२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

गौरमा तरकारी व्यापारी तथा किसानको प्रदर्शन, माग पूरा नभए बजार बन्द गर्ने चेतावनी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक ११ गते १९:०१
Shares
गौरमा तरकारी व्यापारी तथा किसानको प्रदर्शन, माग पूरा नभए बजार बन्द गर्ने चेतावनी

रौतहट : जिल्लाको सदरमुकाम गौरमा भारतीय बजारबाट आयात हुने तरकारी तथा फलफूलमा सुरक्षाकर्मीले रोक लगाएको र सामान खोसिएको विरोधमा स्थानीय तरकारी व्यापारी तथा किसानहरू आन्दोलनमा उत्रिएका छन् ।

लामो समयदेखि सहज रूपमा सञ्चालन हुँदै आएको आपूर्ति प्रणालीमा अचानक अवरोध सिर्जना गरी जीविकोपार्जनमा संकट उत्पन्न गराइएको भन्दै उनीहरूले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।

दशकौँदेखि भारतीय सीमावर्ती बजारबाट तरकारी तथा फलफूल ल्याएर स्थानीय उपभोक्तालाई सुलभ मूल्यमा आपूर्ति गर्दै आएका यस क्षेत्रका किसान तथा साना व्यापारीहरू प्रशासनको यस्तो दोहोरो व्यवहारबाट मर्माहत बनेका छन् ।

गौर भन्सार कार्यालयमा क्वारेन्टाइनको पर्याप्त तथा व्यवस्थित प्रबन्ध नहुँदा कानुनी रूपमा भन्सार प्रक्रिया पूरा गर्ने वातावरण नरहेको र वैकल्पिक मार्गबाट सामान ल्याउनसमेत नदिइएको व्यापारीहरूको गुनासो छ। यस्तो नीतिले आफूहरूलाई विस्थापित गर्न खोजिएको उनीहरूको भनाइ छ ।

तरकारी तथा फलफूल व्यापारी संघका अध्यक्ष सरोज मुखियाको नेतृत्वमा बुधबारदेखि व्यापारीहरू बजार समितिको प्राङ्गणमा धर्नामा बसेका छन् । ‘तरकारी तथा फलफूल पैठारी रोकको विरुद्ध आम हडताल तथा धर्ना कार्यक्रम’ नाम दिइएको उक्त आन्दोलन माग पूरा नभएसम्म जारी रहने संघर्ष समितिले चेतावनी दिएको छ ।

व्यापारी तथा किसानहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै गौर नगरपालिका–५ का वडाध्यक्ष शिवशंकर यादवले तत्काल समस्या समाधान नभए नगरभरिका बजार अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् ।

वडाध्यक्ष यादवसहित पीडित किसान तथा व्यापारीहरूको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाए पनि प्रशासनबाट ठोस सुनुवाइ नभएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट यस विषयमा आफूले केही गर्न नसक्ने आशयको जवाफ आएपछि व्यापारीहरू थप आन्दोलित भएका छन् । वडाध्यक्ष यादवले समयमै माग सम्बोधन नगरिए सम्पूर्ण बजार अनिश्चितकालीन बन्द गरी थप कडा संघर्षमा उत्रिने चेतावनी दिँदै सरकार र सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

यस आन्दोलनप्रति गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले पनि समर्थन जनाएका छन् । उनले स्थानीय तहबाट किसान तथा व्यापारीहरूको हकहित, व्यवसायको सुरक्षा र सहज आपूर्तिको व्यवस्थाका लागि आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अचानक लगाइएको रोकका कारण स्थानीय बजारमा तरकारी तथा फलफूलको अभाव हुन सक्ने र हजारौँ परिवारको रोजगारी तथा स्थानीय अर्थतन्त्रमा असर पर्ने खतरा बढेको छ । स्थानीय प्रशासनले समयमै उचित निकास ननिकाले रौतहटको जनजीवन थप प्रभावित हुन सक्ने देखिएको छ ।

सम्बन्धित खबर