२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारुसहित दुई भारतीय नागरिक पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज १७ गते १३:१७
Shares
स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारुसहित दुई भारतीय नागरिक पक्राउ

रौतहट : जिल्लाको सीमावर्ती गौर भन्सार कार्यालय अगाडिबाट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वैधानिक स्रोत नखुलेको ठूलो परिमाणको भारतीय नगद रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

ncell

शनिबार बिहान अन्दाजी ७:४५ बजेको समयमा गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि खटिएको संयुक्त चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, शिवहर जिल्ला, थाना रामपुर भटहा बस्ने मोहन गिरीका २२ वर्षीय छोरा करण कुमार गिरी र सोही ठाउँका रामेश्वर रायका ३५ वर्षीय छोरा लालबाबु राय रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सीमा क्षेत्रमा नियमित तथा कडा चेकजाँच गर्ने क्रममा भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका दुवै जनामाथि शंका लागेपछि शरीर तथा खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनीहरूको साथबाट कुनै पनि कानुनी वा आधिकारिक स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ नगद र १ थान मोबाइल फोन बरामद गरिएको छ ।

उक्त संयुक्त टोलीको नेतृत्व भन्सार सुरक्षा गार्ड रौतहटका प्रहरी नायब निरीक्षक कुमार यादवको कमान्डमा खटिएका ३ जना र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. गौरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद भट्टको कमान्डमा खटिएका ७ जना गरी कुल १० जना सुरक्षाकर्मीले गरेका थिए ।

स्रोत नखुलेको रकम र मोबाइलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई प्रारम्भिक सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि भन्सार सुरक्षा गार्ड रौतहटमा राखिएको थियो । तत्पश्चात् बरामद नगदसहित दुवै जनालाई कानुनी प्रक्रिया अगाडि बढाउन तथा थप कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सुरक्षा निकायले जनाएको छ ।

सीमा क्षेत्रमा अवैध रूपमा हुने हुण्डी कारोबार, वित्तीय अपराध तथा भन्सार छलीका गतिविधि नियन्त्रण गर्न सीमावर्ती चेकप्वाइन्टहरूमा कडाइ गरिएको र यस्ता अवैध गतिविधिमा संलग्न जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गरिने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर