
काठमाडौं : नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई उनीहरूको सीपका आधारमा वैदेशिक रोजगार विभागले पाँच वर्गमा विभाजन गर्दै आएको छ । विभागले उच्च दक्ष, प्रोफेसनल, सेमी–स्किल, स्किल र अनस्किल गरी वर्गीकरण गरेको छ ।
गत वर्ष ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ३६ जना उच्च दक्ष, ३ हजार ५ सय ७० जना प्रोफेसनल, १ लाख १४ हजार ६ सय १४ जना सेमी–स्किल, ४ लाख ८२ हजार ६ सय ४३ जना स्किल र १ लाख ९० हजार २ सय ६४ जना अनस्किल जनशक्तिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
एक आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका ७ लाख ९२ हजार १ सय ८७ कामदारमध्ये १ लाख ९० हजार २ सय ६४ जना अनस्किल अर्थात् अदक्ष रहेको तथ्यांकले वैदेशिक रोजगारीमा जानेमध्ये करिब २५ प्रतिशत जनशक्ति कुनै सीपबिना नै गइरहेको देखाएको छ । हातमा सीप नभएका जनशक्तिले जोखिमयुक्त काम गर्नुपर्ने, न्यूनतम तलब मात्रै पाउने र विभिन्न जोखिममा पर्ने गरेको विभिन्न देशमा कार्यरत श्रम काउन्सिलर तथा श्रम सहचारीहरू बताउँछन् ।