
काठमाडौँ : जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधबार जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरूमाथि खेलमा मिलेमतो, अनियमितता र ठगीसम्बन्धी कसुरको आरोप लागेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि दायर मुद्दामा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पनि प्रतिवादी छन् । उनीहरू यसअघि क्रमशः १५ लाख र १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
आरोपअनुसार, सन् २०२४ मार्च २१ मा नेपालमा हुनुपर्ने विश्वकप छनोटको खेल मैदानको अवस्थाका कारण बहराइनमा सारिएको, टिकट बिक्रीको २० हजार अमेरिकी डलर अपचलन गरिएको तथा खेलकुद सामग्री खरिदमा अनियमितता भएको दाबी गरिएको छ । सरकारी वकिलले प्रतिवादीहरूबाट ९३ लाख ९ सय रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको छ ।