
काठमाडौँ : सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार सरकारका नाममा उक्त आदेश दिएको हो । अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णयसमेत गरेको छ ।
सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। उनले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएका थिए ।
कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कुटपिटसम्बन्धी आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही विषयमा उनले सर्वोच्चमा कानुनी उपचार माग गरेका हुन् ।