२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘स्नेह मिलन’मार्फत एनसिसी कतारले छुट्टिएका परिवारलाई जोड्दै, आवेदन खुला (फारामसहित)

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज १८ गते १९:४३
Shares
‘स्नेह मिलन’मार्फत एनसिसी कतारले छुट्टिएका परिवारलाई जोड्दै, आवेदन खुला (फारामसहित)

दोहा, कतार : कतारको मरुभूमिमा पसिना बगाउँदै वर्षौं बिताएका नेपाली श्रमिकका लागि कहिलेकाहीँ परिवारसँग एउटै टेबलमा बसेर खाना खान पाउनु पनि ठुलो सपना हुन्छ । कतारमै रहेका बाबु, आमा, श्रीमान् वा श्रीमतीलाई आफ्नो आँखाअगाडि देख्ने त्यो सपना अब केही श्रमिकका लागि पूरा हुने भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले ‘स्नेह मिलन २०२६–सिजन १’ मार्फत कतारमा लामो समयदेखि परिवारबाट टाढा रहेका न्यून आय भएका नेपाली श्रमिकका परिवारलाई कतार ल्याउने अभियान सुरु गरेको छ ।

ncell

भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन तथा क्युएफएम रेडियो नेटवर्कको सहकार्यमा सञ्चालन हुने अभियानअन्तर्गत छनोटमा परेका १० जना नेपाली श्रमिकका परिवारका सदस्यलाई कतार भ्रमणमा ल्याइनेछ । परिवारका सदस्यको हवाई टिकट, विमानस्थलमा स्वागत तथा बिदाइ, तारे होटेलमा बसोबास र कतारका विभिन्न पर्यटकीय तथा आकर्षक स्थलको भ्रमणको व्यवस्था गरिनेछ ।

अभियानका लागि आज अक्टोबर ४ देखि नोभेम्बर १५ सम्म आवेदन दिन सकिनेछ । आवेदन दिनका लागि कतारमा कम्तीमा १५ वर्षदेखि निरन्तर बसोबास गरेको, मासिक तलब दुई हजार कतारी रियालभन्दा कम रहेको, वैध कतार परिचयपत्र तथा राहदानी भएको र कम्पनीको अधीनमा काम गरिरहेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ । आवेदकले कतार प्रवेश मिति वा लामो समयदेखि कतारमा बसोबास गरेको प्रमाण, तलब प्रमाणित हुने कागजात, कतार परिचयपत्र तथा राहदानीको प्रतिलिपि र नेपालमा रहेका परिवार सदस्यसँगको नाता प्रमाणित हुने कागजातसमेत पेस गर्नुपर्नेछ ।

नोभेम्बर १५ मा आवेदन बन्द भएपछि करिब एक सातासम्म प्राप्त आवेदनमाथि अध्ययन गरी छनोट प्रक्रिया अघि बढाइनेछ । एनआरएनए आइसिसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानको संयोजकत्वमा गठित ११ सदस्यीय अध्ययन समितिले आवेदनको अध्ययन गर्नेछ । समितिले तोकिएका मापदण्डका आधारमा कतारमा लामो समयदेखि न्यून तलबमा कार्यरत श्रमिक तथा उनीहरूको पारिवारिक अवस्थालाई अध्ययन गरी १० जना श्रमिकका परिवार छनोट गर्नेछ । कार्यक्रममा महिला तथा पुरुष दुवै श्रमिकले आवेदन दिन सक्नेछन् ।

अभियानबारे शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले ‘स्नेह मिलन’लाई केवल भ्रमण कार्यक्रमका रूपमा नभई लामो समयदेखि परिवारबाट टाढा रहेका श्रमिकको जीवनमा भावनात्मक खुसी जोड्ने प्रयासका रूपमा अघि बढाइएको बताए । वर्षौंदेखि कतारमा श्रम गरिरहेका तर आर्थिक अवस्थाका कारण परिवारलाई कतार ल्याउन नसकेका श्रमिकका लागि आफ्नै परिवारसँग केही दिन भए पनि सँगै बिताउने अवसर प्रदान गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो l

आवेदन फाराममा तोकिएका विवरण र आवश्यक कागजात पूरा गरी आवेदन दिनुपर्नेछ । आयोजकले छनोट प्रक्रियामा पारदर्शिता कायम गर्दै तोकिएका मापदण्डका आधारमा योग्य आवेदक छनोट गरिने अध्ययन समितिका संयोजक मुक्तदा मुसलमानले प्रतिबद्धता व्यक्त गरे l कतारको रोजगारीले परिवारसँगको दूरी बढाइरहेका बेला ‘स्नेह मिलन’ले कुनै श्रमिकका लागि वर्षौंदेखि मनमा मात्रै सजिएको ‘परिवारलाई एक पटक कतार घुमाउने’ सपना पूरा गर्ने अवसर बन्ने अपेक्षा गरिएको छ ।

अभियान सञ्चालनका लागि एनसिसी कतार, भिक्टोरिया गोल्ड एन्ड डायमन्ड्स र क्यूएफएम रेडियो नेटवर्कबिच त्रिपक्षीय सम्झौता भइसकेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा क्यूएफएमका प्रमुख कार्यकारी अधिकृत अनवर हुसेन, भिक्टोरिया गोल्ड एन्ड डायमन्ड्सका सञ्चालक मोहम्मद फैसल, पत्रकारहरू तथा सामाजिक अगुवा लगायतहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर