–समरसेट मौघाम
मरिसकेका ती तीन जनाको आत्माहरू ईश्वरको अगाडि न्यायको प्रतीक्षामा उभिरहेका थिए । ईश्वरले केही बेर तिनीहरूलाई ध्यान दिएनन् । साँच्चै भन्ने हो भने उनी झर्किएका र दिक्क भएका थिए । केही बेर अघि एउटा विश्वप्रशिद्ध बुढा दार्शनिकको आत्मा उनको सामुन्ने न्यायको लागि ल्याइएको थियो, त्यसले आउनासाथ भनेको थियो, “मलाई तिमीमा विश्वास छैन ।” यो कुराले ईश्वरलाई कुनै असर गर्दैनथ्यो होला । बरु जवाफमा उनी हाँसिदिन्थे होला । तर, दार्शनिकले पृथ्वीमा भइरहेको युद्ध र मारकाटको चर्चा गर्दै इश्वरसँग सोधेको थियो, “यो कसरी भन्न सकिन्छ कि तिमी सर्वशक्तिमान र सर्वकृपालु छौ र ? बेशक शैतानको अस्तित्व अस्वीकार गर्न सकिँदैन तर, तिमी उसलाई कुकर्म गर्न रोक्न सक्दैनौ भने तिमी सर्वशक्तिमान होइनौ र यदि रोक्न सक्छौ र रोकिरहेका छैनौ भने तिमी सर्वकृपालु छैनौ ।”
यो तर्क ईश्वरको लागि नयाँ थिएन, र उनले सधैं यस कुराको विचार गर्न चाहेनन्, किनकि सर्वज्ञानी भएर पनि यस प्रश्नको जवाफ उनीसँग थिएन । दार्शनिकको भनाइअनुसार उनी ईश्वर भएर पनि दुई र दुईको जोड पाँच बनाउन सक्दैनथैं ।
“हो, मलाई यस्तो ईश्वरमा विश्वास छैन” दार्शनिकले अन्तमा भनेको थियो, “जो सर्वशक्तिमान र सर्वकृपालु छैन ।”
ईश्वरले केही बोलेका थिएनन् ।
आखिर उनले ती तीन आत्माहरूलाई हेरे, जो कुनै आशामा अत्यन्त विनीत भावसँग उनका अगाडि उभिएका थिए । उनीहरूमध्ये एक आत्मा जानको थियो, दोस्रो मेरीको, र तेस्रो रूथको । उनीहरूले आफ्नो–आफ्नो कथा सुनाए ।
जान र मेरी पाँच वर्षदेखि विवाहित थिए र सुखद दाम्पत्थ जीवन बिताइरहेका थिए । उनीहरूमा एक–आपसमा प्यार थियो । तब जानको भेट रूथसँग भयो, जो अठार वर्षकी अतीव सुन्दरी, लावण्यमयी युवती थिई । जान उसलाई देख्नासाथ उसँग मोहित भयो । रूथको मनमा पनि उसको लागि प्यार पलाउन थाल्यो । यी दुईको त्यो प्रेम साधारण प्रेम थिएन । त्यो सुुझबुुझ हराउने खालको प्रेम थियो । तर, केही समयपछि ती दुवै सम्मालिए र उनीहरूले समाज र त्यसका मान्यताहरूबारे सोचे । जानलाई लाग्यो कि ऊ कसरी एक मासुम केटिलाई धोका दिन सक्छ र ? र रूथले सोचिन् कि उसले किन एक विवाहित पुरुषसँग नाता गाँस्ने ? तब उनीहरूलाई यो महसुस भयो कि मेरीलाई उनीहरूको प्रेमबारे थाहा भएको छ ।
हो, मेरीलाई उनीहरूबारे थाहा भएको थियो । तब उसको मनमा आफ्नो पतिप्रतिको विश्वास र प्रेम अडिग भइरहन सकेन, र उसको मनमा इष्र्या उब्ज्यो, जसको उसले कहिल्यै आशा गरेको थिइन, साथै उसको मनमा डर उब्जन थाल्यो कि कतै उसलाई लोग्नेले छाडोस् ? रिस उठ्न थाल्यो, किनकि उसको दिलको सम्पत्ति लुटिँदै थियो, र उसको मनमा अनौठो भोकजस्तो उब्जन थाल्यो, जसले प्रेमभन्दा बढी पीडा दिने खालको थियो । उसलाई लाग्यो कि यदि उसलाई लोग्नेले छाड्यो भने ऊ मर्नेछे । तापनि उसलाई थाहा थियो कि जानले रूथसँग जानीजानी प्रेम गरेको थिएन बरु जानको रूथसँग आफसेआफ प्रेम भएर प्रेम गरेको थियो । त्यसकारण उसको नजरमा जानको दोष थिएन । ऊ शक्तिको लागि इश्वरसँग प्रार्थना गर्थी र एकान्तमा एक्लै चुपचाप रोइरहन्थी । उसको स्वास्थ बिग्रिँदै गयो ।
जान र रूथ यो सबै हेरिरहेका थिए । उनीहरूको मनभित्र संघर्ष चलिरहेको थियो, जो लामो र पीडादायी संघर्ष थियो । कैयौं पल्ट उनीहरूको मन डावाडोल हुन्थ्यो तर, पनि उनीहरू त्यो प्रेमबाट मुख फर्काउन सक्दैनथ्ये, जुन उनीहरूको मनमा सल्किरहेको हुन्थ्यो । उनीहरूले पापसँग संघर्ष गरे र अन्तमा विजय पाए । आखिर टुक्रिएको मनकासाथ आफू निर्दोष भएकोमा गर्व गर्दै ती दुई एक अर्कादेखि छुट्टिए ।
रूथले यति हदैसम्मको प्रेम गरेकी थिई कि उसले फेरि कसैसँग प्रेम गर्न सकिन, र आफ्नो मुटु पत्थर बनाएर ईश्वरमा समर्पित भई परोपकार कार्यमा लागिन् । उसले रोगीहरूको सेवा गरिन् र गरिबको सहायता गरिन् । उसले अनाथालय खोलिन् र दीन हीनहरूको सहायता गर्ने संस्था स्थापना गरिन् । बिस्तारै बिस्तारै उनको सुन्दरता, जसबाट ऊ विमुख भएकी थिइन्, हराउँदै गयो र उसको अनुहार पनि मनजस्तै पत्थरको भयो । तब उसको धर्म अरु बढी भयानक बन्यो, किनकि त्यसको आधार प्रेम नभएर तर्क थियो । साथै ऊ पनि निरंकुुश र असहनीय भई ।
यसका साथै जान पनि अन्तरमन भित्रभित्रै दुुःखी भएर मृत्यु पर्खिरहेको थियो । उसको निम्ति अब बाँच्नुका कुनै अर्थ थिएन । बिजेता बन्ने प्रयत्नमा उसको हार भएको थियो । अब उसको पत्नीप्रति घृणभाव मात्र रहेको थियो, जसले उसलाई सधैँ बेचैन बनाउथ्यो । तापनि ऊ उसँग आदर र सहानुभूतिका साथ व्यवहार गथ्र्यो र उसको निम्ति एक पतिले गर्नुपर्ने सबैकुरा गथ्र्यो जो एक असल पतिको कर्तव्य हुन्थ्यो ।
मेरीले पनि एक सुशील, विश्वसनीय पत्नीको रूपमा आफ्ना पतिलाई साथ दिई । तर पनि उसले उसलाई क्षमा दिन सकिन । ऊ झर्किने र झगडालु स्वभावकी भई । ऊ पतिलाई यस्तो घोच्ने कुराहरू भन्थी जसको लागि ऊ आफैलाई पनि घृणा गर्थी । ऊ आफ्नो पतिको लागि ज्यान त्याग्न सक्थी तर, अब यस्तो सोच्न उसका लागि असह्य थियो, किनकि ऊ असह्य यातना सहिरहेकी थिई जबकि जान कसैसँग प्रेमका आनन्द लिइरहेको थियो । तर, अब उसको निम्ति मात्र होइन जान र रूथको निम्ति पनि जीवन निरस भइसकेको थियो र बितेको कुरा सकिइसकेको थियो । उनीहरूले पाप गरेका थिएनन् र पनि अब मरिसकेपछि आफ्नो कर्मको फल भोग्न प्रतीक्षामा उभिरहेका थिए ।
आफ्नो कथा सुनाइसकेपछि उनीहरू चुप लागे पनि चारैतिर स्तब्धता छायो ।
तब इश्वरले भन्न खोजे “जहन्नुममा जाऊँ !” तर यो शब्द उनको मुखबाट निस्केन । तब उनको आँखीभूूँइ खुम्चियो र उनले आफैसित सोधे ? के यसैको निम्ति सुर्यलाई अनन्त समुद्रमा प्रकाश गर्नु र बर्फको पहाडहरूमा चम्कनु भनेर भन्छु र ? के यसैको लागि पहाडहरूमा बग्ने झरना खुशीले गाउँछ र साझको हावाले सुनौलो बालीनाली लहलहराउछ ? कहिले कहीँ म सोच्छु कि तारा पोखरीको मैला पानीमा कति बढि चम्किन्छ !
त्यो समय तीनै आत्माहरू, आफ्नो दुःखले भरिएको कथा सुनाइसके पछि, केही हदसम्म सन्तोष अनुभव गरिरहेका थिए । उनीहरूको जीवन सङ्घर्ष अत्यन्त तनावपूर्ण थियो तापनि उनीहरूले आफ्नो कर्तव्य पूरा गरेका थिए ।
तब ईश्वरले बिस्तारै फुके जसरी मानिसहरू मोमबत्ति निभाउन फुक्छन् र त्यतिबेला नै ती तीनैवटा आत्माहरू गायब भए । यसप्रकार ईश्वरले उनीहरूलाई नष्ट गरिदिएका थिए ।
तब ईश्वरले भन्यो, “म कैयोंपल्ट यो सोचेर हैरान हुन्छु कि मानिसहरू किन यस्तो सम्झन्छन् कि म अनैतिक सम्बन्धहरूलाई यति महत्व दिन्छु । वास्तवमा मानिसहरूको यो कमजोरीलाई सधैँ सहानुभूतिका साथ हेर्छु ।”
त्यसपछि उनले दार्शनिकतिर नजर फर्काए, जो आफ्नो प्रश्नको उत्तरको प्रतीक्षामा अहिलेसम्म उभिरहेका थिए , र भने, “तिमीले मान्नुपर्छ कि यो मौकामा मैले आफू सर्वशक्तिमान र सर्वकृपालु भएको प्रमाण पेश गरेको छु ।”
अनुवादक : सरण राई
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies