
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम जाने भएका छन् । उनी दिउँसो ४ बजे हवाई मार्गबाट जनकपुर पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
जनकपुर पुगेपछि ‘प्रचण्ड’ महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथिको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँबाट फर्किएपछि उनी जनकपुरधाममै मधेश प्रदेशका पार्टी नेताहरूसँग छलफलमा सरिक रहने कार्यक्रम रहेको बताइएको छ ।
राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति र भूमिकाबारे पनि छलफल हुने जनाइएको छ। राजनीतिक समीकरण परिवर्तनसँगै पार्टी संगठनलाई एकीकृत र सक्रिय बनाउने विषय पनि छलफलको एजेन्डामा रहेको छ ।
यस्तै, ‘प्रचण्ड’ले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।