
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आवश्यक नीतिगत सुधारका मागहरू बुझाएको छ । संघले बिहीबार बृहत् व्यवसायी भेला राखेर मन्त्री यादवलाई बुझाउने १५ बुँदे मागपत्र तयार गरेको थियो ।
संघले नीतिगत सुधारमा मन्त्रालयले देखाएको प्रतिबद्धता, क्रियाशीलता सकारात्मक रहेकोे भन्दै निष्कर्षमा पुग्न विलम्ब गर्न नहुनेमा जोड दिएको छ । संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले ऐन संशोधनले समय लिन सक्ने भएकाले सेवाशुल्क तत्काल निर्धारण गरी व्यवसाय सञ्चालनको स्पष्ट वातावरण बनाउनुपर्ने बताए ।
संघले प्रतिकूल अवस्थामा भारतीय विमानस्थलबाट सरकारले अनुमति दिएपछि कामदार पठाएका म्यानपावर कम्पनीलाई कारबाही गर्ने, असन्तुलित नियमन र बदनियतपूर्वक झुटा उजुरीको प्रवृत्तिले वैदेशिक रोजगार क्षेत्र मात्र नभई राष्ट्रिय अर्थतन्त्रप्रति समेत चिन्ता बढाएको भन्दै आफ्नो निर्णय सच्चाउन विभागलाई आग्रह गरेको छ ।
संघले व्यवसायीहरूलाई वर्तमान अवस्थालाई ‘शून्य समय’ मानी, सर्वपक्षीय र सर्वस्वीकार्य नीतिगत सुधार नहुँदासम्म मन्त्रालयलाई सुधार प्रक्रियामा सहयोग गर्दै दुई हप्तापछि श्रमिक पठाउने कार्य ऐक्यबद्धताका साथ स्थगित गर्न अनुरोध गरेको छ ।