२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रचण्डलाई नेतृत्व छाड्न दबाब

ADV
दिवाकर अधिकारी
२०८१ साउन २८ गते ०६:५०
प्रचण्डलाई नेतृत्व छाड्न दबाब

काठमाडौं : नेकपा माओवादी केन्द्रभित्र सांगठनिक नेतृत्वको विकल्पको खोजी भएको छ । 

पार्टीको स्थायी कमिटीको बैठकमा नेताहरूले पुष्पबकल दाहाल प्रचण्डको बैचारिक नेतृत्व कायम राखेर सांगठनिक नेतृत्वमा नयाँ पात्रलाई ल्याउनुपर्ने प्रस्ताव प्रस्तुत भएको छ । 

३५ वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्डले पार्टीभित्र सांगठनिक नेतृत्व छाडेर आफूलाई बैचारिक नेतृत्वमा कायम राख्नुपर्ने मत स्थायी समितिको बैठकमा प्रस्तुत भएको हो ।  

यस्तो प्रस्ताव उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा दुवैले राखेका छन् । उनीहरूको प्रस्तावमा अन्य नेताहरूले समेत समर्थन जनाएपछि प्रचण्डलाई नतृत्व छाड्न दबाब परेको छ ।

पार्टी कार्यालय पेरिसडाँडा बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले आन्तरिक समस्या, संगठन निर्माण र आगामी कार्यनीति सम्बन्धमा लिखित प्रस्ताव पेस गरेका गरेका छन् ।

पार्टीमा समस्या आउनुमा विधि र पद्धति अनुसार पार्टी नचल्नु, जनयुद्धमा लडेका योद्धाहरूको व्यवस्थापन गर्न नसक्नु, पार्टीभित्र फरक मत राख्नेलाई दबाउन खोज्नु, नेताहरूको जीवनशैली पारदर्शी नहुनु लगायत रहेको उनको निचोड छ । 

उपमहासचिव शर्माले प्रचण्डको बैचारिक नेतृत्व कायम नै रहने गरी पार्टीको सांगठनिक नेतृत्वमा नयाँ अनुहार चाहिने बताएका छन् । यसका लागि प्रचण्डले चाहेको नेतालाई नै समेत अगाडि सार्न सक्ने उनको वैकल्पिक प्रस्ताव छ । त्यसपछ्चात नेतृत्वको कार्यकाल तोकिनुपर्ने प्रस्ताव शर्माको छ ।

उनले भनेका छन्, ‘अध्यक्षज्युको बैचारिक नेतृत्व कायम नै रहने गरी सांगठनिक नेतृत्वमा नयाँ अनुहार ल्याऔं । बरु अध्यक्षले चाहेको नेतालाई समेत अगाडि सार्न सक्नुहुन्छ ।’ 

उपमहासचिव वर्षमान पुनले पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने बताएका छन् । एक वा दुई कार्यकाल अध्यक्ष बन्ने गरी विधानमै तोकिनुपर्ने उनका प्रस्ताव छ । 

नेताहरूका अनुसार उपमहासचिव पुनले भनेका छन्, ‘अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो । अब त्यस्तो हुनुहुँदैन । अबको नेतृत्व अविच्छिन्न हुनु हुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राख्नुपर्छ ।’ 

नेताहरूका अनुसार माओवादी केन्द्रको स्थायी समिति बैठकमा आइतबारसम्म १४ जना सदस्यले आफ्ना कुरा राखेका छन् । त्यसक्रममा नेतृत्वको विषयमा सैद्धान्तिक कुरा भएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । 

उनले बैठकपछि पत्रकारहरूसँग भनेका छन्, ‘नेतृत्वको विषयमा सैद्धान्तिक कुरा भएको छ । वैचारिक रुपमा, सांगठनिक रुपमा, विधिवत रुपमा त्यसको तयारी गर्नुपर्छ भन्नुभएको छ, अहिले उठ्दै गरेको कुरालाई अध्यक्षले ध्यानपूर्वक सुन्नुभएको छ ।’ 

बैठक बैठक जीवन्त र घनीभूत भइरहेको उनले बताए । पार्टीको अबको नीति र कार्यक्रममै बढी छलफल भएको उनले जानकारी दिए ।  

‘स्थानीय तहलाई आधार बनाएर समाजवाद ल्याउनुपर्छ,’ बैठकमा नेताहरूको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise