
काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आन्तरिक आलोचनाभन्दा पार्टीका संस्थापक नेता बिपी कोइरालाको विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीभित्रका फरक धारबीच हुने आलोचना–प्रत्यालोचनाले लक्ष्य प्राप्तिमा सहयोग नगर्ने धारणा राखे ।
उनले बिपीको स्मृति दिवसलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय बनाउनुभन्दा उनका विचार, मूल्य र लोकतान्त्रिक संस्कारबारे बहस गर्नुपर्ने बताए । बिपीको राजनीतिक दर्शनलाई वर्तमान पुस्ताको आकांक्षा र २१औँ शताब्दीका युवाको चाहनासँग जोडेर समृद्धिको बाटो खोज्नुपर्ने उनको भनाइ थियो ।
शर्माले परिवर्तनका लागि संघर्षसँगै ज्ञान, चेतना र मार्गदर्शन आवश्यक हुने बीपीको विचार स्मरण गर्दै कांग्रेसले नयाँ नेतृत्वमार्फत देश रूपान्तरणको लक्ष्य राखेको उल्लेख गरे ।
उनका अनुसार काँग्रेस विशेष महाधिवेशनमार्फत गगन थापालाई पार्टी सभापति तथा राष्ट्रिय नेतृत्वको भूमिकामा स्थापित गर्दै उनलाई प्रधानमन्त्री बनाएर आगामी दशकमा देशलाई परिवर्तन गर्ने संकल्पसहित अघि बढिरहेको छ।