२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एक करोड बढी लगानीमा निर्माण भएको मह उद्योग प्रयोगविहीन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २७ गते २०:५४
एक करोड बढी लगानीमा निर्माण भएको मह उद्योग प्रयोगविहीन

अर्घाखाँची : अर्घाखाँची जिल्ला मौरी पालक किसानहरुका लागि अति उत्तम जिल्लाको रुपमा लिने गरिन्छ । यस जिल्लाका धेरै ठाउँहरुमा मौरी चरण क्षेत्र भएकोले पनि मह उत्पादन गर्ने जिल्लाको रुपमा परिचित छ । तरपनि यसको व्यवसायीकता भने फस्टाउन सकेको छैन । 

अर्घाखाँचीका ६ स्थानीय पालिकामध्ये शितगंगा नगरपालिकामा बाहिर जिल्लाबाट समेत मह उत्पादन गर्न अर्थात् मौरी चरणका लागि व्यवसायिक किसानहरु मौरीका हजारौं गोला लिएर आउने गर्छन् । अहिले अन्य व्यापार, व्यवसाय ओरालो लागिरहेको अवस्थामा मह उत्पादन गर्नेहरुका लागि निकै आकर्षक कमाइ हुने गरेको मौरी पाल्ने किसानहरु बताउँछन् ।  अर्घाखाँचीको सदरमुकाम नजिक वडा नं ७ मा मह उद्योग स्थापना भएको भएपनि उक्त उद्योग  सञ्चालनमा आउन सकेको छैन । 

नेपाल सरकारले औद्योगिक क्षेत्रको लागि प्रोत्साहनसहित हरेक आर्थिक वर्षमा विभिन्न कार्यक्रमहरू अगाडि सार्ने परिपाटी रहि आएको भएपनि ती कार्यक्रम प्रभावकारी हुन नसकेको किसानहरुको बुझाइ छ ।

विकास निर्माणका कामहरु सही ढंगले कार्यान्वयन गरी सही तरिकाले निर्माण सम्पन्न गर्न सकेमा देशले औद्योगिक विकासको क्षेत्रमा कोल्टे फेर्न सक्ने सम्भावना भएपनि त्यसको कार्यान्वयन पाटो फितलो हुँदा विकासका पूर्वाधार बनेपनि अलपत्र पर्ने गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा पनि राज्यले विकास बजेट खर्च ५० प्रतिशत पनि पुर्‍याउन नसकेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । 

सरकारले, ०६३/६४ को बजेट वक्तव्यमार्फत घोषणा गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ सानागाउँमा रहेको अर्घाखाँची मह उद्योग प्रा.लि आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवन पूर्ण रुपमा जीर्ण बन्दै गएको छ ।

अलपत्र मह उद्योग

अर्घाखाँचीमा मह उद्योग सञ्चालनको लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा १ करोड ५  लाखको लगानीमा भवन इक्युमेन्ट खरिद तथा चार रोपनी जग्गा खरिद गरी भवन निर्माण गरेपनि उक्त उद्योग सञ्चालन गर्न नसक्दा सरकारको पैसा बालुवामा पानी खनाए जस्तो भएको छ ।

मह उत्पादन कम्पनीको संरचना बनाउन बजेट छुट्टिएपनि अहिलेसम्म भवन मात्रै छ ।  अर्घाखाँचीमा सरकारले जति लगानी गरेपनि त्यसको प्रतिफल मौरीको क्षेत्रमा शून्य देखिन्छ ।

मौरीपालन गरेका व्यवसायीहरूले कुनै किसिमको सुविधा पाएको देखिँदैन् । उनीहरुले आफ्नो मह त्यस स्थानमा लागि प्रशोधन गर्न सकिरहेका छैनन् । कति व्यवसायीहरूलाई त मह उद्योग पनि जिल्लामा छ वा छैन, कहाँ छ ?, भन्ने जानकारी नभएको गुनासो गर्छन् ।  

करोडौं लगानीमा निर्माण गरिएको अर्घाखाँची मह उद्योग प्रा.लि. अहिले लथालिङ्ग अवस्थामा छ ।

तत्कालिन समयमा उद्योग वाणिज्य संघ अर्घाखाँचीले अनुदानको १ करोड ५ लाख रुपैयाँ खर्चिनुपर्ने भएपनि हालसम्म ७० लाख मात्र लगानी गरेको काजपत्रमा देखिन्छ । 

त्यहाँका स्थानीयबासिन्दा सर्वसाधारणमार्फत सेयर सदस्य बापत रकम उठाए पनि त्यसको अहिले कुनै लेखाजोखा नभएको र त्यसको प्रयोग कहाँ भइरहेको छ भन्ने जानकारी नभएको सेयर सदस्यहरू गुनासो गर्छन् । तत्कालिन समयका मह उद्योग प्रा.लि.उपभोक्ता समितिका अध्यक्ष तथा तत्कालिन उद्योग वाणिज्य संघ अर्घाखाँचीका सचिवालय सदस्य लक्ष्मण कँडेल भन्छन्, ‘जिल्लामा कच्चा पदार्थको अभावले मह उत्पादन हुन सकिरहेको छैन्, अब यसलाई सुव्यवस्थित तरिकाले सञ्चालनमा ल्याउनको लागि स्थानीय सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन प्रयत्न भइरहेको छ ।’

अर्घाखाँची मह उद्योग प्रा.लि.किन बेवारिसे भयो ?, भन्ने मध्यान्हको जिज्ञासामा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुराबहादुर केसी भन्छन्,‘यो उद्योग स्थापना भएपनि संरक्षण गर्ने जिम्मेवारी राज्य र स्थानीयबासिको हो । यो उद्योग स्थानीय तहको मातहतमा नआउनु र भवन बनाउने निकायले सरकारलाई हस्तान्तरण नगर्नु तथा निर्माण गर्ने निकायले आफू पनि सञ्चालनमा ल्याउन नसक्नु यसको प्रमुख कारण हो ।’

तत्कालिन अवस्थामा भवन निर्माण गर्दा ४८ लाख ५६ हजार ५ सय ६२ रुपैयाँ बराबरको भवन निर्माण भएको उद्योग नजिक राखिएको सूचना बोर्डमा लेखिएको छ । १ करोड ८ लाख ४३ हजार ४ सय ३८ रुपैयाँ मेसिनरी औजार र अन्य कामका लागि रकम खर्च भएको देखिन्छ  । 

उद्योगभित्र मेसिनरी औजार, केही खाली बोतल र मौरीघार यत्रतत्र रहेको भएपनि यसको संरक्षण सम्बद्र्धन कसले गर्ने भन्ने कुरा स्पष्ट नहुँदा उद्योग अलपत्र छ ।

ADVADV

सम्बन्धित खबर

Advertise