२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

शंकर पोखरेलले गरे गगन थापाको प्रशंसा

कांग्रेस–एमाले सहकार्यबाट लोकतन्त्र र परिवर्तन अघि बढाउनुपर्छ : पोखरेल

Nada
२०८३ असोज १८ गते १७:३६
Shares
शंकर पोखरेलले गरे गगन थापाको प्रशंसा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यबाट लोकतान्त्रिक व्यवस्था थप मजबुत बनाउँदै मुलुकको रूपान्तरणलाई गति दिनुपर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेस सभापति गगनकुमार थापासँग विगतका लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेको स्मरण गरे। थापा कांग्रेसको नेतृत्वमा आउनुलाई उनले सकारात्मक घटनाका रूपमा व्याख्या गरे।

ncell

पोखरेलले त्रिचन्द्र क्याम्पसमा आयोजित सभादेखि आफूहरू राजनीतिक रूपमा सँगसँगै उभिएको उल्लेख गरे।

‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ । त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ । अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ । यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने ।

नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनमा कांग्रेस र एमालेले सहकार्य गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि दुई दलबीच सहकार्य आवश्यक रहेको बताए। राणा शासन, पञ्चायती व्यवस्था र ज्ञानेन्द्र शाहको शासन अन्त्यका लागि विगतमा मिलेर अघि बढेको प्रसंग निकाल्दै उनले लोकतन्त्रको रक्षा र मुलुकको परिवर्तनका लागि पुनः सहकार्य गर्नुपर्ने धारणा राखे।

‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ । अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ ।’

महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग आवश्यक परामर्श नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाजलाई बेवास्ता गरेको दाबी गर्दै उनले सरकारको कार्यशैलीलाई ‘स्वेच्छाचारी शासन’का रूपमा चित्रण गरे।

उनले यस्तो अवस्थामा कांग्रेसले आगामी दिनमा प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गरे। राजनीतिक दलहरूबीचको सहकार्यबाट युवाका आकांक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिँदै पोखरेलले नयाँ पुस्तालाई निराश हुन नदिन सबै दल एक ठाउँमा उभिनुपर्ने बताए।

‘युवाहरूलाई निराश हुन दिनु हुँदैन । युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने ।

कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र सरोकारसँग प्रत्यक्ष जोडिएका विषयलाई राजनीतिक बहसको केन्द्रमा ल्याउने र नयाँ एजेन्डा अघि सार्ने विश्वाससमेत पोखरेलले व्यक्त गरे।

उनका अनुसार सूचना प्रविधिको विकास र विस्तारमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। आगामी राजनीतिक यात्रामा पनि जनताको अपेक्षा, युवाको भविष्य र मुलुकको रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

ताजा खबर

सम्बन्धित खबर