
पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने माथिल्लो सिद्धाने पुग्ने जो–कोहीले एउटा कुरा सहजै महसुस गर्छ—गन्तव्य जति सुन्दर छ, त्यहाँ पुग्ने बाटो त्यति नै कठिन । पोखराबाट करिब २५ किलोमिटरको दूरी भए पनि सडकको केही भाग मात्रै कालोपत्रे छ भने धेरै खण्ड अझै कच्ची छन् । वर्षायाममा सडक हिलाम्मे बन्दा यात्रा झन् कष्टकर बन्छ । तर, यही कठिन यात्रापछि देखिने पञ्चासेको अनुपम सौन्दर्यले भने यात्रुको सबै थकान बिर्साइदिन्छ ।
पञ्चासेको काखमा रहेको माथिल्लो सिद्धानेमा अहिले एउटा मात्रै होमस्टे सञ्चालनमा छ । पञ्चासे फ्यामिली होमस्टे ६ वर्षअघि स्थापना भएको हो । यो होमस्टे अहिले स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।
होमस्टेका सञ्चालक होमनाथ पौडेलका अनुसार पञ्चासे हिमशृंखलाको मनोरम दृश्य, सूर्योदय, शान्त वातावरण र धार्मिक महत्वका कारण पर्यटक वर्षभरि आउने गर्छन् ।
‘यहाँ आउने धेरै पर्यटक हिमाल हेर्न, पञ्चासे मन्दिरमा पूजा गर्न र गाउँको जीवनशैली अनुभव गर्न आउँछन् । एकपटक आएका विदेशी पर्यटकमध्ये कतिपय एकदेखि दुई महिनासम्म बस्ने गर्नुहुन्छ,’ उनी भन्छन् ।

पञ्चासे विभिन्न प्रजातिका अर्किड (सुनाखरी)का लागि पनि प्रसिद्ध छ । हरियाली वन, गुराँस, दुर्लभ वनस्पति र जैविक विविधताले यो क्षेत्रलाई प्रकृतिप्रेमी तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक बनाएको छ ।
होमस्टेमा पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका अर्गानिक परिकार खुवाइन्छ । कोदोको रोटी, स्थानीय सिमी, गाउँमै उत्पादन भएको आलुको तरकारीलगायत परिकारले पर्यटकको मन जित्ने गरेका छन् । होमस्टे परिसरमै कुखुरापालन र मौरीपालन गरिएको छ, जसले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेको छ ।
करिब ६० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको यस होमस्टेमा एकैपटक २० देखि ३० जनासम्मलाई बास गराउन सकिने क्षमता छ । हाल वार्षिक ३०० देखि ३२५ जनासम्म पाहुना आउने गरेका छन् । सञ्चालक पौडेलले आगामी वर्षहरूमा वार्षिक एक हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए । पर्यटकको चापअनुसार दुईदेखि तीनजनालाई रोजगारीसमेत दिइएको छ ।

तर, पर्यटनको सम्भावना बढ्दै जाँदा चुनौती पनि कम छैनन् । सबैभन्दा ठुलो समस्या सडक पूर्वाधार हो । वर्षायाममा सडक हिलो भएपछि पर्यटकलाई गन्तव्यसम्म पुग्न कठिन हुने गरेको छ । त्यस्तै, गाउँका अधिकांश युवा रोजगारीका लागि बिदेसिएपछि होमस्टेका लागि आवश्यक जनशक्ति जुटाउन समस्या हुने गरेको पौडेलको अनुभव छ । यद्यपि स्थानीय सरकार भने पञ्चासेको भविष्यप्रति आशावादी देखिन्छ ।
पोखरा महानगरपालिका–२३ का वडा अध्यक्ष रामकाजी गुरुङका अनुसार पञ्चासे जोड्ने सडक स्तरोन्नतिका लागि एसियाली विकास बैंकसँग सम्झौता भइसकेको छ भने निर्माणका लागि ठेक्का प्रक्रियासमेत सम्पन्न भइसकेको छ ।
उनका अनुसार करिब एक अर्ब ३० करोड रुपैयाँको लागतमा दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘यो सडकलाई साइकल लेनसहित नेपालकै नमुना सडकका रूपमा विकास गर्ने योजना छ,’ गुरुङले भने ।

अध्यक्ष गुरुङका अनुसार सडक निर्माणसँगै पञ्चासे क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तयारी भइरहेको छ । पञ्चासेनजिकैको तामागी हर्पनकोटमा आकर्षक भ्यु–पोइन्ट निर्माण गरिएको छ, जहाँबाट फेवा क्षेत्र, हिमशृंखला र आसपासका पहाडी दृश्य अवलोकन गर्न सकिन्छ ।
तामागी गाउँमा थप व्यवस्थित होमस्टे सञ्चालनको तयारी भइरहेको छ । त्यसैगरी, चापाकोट–देउराली क्षेत्रको गरेलीमा प्राकृतिक संरक्षण र दिगो पर्यटनलाई जोड्दै इको भिलेज निर्माण गर्ने अवधारणामा काम अघि बढाइएको छ ।
वडा कार्यालयले फेवाताल संरक्षणलाई समेत प्राथमिकतामा राखेको छ । फेवातालको प्रमुख जलस्रोतका रूपमा रहेको हर्पन खोलामा भू–संरक्षण, माटो संरक्षण तथा खोला–नाला व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेको वडा अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार यसले फेवातालमा हुने गेग्रान जम्ने समस्या कम गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र ग्रामीण संस्कृतिको अनुपम संगम बनेको पञ्चासे अहिले पर्यटनको नयाँ सम्भावना बोकेको गन्तव्यका रूपमा उदाइरहेको छ । पूर्वाधार विकासले गति लिने हो भने माथिल्लो सिद्धानेको एउटा सानो होमस्टेबाट सुरु भएको ग्रामीण पर्यटनको यो अभियान निकट भविष्यमै समग्र पञ्चासे क्षेत्रको आर्थिक समृद्धिको आधार बन्न सक्ने देखिन्छ ।
हिमालको काख, सुनाखरीको बगैंचा, अर्गानिक खानाको स्वाद, आत्मीय गाउँले आतिथ्य र दिगो पर्यटनको सम्भावना—यी सबै विशेषताले पञ्चासेलाई केवल भ्रमण गर्ने ठाउँ होइन, अनुभव गरेर फर्कने गन्तव्य बनाइदिएको छ ।
समुद्री सतहबाट करिब २,५०० मिटरको उचाइमा अवस्थित पञ्चासे प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र ग्रामीण पर्यटनको अनुपम संगम हो । कास्की, स्याङ्जा र पर्वत जिल्लाको सीमाक्षेत्रमा फैलिएको पञ्चासे पछिल्ला वर्षहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ भने पञ्चासे मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ । विभिन्न प्रजातिका गुराँस, सुनाखरी, जडीबुटी, चराचुरुंगी र वन्यजन्तुले यस क्षेत्रलाई जैविक विविधताको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण बनाएका छन् । पदयात्रा, सूर्योदय अवलोकन, क्याम्पिङ तथा प्रकृति अध्ययनका लागि पञ्चासे नेपालको उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।
