२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

डङ्की सपना : मान्छे कसरी बाँच्छ हँ ?

Nada
तीर्थ सिग्देल
२०८३ असार २७ गते ०६:०५
Shares
डङ्की सपना : मान्छे कसरी बाँच्छ हँ ?

जिन्दगीका क्षणहरू कहिले रहर त कहिले बाध्यता बनेर देखापर्छन् । कहिले प्रहर बनेर उदाउँछन्, त कतिपय अवस्थामा कालरात्रि बनेर अस्ताउँछन् । फरक यत्ति हो, परिआएको खण्डमा त्यसको सामना कसरी गरिन्छ । सम्भावित जोखिम वा दुर्घटना टार्न कठिन पर्छ । पराज्ञान प्राप्त भएपछि त्यो सहज बनेर आउँछ । यद्यपि, बाध्यताले मानिसलाई कहिलेकाहीँ सहजतातर्फ र कहिले जोखिमतर्फ पनि मोड्न सक्छ । त्यो बाध्यता रहरको रूपमा उदाएको छ भने त्यसलाई थाम्न सकिँदैन । ऊ त्यसतर्फ मोडिन्छ । मान्छेलाई रहर वा बाध्यताले किन त्यसरी तान्दै लैजान्छ होला ? यो सवालको जवाफ त्यति सहज छैन र प्रश्न पनि जटिल छ । तैपनि मान्छे त्यही बाटोमा अगाडि बढ्छ । त्यो उसको सपना हुन सक्छ वा उसले गरेको भविष्यको कल्पना । यसरी हेर्दा, मान्छेका रहर र बाध्यता बीचमा धेरै अन्तर हुँदोरहेछ ।

ncell

मेरा केही दिनरात यसरी बिते– मानौं, म एउटा रहर र बाध्यताका बीचमा एक लहर बनेर खडा भएको छु । सायद म नै त्यो एउटा अन्यमनस्क यात्री हुँ, जहाँबाट मैले कुनै पाइला चाल्न सकिनँ । एक्लै ठिंग उभिएर किताब पढिसकेपछि हेरेँ, त्यहाँ लेखिएका चार शब्दको जालमा परेर म नै ‘पशुपति’जस्तै बनेँ । म आफैं त्यही विन्दुमा आइपुगेँ कि मान्छेले चाह्यो भने कतिसम्म गर्न सक्दो रहेछ ।

डा.चन्द्र गिरीले गरेको कल्पनाको चित्र भर्खरै कोरियो । त्यो एउटा सपनाको कालबाटो बनेर उदायो । हो, ‘अमेरिका’... यही त्यो चार शब्द थियो, जहाँ मानिसका आँखा तन्किएका छन् । जब कुनै कुरामा रस बिज्छ, त्यो त्यति सहजै कहाँ उत्रिन्छ र ! सायद म ‘डङ्की’ बनेर आफैं त्यो कालबाटोको कहरमा थिएँ । मैले पढिनसकुन्जेल आँखा न झिमिक्क पारेँ, न आँखा ओभाए । फेरि पनि वियोगको पीडामा म रातभर सुत्न सकिनँ ।

सपनाले मान्छेलाई एक प्रकारको अन्धो नै बनाउँदो रहेछ । ‘डङ्कीः सपनाको कालबाटो’ पढिसकेपछि लाग्यो– मान्छे अजीवको प्राणी रहेछ । अझ दिउँसै देखेका सपना त झन् भयानक हुँदा रहेछन् । निद्रावस्थामा देखिएका कतिपय सपना अपूरा हुन्छन् सायद । प्रायः मान्छेले राति देखेका सपना बिर्सिन सक्छन्, तर जागो अवस्थामा देखिएका सपना त जब्बर बनेर आउँदा रहेछन् ।

जब पशुपतिलाई त्यो चार शब्दले तान्छ, त्यसपछि उसले आँखै देख्न छाड्छ । अनि उसलाई त्यो सपना जीवनको निर्विकल्प लाग्छ । डङ्की बनेर महिनौंको कठिन यात्रा गर्न कहाँ सजिलो छ र ? पशुपतिले चालेका पाइला सलकपुरबाट ओरालिन्छन्, त्यतिबेलासम्म पनि विश्वास थिएन कि ऊ त्यति साहसी छ भनेर । मलाई आमनेपालीको मनोदशाबारे ज्ञान छैन, तर एउटा शिक्षित मानिसको सोच कतिसम्म फराकिलो बनेर आकाशमा उड्न सक्छ, त्यसबारेमा अलिअलि ज्ञात छ । उसले भनेको छ– ‘म राष्ट्रप्रेममा अडिग बनेर गाउँमै अभावसँग जुधिरहूँ कि सम्भावनाको खोजीमा परदेश जाऊँ ?’ यो सवालले मलाई पनि कुनैबेला चिमोटेको थियो ।

शिक्षित बेरोजगारको कथा बेग्लै छ । अर्धशिक्षित वा सामान्य पेसाकर्मीका व्यथा बेग्लै । अझ पूर्ण बेरोजगार र अशिक्षितका समस्या अर्कै । ती कतिपय सपनाले थिचिएका छन्, कति पुरिएका । कुनै रकेट बनेर उड्ने कल्पनामा रन्थनिएका छन् । देश छाड्न सहजै सकिने, तर देशमै केही गर्न त्यति सजिलै नसकिने बाध्यताका सिकार बनेको पुस्ताले एआईले झैं सोच्दोरहेछ । म नै यसको भुक्तभोगी हुँ, कहिलेकाहीँ मलाई उनीहरूको त्यो कदम मूर्खतापूर्ण लाग्छ ।

तर रुक्साक (झोला) बोकेर ओरालो झरेको पशुपतिले यो मनोभाव प्रकट गर्दा मेरा आँखा रसाए । ऊ भन्छ– ‘माफ गर है मातृभूमि ! मैले तिमीलाई सधैंका लागि छाड्न लागेको होइन । जहाँ गए पनि तिमीलाई मेरो मनमस्तिष्कमा सजाएर राख्नेछु । नमरी बाँचे, दैवले साँचे छिट्टै फर्केर आउनेछु ।’

त्यसरी ऊ त्यो एउटा भयानक कालबाटोमा उत्रियो । सायद उसलाई सम्भावित जोखिमबारे जानकारी थियो, तैपनि ऊ रहर र बाध्यताका बीचमा कतै लट्किएको थियो । न ऊ घर फर्किन सक्थ्यो, न आफ्नो परिवारसँग मिलन हुन्थ्यो । तर पशुपतिले सँगालेको त्यो सपनाको चित्र बदलियो । उसलाई लाग्यो– चिजहरू बदलिनुपर्दैन रैछ, हेर्ने तरिका फेरियो भने अर्थ फेरिने रैछ । यो उसको आत्मविश्वास थियो । सायद उसलाई त्यही आत्मविश्वासले जित्यो र सुरिनामबाट अपमानको भारीले थिचिएर फर्किंदा पनि उसलाई त्यो चार शब्दले तानिरह्यो । बाहिरी संसारसँगको दूरी बढ्दै गयो, भित्री संसारसँगको संवाद अझै गहिरिँदै गयो ।

जीवनको यथार्थ हो– दुःख नपाई सुख आउँदैन । मानिसको जीवन समुद्रजस्तै हो, कहिले शान्त त कहिले सुनामी । कहिले लहरहरू आकाशलाई छुने प्रयास गर्छन् त कहिले चुपचाप तटलाई स्पर्श गरेर फर्कन्छन् । कालबाटोका ती कठिन दिनरातले उसलाई अझ दृढ बनाएको थियो । उसले सपनाको सगरमाथा उक्लनु नै छ । उसले एक ठाउँमा भनेको छ– भाग्यमानीहरू मात्र यो दुस्साहसिक बाटो पार गरेर आफ्नो गन्तव्यमा पुग्न सफल हुनेछन् ।

नेपालजस्ता धेरै देशका अभागी मानिसका लागि लाग्ने यो यात्रा के साहसिक नै हो त ? अहँ... पक्कै होइन । दुस्साहस नै हो । तर बाध्यताका अगाडि कसैको केही लाग्दैन । अभर परेपछि मान्छे लाचार बन्छ । ‘अमेरिकन ड्रिम’ले जित्दै जाँदा भयानक ‘ड्यारिन ग्याप’ पनि राजमार्गजस्तै लाग्दो रहेछ । यस्तो लाग्छ, यो कथा पढ्दा मानिस ज्याद्रो हुँदोरहेछ । उपन्यासको मुख्य पात्र पशुपतिलाई लाग्छ– जीवनका अप्ठ्यारा बाटाहरूमा कहिलेकाहीँ प्रकृतिले रुखको जरा बनेर अडेस दिँदा रहेछन् ।

मैले लेखकका अरू केही कृति पनि पढेकै हो । मलाई उहाँको ‘संसारको सेरोफेरो’ किताबले बढी रोमाञ्चित बनाएको थियो । त्यसपछि यो उपन्यासले मन धेरै अमिलो बनायो, चुकझैं अमिलो । कसरी यतिबिघ्न देश, समाज र परिवेशलाई समेट्न सक्नुभयो, डाक्टर साहब ? हरेक देशका सहर, गाउँ र भाषा अनि बाटाका काँडा; त्यस यात्राका खोला, नाला, पाखा, पर्वत, रुख, बुटा, जैविक विविधता अनि वातावरण; देशैपिच्छेका अलग–अलग समूह अनि उनीहरूका नचाहिँदा व्यवहार– यी सबै सूक्ष्म अध्ययनबिना सम्भव छैन । यो नै लेखकीय शिल्प हो, एउटा कला हो ।

मलाई उपन्यास लेखनविधामध्येकै कठिन लाग्छ । यसमा कथानक शिल्पले बाँधिरहनु निकै गाह्रो कुरा हो । तर ‘डङ्कीः सपनाको कालबाटो’ले हरेक पाठकलाई सहज यात्रा गराउँछ । तान्छ हरेक पन्नाले सरररर....। टिभी च्यानलमा पन्ध्र सेकेन्डको विज्ञापन त ‘स्किप’ गर्ने पाठक भएको ठाउँमा किताबले सरर तानिरहनु कम चुनौती होइन । अझ मोबाइल पुस्ताले रिल्समा आफूलाई खोज्दै गरेको समयमा यस्तो विधामा पाठकलाई अड्याइरहनु अझै जटिल कुरा हो । यद्यपि डा.चन्द्र गिरीले त्यो चुनौती पार गर्नुभएको मैले मानेँ । अलिक कमै बोल्ने स्वभावको लाग्ने लेखकलाई मैले यो कृतिमारफत मनमा धेरै कुरा खेलाउन सक्ने मान्छेका रूपमा पाएँ । हुन त म पनि कमै बोल्छु । लेखकको यो एउटा गुण हो कि अरू सामान्य मानिस यात्रामा रमाइलो मात्र गर्छन्, तर लेखकहरूले परिवेश नियाल्छन् र समय आएपछि त्यसलाई कथानक रूप दिन्छन् ।

यति लेखेर मात्र पुग्दैन, किनभने नेपालजस्ता रेमिट्यान्सकै भरमा बाँचेका मुलुकहरू धेरै छन् । र, ती सपनाका देशहरूले किन्ने श्रमका विक्रेताहरू तिनै यो उपन्यासका अभागी पात्रहरू हुन्, जसले सपना देखे, सपना पूरा गरे तर पनि यो उखानझैं भयो– ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै ।’

कताकता मलाई नै लागेका कुराहरू उहाँले कसरी लेख्न सक्नुभएको होला ? मान्छेले बनाएका यी सिमानाहरू नभएको भए जीवन कति सरल हुन्थ्यो होला ? अरू क–कसले यसरी सोच्छ ? देशहरू नहुँदा पनि मानिसहरू थिए । उनीहरू यताउता सहजै आउजाउ गर्थे । तर देशहरू बनेपछि सिमानामा भयानक पर्खालहरू ठडिए, तारजाली लगाइए । पासपोर्ट बनाइयो अनि आउजाउ गर्न भिसा चाहियो । त्यसपछि नै बढेको हो विभेद, असमानता अनि विद्रोहको आगो । यसरी मानिस कैदी भए, चराहरूझैं स्वतन्त्र हुन सकेनन् ।

यस्ता विषयलाई मिहीन ढंगले उठाउन सहज छैन । अन्तरदेशीय भावनालाई प्रतिविम्बित गर्न अझ कठिन हुन्छ । र, त्यही चार अक्षरको देशको बासिन्दा भएर कतिपय असहमतिका स्वर उराल्न लेखकलाई कठिनै थियो होला । तर, लेखकीय धर्मले लेखकहरूलाई त्यसरी भाग्न दिँदैन । त्यसमा उहाँ अलिकति पनि चुक्नुभएको छैन । त्यो धर्म लेखकले राम्रैगरी पालन गर्नुभएको मैले ठानेँ ।

तैपनि मन खिन्न पार्ने कतिपय वियोगान्त चलचित्र हेर्दा लाग्नेजस्ता घटनाक्रम छन्, उपन्यासमा । म स्वयं लेखक नै भएको हिसाबले महसुस गर्छु– शब्दको खेती गर्न कति गाह्रो पर्छ भनेर । तर, उपन्यासको मुख्य पात्र पशुपति उर्फ ‘पस्पते’लाई अमेरिका पुगे पनि प्रारब्धले कहिल्यै छाडेन । पढ्दापढ्दै मनै ढक्क फुलाउने दुःखद परिवेशहरू किन र कसरी सिर्जना भए होला ? उपन्यास पढ्दै गर्दा पाठकको मनमा उब्जने यस्ता सवालले मनै उद्वेलित बनाउँछ । यस्तो लाग्छ– हे दैव, त्यो दुःखीलाई कति दुःख दिइराखेको ? उपन्यास पढिरहँदा यस्तो भाव पटक–पटक आइरहनु लेखकीय सफलता हो ।

एक ठाउँमा त्यो मुख्य पात्रलाई लाग्छ– यहाँ समयभन्दा अघि–अघि समस्या तीव्र गतिमा आइरहेका हुन्छन् । एउटा समस्या हल गर्न नपाउँदै अर्को भयानक चुनौती सामना गर्नुपरेको छ । हरेक क्षण एउटा भूतले पछ्याइरहेको छ ।

सायद हरेक आप्रवासी, देशविहीन र शरणार्थीहरूका पीडा यस्तै हुन्छन् होला । देश भएर पनि परदेशी हुनुको पीडा त छँदै छ । त्यतिखेर एउटैखाले मनोदशाले पछ्याउँछ कि ? ठाउँठाउँमा अव्यक्त मनोभाव र व्यक्त भावले भन्छ– मानिस बाह्य रूपमा मात्र खुसी रहन सक्दैन । पशुपतिजस्तै अरू देशका मानिसहरू जब डिपोर्टेसन (देशनिकाला)मा पर्छन्, त्यसपछि उनीहरूमा भावनाको भेल बग्छ– वर्षायाममा उर्लिएको मेची नदीजसरी ।

वैध र अवैध भन्ने कुरा शासकहरूका हेर्ने नजरमा भर पर्दोरहेछ । आशा भन्ने कुरा गज्जबकै हुँदोरहेछ । आशाले नै मानिसलाई डो¥याइरहन्छ, घिस्याइरहन्छ । यो भावनाले जितेपछि घरपरिवारको यादलाई पशुपति जीवन्त राख्ने प्रयास गर्छ– एउटा असफल प्रयास । माथि नै भनेँ, मलाई वियोगान्त चलचित्र हेर्दा मन अड्याउन गाह्रो पर्छ । कतिपय कथाहरू पनि त्यस्तै मन बिझाउने खालका लाग्छन् । अर्कोतिर श्रीमती पार्वती र छोरी प्राचीको बुवा भेट्ने रहर पूरा होला कि नहोला भन्ने कुतूहलले पाठकलाई अन्तिम पानासम्म एकोहोरो पारिरहन्छ ।

एउटा सपनाको पछाडि लाग्दा आफू र परिवारले कति भयानक र दर्दनाक बाटोबाट गुज्रिनुपर्छ भन्ने दृश्यहरू उपन्यासका पानाहरूमा देखिन्छन् । दुस्साहसजस्तो लाग्ने यो संघर्षको कथाले हरेक आप्रवासनसँग जोडिएका मनहरूलाई पक्कै छुन्छ ।

उपन्यास पढिरहँदा हरेक परिवेश कतै न कतै हाम्रै समाजसँग जोडिएको प्रतीत हुन्छ । लाखौं रुपैयाँ दलाललाई बुझाएर जिन्दगीका सपनाहरू सजाएर विभिन्न देशका हवाई, जल र स्थलमार्ग हुँदै सपनाको देशमा पुग्नु एउटा उपलब्धि त होला, तर त्यससँगै सिर्जना भएको असहज परिस्थिति दुःखद साबित हुन्छ । संसारका कतिपय देशका मानिसहरू अमेरिका प्रवेश गर्न तल्लो बाटो (डङ्की)बाट कतिसम्म कठिन यात्रा गर्छन् भन्ने कुरा बुझ्न यो उपन्यास पढे हुन्छ । ‘डङ्की : सपनाको कालबाटो’ त्यस्तो दस्ताबेज हो, एउटा साबिती बयान हो ।

सम्बन्धित खबर