२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो

Nada
२०८३ भदौ ६ गते १७:५१
Shares
नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो

काठमाडौं : नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

ncell

आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपाङ्ग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् ।

प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् । त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायतका सामग्री प्रदर्शन हुनेछन् । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ ।

नाडा अटो शोको यस संस्करणलाई नाडाको ५०औँ स्थापना वर्षको अवसरमा स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गर्न लागिएको हो । त्यसैले यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

नाडा अटो शोमा नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसरसमेत उपलब्ध हुनेछ ।

नाडाका अनुसार अटो शोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो अवस्था, बजारमा भित्रिएका नयाँ प्रविधि र भविष्यको गतिशीलताको दिशालाई एउटै थलोबाट बुझ्ने अवसर प्रदान गर्नेछ ।

नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३० सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ। आयोजकले यसलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रकै प्रमुख व्यावसायिक मञ्चका रूपमा प्रस्तुत गरेको छ।

 

ताजा खबर

सम्बन्धित खबर