२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

वैदेशिक रोजगारीमा जानेमा झापाका धेरै

Nada
२०८३ साउन ३ गते ०६:१५
Shares
वैदेशिक रोजगारीमा जानेमा झापाका धेरै

काठमाडौं : विभिन्न कोणबाट चर्चामा रहने झापा जिल्ला वैदेशिक रोजगारको क्षेत्रमा पनि चर्चाको शिखरमा पुगेको छ । वैदेशिक रोजगारमा जाने लहरमा झापालीहरूले मुलुकका अन्य ७६ जिल्लालाई पछाडि पारेका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको झापाबाट सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

ncell

एक पटक वैदेशिक रोजगारीमा गएर छुट्टीमा आएर पुनः वैदेशिक रोजगारीमा जाने अर्थात् रिइन्ट्रीका माध्यमबाट धेरै कामदार जाने जिल्लाको रूपमा धनुषा भएपनि अघिल्लो आर्थिक वर्ष पहिलोपटक वैदेशिक रोजगारमा जाने धेरै कामदार झापाका देखिएका छन् । अन्य जिल्लाबाट पुरुष कामदार बढी जाने गरेका छन्, तर झापाबाट महिला कामदार पनि उल्लेख्य मात्रामा वैदेशिक रोजगारमा गएका छन् ।

पछिल्ला धेरै वर्षहरूमा मधेश प्रदेशको धनुषा जिल्लाबाट सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा जाने गरेकोमा यसपटक झापाबाट धेरै कामदार गएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार झापा र धनुषापछि क्रमशः मोरङ, सिरहा, सर्लाही, महोत्तरी, रुपन्देही, सुनसरी, दाङ, सप्तरी र चितवन धेरै कामदार वैदेशिक रोजगारीमा जाने प्रमुख १० जिल्लामा पर्छन् । 

विभागको तथ्यांकअनुसार गत वर्ष झापाबाट १६ हजार २ सय ८६ जना, धनुषाबाट १५ हजार ६ सय ९८ जना, मोरङबाट १५ हजार ३ सय ३६ जना, सिरहाबाट १३ हजार ७६ जना, सर्लाहीबाट १२ हजार १ सय ८३ जना, महोत्तरीबाट ११ हजार ८ सय ९९ जना, रुपन्देहीबाट ११ हजार ७ सय ७७ जना, सुनसरीबाट ११ हजार ३ सय ९६ जना, दाङबाट ११ हजार ११ जना, सप्तरीबाट १० हजार २ सय ६४ जना र चितवनबाट ९ हजार ७ सय ४६ जना वैदेशिक रोजगारीमा गएका छन् ।

त्यसपछि क्रमशः बारा, मकवानपुर, बागलुङ, रौतहट, कपिलवस्तु, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, तनहुँ, उदयपुर, नवलपरासी (पूर्व), बाँके, सिन्धुली, नुवाकोट, गोरखा, बर्दिया र स्याङ्जालगायत सबै ७७ जिल्लाबाट नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएको देखिन्छ । सबैभन्दा कम वैदेशिक रोजगारीमा जाने जिल्ला मनाङ हो । मनाङबाट १ सय ५८ जना वैदेशिक रोजगारीमा गएका छन् । अघिल्ला वर्षहरूमा पनि धनुषा, झापा, मोरङसहित कोशी र मधेश प्रदेशबाट नै धेरै नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।

ती जिल्लामा वैदेशिक रोजगारीले परिवारको अर्थतन्त्रलाई टेवा पुर्‍याउनुका साथै गरिबी न्यूनीकरणमा योगदान दिएको, परिवारको आधारभूत आवश्यकता पूरा गर्न तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुगेको देखिएको छ ।

वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूले आधुनिक प्रविधि, नयाँ कार्यशैली र विशेष सीप सिकेका कारण स्वदेश फर्किएपछि स्वआर्जनका कार्यक्रममा लागेका र केहीले सिकेको सीपका आधारमा स्वदेशकै उद्योगहरूमा काम गरिरहेको पनि देखिन्छ ।

सकारात्मक पक्षसँगै वैदेशिक रोजगारीका नकारात्मक पक्षबारे पनि उत्तिकै चर्चा हुने गरेको छ । वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रमा रेमिट्यान्स भित्र्याए पनि यसले सामाजिक, पारिवारिक र मानवीय क्षेत्रमा गम्भीर नकारात्मक असर पारिरहेको, बस्तीहरू खाली हुँदै गएको, परिवार विघटन र सीप पलायनजस्ता चुनौती निम्त्याएको अध्ययनहरूले देखाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर