
कोहलपुर : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरमा विशेष समारोहमाझ साहित्यकार सागर गैरेको नियात्रा कृति एउटा अल्बाट्रसको गृह विमोचन भएको छ । कृतिको गृह विमोचन पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञ महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि बीपी अस्तु र कृतिकारकी धर्मपत्नी यसोदा गैरेले संयुक्त रूपमा गरिन् ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार भरत रानाभाटले कृतिमाथि समीक्षात्मक मन्तव्य दिँदै गैरेका नियात्रामा अनुभूतिको तीव्रता एवम् यथार्थ र कल्पनाको सुन्दर संयोजन पाइने बताए । उनले गैरेले पाठकलाई घरमै बसीबसी संसार घुमेको अनुभूति दिने उत्कृष्ट नियात्रा दिएको बताए ।
लामो आसनग्रहण र शुभकामना मन्तव्य नराखिएको कार्यक्रमको दोस्रो सत्रमा कवि तथा सञ्चारकर्मी बीपी अस्तुले कृतिकार सागर गैरेसँग परिसंवाद गरेका थिए । परिसंवादका क्रममा गैरेले आफ्नो कृतिको विषयवस्तु, परिवेश र रचनागर्भबारे जानकारी दिए । कृतिसँग जोडिएका ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पक्षको अनुभव सुनाउँदा स्रोताहरू निकै उत्सुक र भावुक समेत भएका थिए । पुस्तक पढ्नुको महत्त्वमाथि प्रकाश पार्दै गैरेले सयौं भिडियोले पनि पुस्तकका सबै विषय व्यक्त गर्न नसकिने बताए । उनले आफ्नो यात्राका सुखद र दुःखद अनुभव पनि सुनाए । कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले कार्यक्रमका अतिथिहरूलाई धन्यवाद व्यक्त गर्दै कोहलपुरको साहित्यिक विकासमा सागर गैरेको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार नरेन्द्रजङ्ग पिटर, इन्द्रबहादुर बस्नेत, खगेन्द्र गिरी कोपिला, सुमित्रा न्यौपाने, देवकी निरौला, एकराज शर्मा, विष्णु पादुका, नवीन अभिलाषी, कर्णबहादुर थापा, विष्णु बेलबासे, सनत सापकोटा लगायत आठ दर्जनजति साहित्यकार र सञ्चारकर्मीको उपस्थिति थियो । कवि लक्ष्मण मानवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव निमेषले गरेका थिए ।