
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा दाहालले इन्टरनेसनल पिपुल्स एसेम्बलीको आयोजनामा भएको ‘ह्यान्ड्स अफ एसिया’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए ।
श्रीलंकामा रहँदा उनले त्यहाँका विभिन्न वामपन्थी राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता तथा छलफल गरेका थिए । यस क्रममा श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिवसहित पोलिटब्युरो सदस्यहरूसँग द्विपक्षीय राजनीतिक विषयमा संवाद भएको थियो ।
त्यस्तै, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का महासचिव तिल्भिन सिल्भा तथा उक्त दलको पोलिटब्युरोसँग पनि दाहालले भेटवार्ता गरेका थिए ।
भ्रमण अवधिमा उनले विभिन्न मुलुकबाट सम्मेलनमा सहभागी राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील विचारकहरूसँग समेत छलफल गरेका थिए ।
दाहाल गत १५ जुलाईमा श्रीलंका पुगेका थिए । भ्रमणका क्रममा उनले क्षेत्रीय राजनीति, वामपन्थी आन्दोलन र अन्तर्राष्ट्रिय सहकार्यसँग सम्बन्धित विषयमा विभिन्न पक्षसँग विचार आदानप्रदान गरेको बताइएको छ ।