
काठमाडौं : वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र दुव्र्यवहारको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भए । सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा स्थगित गरेर स्वास्थ्यकर्मीहरुले सरकारसँग सुरक्षाको माग गरेका छन् ।
अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कारबाही र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग राख्दै चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो । सेवा अबरुद्ध भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीले सास्ती ब्यहोरेका छन् । काठमाडौंका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा रहेपनि अन्य सेवा बन्द हुँदा सेवाग्राहीको भीड बढेको थियो । धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भए भने कतिपयले आकस्मिक कक्षमार्फत सेवा लिन खोज्दा थामिनसक्नु चाप बढेको थियो ।
चिकित्सक संघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । बुधबार सर्वपक्षीय भेला गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ । साउन ९ गते वीरगन्जको नारायणी अस्पतालमा उपचारमा संलग्न मेडिकल अफिसर डा. प्रमोद रामसहितका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो । अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको माग लिएर जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्तामा बसेका चिकित्सकहरूलाई गालीगलौज गरी दुव्र्यवहार गरिएको चिकित्सक संघले जनाएको छ ।
स्वास्थ्यजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ ।’
सहप्रवक्ता अधिकारीले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा होभन्दै नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुव्र्यवहारका घटनाहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याइने पनि बताइएको छ ।
अस्पतालमा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ पुनः सक्रिय बनाउने तयारी गरेको छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६’ को दफा ५ बमोजिम गठन भइसकेको उक्त समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो । ऐनअनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालयलगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ । अदालतको फैसला बमोजिम क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ ।
ऐनअनुसार समितिको अध्यक्ष मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको १२औं तहको कर्मचारी र उपाध्यक्ष सम्बन्धित महाशाखा प्रमुख रहने व्यवस्था छ । साथै, गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । मन्त्रालयले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत सदस्य–सचिव पनि रहनेछन् ।
घटना के हो ?
साउन ९ गते कार्डियाक अरेस्ट(मुटु अचानक बन्द हुने अवस्था) भएर ४५ वर्षीय राजकुमार पटेल वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भए । चिकित्सकले सीपीआर दिए तर बचाउन सकेनन् । उनी पहिलेदेखि नै मुटुका बिरामी थिए । उनको उपचारमा थिए, डा राम पटेल । राजकुमारको मृत्यूपछि उनका परिवार आक्रोशित बने र आकस्मिक कक्षमा नै चिकित्सकमाथि हातपात गरे । चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण उनको ज्यान गएको आरोप लगाउँदै अस्पतालबाहिर प्रदर्शन भयो ।
छलफलकै क्रममा उपचारमा संलग्न मेडिकल अफिसर डा प्रमोद रामसहितका चिकित्सकमाथि पनि हातपात गरियो । उनीमाथी हेल्मेट र ढुंगा प्रहार गरिएको थियो । उनलाई तत्काल अस्पतालकै आईसीयू कक्षमा राखेर उपचार गरिएको छ । चिकित्सकहरूमाथि हातपात गर्ने व्यक्तिलाई कारबाहीको माग राखेर आकस्मिक सेवासमेत ठप्प पारेका छन् ।
अस्पताल नै ठप्प भएपछि नारायणी अस्पतालले चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग राखेको छ । अस्पतालले सीसीटीभी फुटेजका आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग राखेको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चितरञ्जन शाहले विज्ञप्ति जारी गर्दै अस्पतालले सो दिनको सीसीटीभी फुटेजसमेत सम्बन्धित निकायमा पठाइएको बताएका छन् ।