
काठमाडौं : उच्च अदालत पाटनले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्व विवादसम्बन्धी मुद्दामा आवश्यक प्रमाण झिकाउने आदेश दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अध्यक्षको जिम्मेवारी पाएका किशोर केसीले एसोसिएसनका प्रथम उपाध्यक्ष सुवर्ण लामा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंविरुद्ध उच्च अदालत पाटनमा असार ३१ गते दायर गरेको निषेधाज्ञा मुद्दामा शुक्रबार न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा सापकोटा र गोपालप्रसाद बास्तोलाको इजलासमा बहस भएको थियो । बहसपछि इजलासले जिल्ला प्रशासन कार्यालयको निर्णय तथा एसोसिएसनको विधान झिकाउने आदेश दिएको हो ।
अध्यक्ष केसीले साधारणसभाबाट अध्यक्षमा निर्वाचित रामप्रसाद गैरे, एसोसिएसनका प्रथम उपाध्यक्ष सुवर्ण लामा, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सल्लाहकार शंकर आचार्य तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाउँदै दायर गरेको निषेधाज्ञा रिटमा आफूलाई एसोसिएसनको अध्यक्षको हैसियतमा काम गर्न कुनै बाधा–अवरोध नगर्न तथा नगराउन आदेश माग गरेका छन् । उक्त मुद्दाको अर्को बहस आगामी मंगलबार हुने भएको छ ।