको सामाजिक जीवनको झलक दिन्छ । पर्यटकप्रतिको सम्मानपूर्ण व्यवहारसँगै टिप्स माग्ने क्रममा भएको असहज अनुभवलाई पनि लेखकले सन्तुलित रूपमा प्रस्तुत गरेका छन् । यसले यात्राका सुखद र चुनौतीपूर्ण दुवै पक्षलाई देखाएको छ ।
गोवा यात्रा
गोवा यात्राको प्रसंगमा लेखकले विमान यात्राका क्रममा भेटिएका भारतीय नागरिक गंगारामसँगको संयोगपूर्ण भेटलाई पनि स्मरण गरेका छन् । छोटो समयमै बनेको आत्मीय सम्बन्ध र यात्राकै क्रममा भएको अन्त्यले यस प्रसंगलाई भावनात्मक बनाएको छ ।
गोवाको इतिहास वर्णन गर्ने क्रममा लेखकले पोर्चुगाली शासन, त्यसले पारेको सामाजिक तथा सांस्कृतिक प्रभाव र गोवाली जनताले भोगेको पीडालाई प्रस्तुत गरेका छन् । करिब साढे चार सय वर्षसम्म पोर्चुगाली शासनमा रहेको गोवा कसरी सांस्कृतिक तथा व्यापारिक केन्द्र बन्यो भन्ने विषयलाई लेखकले ऐतिहासिक सन्दर्भसहित प्रस्तुत गरेका छन् । ‘माण्डोबीमा गोवालीको धून’ शीर्षकमा गोवाको वर्तमान रूप, पर्यटन विकास र विगतको अवस्थाबीचको तुलना गरिएको छ । गोवा मुक्ति आन्दोलन र सन् १९६१ मा भारतले गोवा आफ्नो अधीनमा लिएको घटनाको चर्चा गर्दै लेखकले इतिहासका महत्वपूर्ण पक्षलाई पाठकसामु ल्याएका छन् ।
फिलिपिन्स यात्रा
गोवापछि लेखकको यात्रा फिलिपिन्सतर्फ अघि बढ्छ । ७६४१ वटा टापुमा फैलिएको फिलिपिन्सको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई लेखकले विविध प्रसंगमार्फत प्रस्तुत गरेका छन् । फिलिपिन्सका यात्रुबाहक ‘जिप्नी’को चर्चा गर्दै लेखकले त्यहाँको यातायात संस्कृतिको परिचय दिएका छन् । फिलिपिन्समा स्पेनी उपनिवेशको प्रभाव, प्राकृतिक स्रोतको दोहन र धार्मिक परिवर्तनका पक्षलाई लेखकले ऐतिहासिक दृष्टिले प्रस्तुत गरेका छन् । मनिला सहरको पुरानो क्षेत्र ‘इन्ट्रामुरोस’लाई इतिहास बुझ्ने खुला विश्वविद्यालयका रूपमा चित्रण गरिएको छ । दोस्रो विश्वयुद्धले पुरानो संरचनामा पारेको प्रभाव र त्यसले बोकेको ऐतिहासिक स्मृतिलाई लेखकले संवेदनशील ढंगले प्रस्तुत गरेका छन् ।
फिलिपिन्स यात्राका क्रममा समुद्री साहसिक गतिविधिको वर्णन पनि रोचक छ । समुद्रको छाल, डर र उत्साहबीचको अनुभवलाई लेखकले स्वाभाविक भाषामा प्रस्तुत गरेका छन् । मनिला भ्रमणका क्रममा लेखकले आफ्ना पूर्व शिक्षक टीकाराम सरलाई सम्झिएका छन् । विद्यार्थी जीवनमा शिक्षकले सुनाएका फिलिपिन्स यात्राका अनुभवलाई त्यही भूमिमा पुगेर स्मरण गर्नु र गुरुप्रति सम्मान प्रकट गर्नु यस कृतिको भावनात्मक पक्ष हो । ‘कहिले मल, कहिले म्युजियम’ शीर्षकमा फिलिपिन्सको आधुनिक जीवनशैली, व्यापारिक विकास र सांस्कृतिक संरक्षणको चर्चा गरिएको छ ।
जर्जिया यात्रा
कृतिको अन्तिम यात्राखण्ड जर्जियासँग सम्बन्धित छ । ‘जर्जियाको इमिग्रेसन’ शीर्षकबाट सुरु हुने यस खण्डमा लेखकले जर्जियाको कला, संस्कृति, इतिहास र त्यहाँका मानिसको व्यवहारलाई सूक्ष्म रूपमा नियालेका छन् । तिबलिसी सहरका गल्ली, पुराना भवन र ऐतिहासिक संरचनाको वर्णन गर्दै लेखकले त्यहाँको विगत र वर्तमानलाई जोड्ने प्रयास गरेका छन् । पुराना गल्लीको बीचमा रहेको घन्टाघर, वास्तुकला र स्थानीय जीवनशैलीले जर्जियाको सांस्कृतिक समृद्धिलाई झल्काउँछन् ।
बर्लिनको पर्खालको प्रसंगमार्फत लेखकले इतिहासका अमिट छापहरूको चर्चा गरेका छन् । तिबलिसी सहरको जनजीवन, व्यापारिक स्वरूप र सोभियत संघ विघटनपछिको अवस्थालाई पनि लेखकले समेटेका छन् । जर्जियाको अंगुुर खेती, मदिरा उत्पादन, पहाडी भूगोल र प्राकृतिक सौन्दर्यको वर्णनले त्यहाँको विशिष्ट पहिचान प्रस्तुत गरेको छ । ककेसस पर्वतमा निर्माण गरिएको सुरुङ, सन् २००८ मा भएको रुस–जर्जिया युद्ध तथा त्यससँग जोडिएका ऐतिहासिक पक्षलाई लेखकले जानकारीमूलक शैलीमा प्रस्तुत गरेका छन् ।
कृतिको समग्र मूल्यांकन
‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ केवल यात्रा विवरण मात्र नभई विभिन्न देश, समाज र संस्कृतिको अध्ययनसमेत हो । लेखकले भ्रमण गरेका स्थानहरूको भूगोल, इतिहास, सामाजिक अवस्था, संस्कृति र आर्थिक पक्षलाई आत्मीय तथा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
नियात्राको मूल विशेषता भनेको यात्राका बाह्य दृश्यसँगै लेखकका आन्तरिक अनुभूति र चिन्तनलाई समेट्नु हो । प्रस्तुत कृतिमा पनि लेखकले देखेका दृश्य मात्र होइन, ती दृश्यले आफूमा पारेको प्रभाव र अनुभूतिलाई समेत अभिव्यक्त गरेका छन् । यस कारण कृति सूचनामूलक मात्र नभई भावनात्मक र साहित्यिक दृष्टिले समेत प्रभावकारी बनेको छ ।
यस नियात्रामा व्यस्त सडक, विशाल भवन, आधुनिक सहर, समुद्र, ताल, जंगल, होटल, बजार र सांस्कृतिक सम्पदाको वर्णन गर्दा लेखकले प्रयोग गरेको चित्रात्मक भाषाले पाठकलाई यात्रामा सहभागी भएको अनुभूति गराउँछ । घरमै बसेर विभिन्न देशको भ्रमण गरेको अनुभव पाठकले प्राप्त गर्छ ।
कृतिमा इतिहास र वर्तमानको संयोजन विशेष आकर्षणका रूपमा देखिन्छ । मलेसियाको आर्थिक विकास, भियतनामको सांस्कृतिक जीवन, गोवाको औपनिवेशिक इतिहास, फिलिपिन्सको संघर्ष र जर्जियाको सभ्यताको चित्रणले पुस्तकलाई बहुआयामिक बनाएको छ । लेखकको भाषा सरल, सहज र प्रवाहपूर्ण छ । ठाउँअनुसारको वर्णन, घटनाको रोचक प्रस्तुति र व्यक्तिगत अनुभूतिको समिश्रणले कृतिलाई पठनीय बनाएको छ । कतिपय साहसिक र संवेदनशील प्रसंगहरूले नियात्रामा रोमाञ्च थपेका छन् भने ऐतिहासिक विषयवस्तुले ज्ञानवर्धक बनाएका छन् ।
निष्कर्ष
समग्रमा ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ उत्कृष्ट नियात्रा कृतिका रूपमा लिन सकिन्छ । यसले पाठकलाई नयाँ ठाउँ, नयाँ संस्कृति र फरक जीवनशैलीसँग परिचित गराउनुका साथै संसारलाई फराकिलो दृष्टिले हेर्न प्रेरित गर्छ । सलल बग्ने भाषाशैली, प्रभावकारी शब्द चयन, गहिरो अनुभूति र तथ्यपरक प्रस्तुतिका कारण यो कृति विशेष बनेको छ । लेखक सागर गैरेले यस कृतिमार्फत पाठकलाई घरमै बसेर विभिन्न देशको यात्रा गराउन सफल भएका छन् ।
यात्राका दृश्यलाई साहित्यिक सौन्दर्य प्रदान गर्दै पाठकको मनमा जीवन्त अनुभूति जगाउने क्षमता यस नियात्राको प्रमुख विशेषता हो । आगामी दिनमा पनि लेखकबाट यस्तै सिर्जनात्मक र पठनीय कृतिहरूको अपेक्षा गर्न सकिन्छ ।