२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

परिवारको सपना बोकेर विदेश गएका राकेश बाकसमा फर्किए

Nada
लालबाबु बानिया
२०८३ साउन ३ गते १६:४६
Shares
परिवारको सपना बोकेर विदेश गएका राकेश बाकसमा फर्किए

पर्सा : वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया गएका पर्साका एक युवाको शव तीन महिनापछि घर आइपुग्दा परिवार, आफन्त र गाउँ नै शोकमा डुबेको छ ।

ncell

पर्सागढी नगरपालिका–७ चैनपुर निवासी २४ वर्षीय राकेश कुमार पटेल रोजगारीका लागि केही वर्षअघि अस्ट्रेलिया गएका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले जेठो सन्तानका रूपमा घरको जिम्मेवारी आफ्नो काँधमा लिएर उनी अस्ट्रेलियाको एक कम्पनीमा कार्यरत थिए ।

करिब तीन महिनाअघि अस्ट्रेलियामै उनको निधन भएको खबर आएपछि परिवार शोकमा परेको थियो । त्यसयता शव नेपाल ल्याउन आवश्यक प्रक्रिया पूरा गर्न समय लागेकाले परिवारले लामो प्रतीक्षा गर्नुपरेको थियो ।

तीन महिनापछि अस्ट्रेलियाबाट काठमाडौं ल्याइएको राकेशको शव शववाहनमार्फत पर्सागढीस्थित घर पुर्‍याइएको थियो । शव घर पुगेपछि अन्तिमपटक छोराको अनुहार हेर्ने आमाबुबा, भाइबहिनी तथा आफन्तको प्रतीक्षा पूरा भए पनि घरपरिवार र गाउँभरि भावुक वातावरण बनेको थियो ।

मृतकका बुबा बृजा राउत कुर्मीले छोराको सम्झनामा भावविह्वल हुँदै आफूले पटक–पटक विदेश नजान र स्वदेशमै बसेर विवाह गरी जीवन बिताउन आग्रह गरेको बताए । तर राकेशले केही समय अझै विदेशमा काम गरेर फर्किएपछि विवाह गर्ने र परिवारसँगै बस्ने सपना सुनाउने गरेको उनको भनाइ थियो । छोराको त्यो सपना अधुरै रहँदा परिवार विक्षिप्त बनेको छ ।

मृतकको शव नेपाल ल्याउन पहल गर्न पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानुले नेपाल सरकारसमक्ष विषय उठाएको परिवारले जनाएको छ । आवश्यक समन्वयपछि शव स्वदेश ल्याउन प्रक्रिया अघि बढेको बताइएको छ ।

घरमा श्रद्धाञ्जली अर्पण गरेपछि राकेश पटेलको शव हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । युवा उमेरमै परिवारको भविष्य बनाउन विदेश पुगेका राकेशको असामयिक निधनले स्थानीयवासीसमेत स्तब्ध बनेका छन् ।

ताजा खबर

सम्बन्धित खबर