
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले यसअघि दर्ता गरिएको अविश्वास प्रस्तावप्रतिको आफ्नो अडान कायम राख्ने निष्कर्ष निकालेको हो । नेकपा र नेपाली काँग्रेसका १६ जना प्रदेश सभा सदस्यले यसअघि नै मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार पार्टीले पूर्वनिर्धारित सहमतिअनुसार अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयलाई निरन्तरता दिएको छ । उनले प्रस्ताव दर्ता भइसकेपछि त्यसबाट पछि हट्ने कुनै आधार नरहेको बताएका छन् ।
यसबीच संघीय स्तरमा नेकपा र नेकपा एमालेबीच कर्णालीको सत्ता समीकरणबारे छलफल चलिरहेको चर्चा भए पनि प्रदेश संसदीय दलले त्यस्ता अनौपचारिक छलफलले आफ्नो निर्णयमा असर नपर्ने स्पष्ट पारेको छ ।
प्रमुख सचेतक जिसीले पार्टीबाट औपचारिक निर्णय आए त्यसलाई स्वीकार गरिने भए पनि छलफल मात्रका आधारमा प्रदेशस्तरको निर्णय परिवर्तन नहुने बताएका छन् । उनले वर्तमान अवस्थामा पार्टीको दृष्टिकोण सर्वदलीय सरकार निर्माणतर्फ उन्मुख रहेको पनि उल्लेख गरेका छन् ।
गत बिहीबार नेपाली कांग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ ।