
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औं बिपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका हुन् ।
पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले विगतमा सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैं अब सबै पुस्तालाई जोड्ने सामथ्र्य पनि राख्नुपर्ने बताए । यसका लागि नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको कुरा सुन्ने र दृष्टिकोण बुझ्ने धैर्यता पनि राख्नुपर्ने उनले बताए ।
नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सिमित राख्न नहुने उनको तर्क छ । पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउँदै थापाले ६०–६५ वर्ष नाघेका नागरिकलाई ‘वर्ग शत्रु’ का रूपमा चित्रण गर्ने सोच गलत भएको बताए ।
यस्ता नकारात्मक चिन्तनबाट समाजलाई मुक्त राख्ने जिम्मेवारी कांग्रेसकै भएको उनको भनाइ छ । विगतको संविधान सभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै सभापति थापाले कांग्रेसले नै सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दाबी गरे ।
सभापति थापाले अब कांग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए ।