
सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड १८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । नगरप्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षतामा सम्पन्न १०औं नगरसभाले आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो ।
नगरपालिकाका अनुसार कुल बजेटमध्ये संघीय सरकारबाट हस्तान्तरण हुने अनुदान ३९ करोड ५९ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १६ करोड ४८ लाख ८३ हजार रुपैयाँ, प्रदेश सरकारबाट हस्तान्तरण हुने अनुदान २ करोड ७४ लाख रुपैयाँ तथा आन्तरिक स्रोतबाट ७ करोड १० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
बजेटले सडक तथा यातायात पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ । साथै, आँप, गोलभेँडालगायत कृषि उत्पादनको ब्राण्डिङ र बजारीकरण, दुग्ध तथा मासुजन्य उत्पादन प्रवर्धन, उन्नत जातका गाई–भैँसी तथा पाडा पालन गर्ने किसान, सहकारी र समूहलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
बजेट सार्वजनिक कार्यक्रममा नगरप्रमुख बुढाथोकीले हरिवन नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको जानकारी दिए । उनका अनुसार ‘साक्षर नेपाल अभियान’ अन्तर्गत तोकिएका न्यूनतम मापदण्ड पूरा गरेपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो। यसअघि हरिवन नगरपालिका सडक मानवमुक्त र योगमय नगरपालिकाका रूपमा पनि घोषणा भइसकेको छ ।
नगरसभाले नगरपालिकाअन्तर्गत कार्यरत शिक्षक तथा कर्मचारीको मनोबल अभिवृद्धि गर्न आगामी आर्थिक वर्षदेखि पारिश्रमिक १० प्रतिशतले वृद्धि गर्ने निर्णयसमेत पारित गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाल का अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी र कर्मचारीलाई सेवाप्रति थप जिम्मेवार बनाउन तलब वृद्धि गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा तथा कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने जनाएको छ ।