
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताए । उनले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुनसक्ने बताए ।
उनले विभिन्न देशमा नियमित चुनाव भएपनि लोकतन्त्र कमजोर वा अपहरित अवस्थामा रहेको उल्लेख गर्दै नेपाल समेत त्यस्तै अवस्थामा पुगेको टिप्पणी गरे । उनले संविधान संशोधन नभई संविधानको रक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए ।
उनले गत वर्षको भदौमा भएको जेनजी आन्दोलनलाई हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक ढंगबाट फालिएको टिप्पणी गरे ।
उनले सरकारले समाजलाई आतंक र भयको नियन्त्रणमा राख्ने उद्दत रहेको आरोप पनि लगाए ।