आइतबार सम्पन्न आमनिर्वाचनको प्रारम्भिक नतिजाले केही महत्वपूर्ण सन्देश दिएको छ । भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अनपेक्षित मत पाउँदा प्रमुख दलहरुलाई ठूलो धक्का लागेको छ । टेलिभिजन प्रस्तोता छोडेर राजनीतिमा लागेका लामिछाने नेतृत्वको पार्टीले सोमबार साँझसम्म प्रत्यक्षतर्फ जित निकाल्न सकेको छैन । तर अग्रता लिइरहेका क्षेत्र र गणना भइरहेको क्षेत्रहरुको मत प्रवृत्ति हेर्दा ठूलो दलहरुलाई धक्का लाग्नेगरी यो पार्टीले जनमत पाएको छ । घण्टी चिन्ह लिएर चुनावी मैदानमा होमिएको रास्वपाको मुख्यगरी राजधानी उपत्यकामा बलियो प्रभाव देखिएको छ । काठमाडौं–२, ६, ७ र ८ मा, ललितपुर–३ मा मुख्य प्रतिस्पर्धी शक्तिका रुपमा मत प्राप्त पाइरहेको छ । देशका अन्य क्षेत्रमा यो पार्टीले राम्रै मत पाइरहेको छ ।
प्रत्यक्षतर्फ पाइरहेको मत प्रवृत्तिलाई विश्लेषण गर्दा समानुपातिकतर्फ पनि असाध्यै राम्रो मत आउन सक्छ । त्यसले थ्रेसहोल्ड कटाउने मात्रै नभएर मात्रै सिट संख्या जित्न सक्छ । प्रत्यक्ष र समानुपातिक गरी यो शक्ति राष्ट्रिय दल बनिरहँदा सिट संख्या घट्ने भनेको ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतकै हो । किनकि प्रतिनिधिसभाका लागि सीमित सिटमा (प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११०) चुनाव हुने हो । त्यसैले ठूला दलहरुलाई खुम्च्याउँदै यो पार्टीले आफ्नो राजनीतिक हैसियत स्थापित गर्नेछ । सँगै, यसपटक नयाँ दल हाम्रो नेपाली पार्टीले पनि राम्रै मत पाएको छ । पुरानै दल राप्रपाले पनि उत्साहप्रद मत पाइरहेको छ ।
यदि प्रारम्भिक नतिजा नबदलिने हो भने कुनैपनि दलले एकल बहुमत पाउने छैन । कांग्रेस र एमाले मध्ये एउटा दल नै ठूलो भएपनि सरकार बनाउन आवश्यक सिट संख्या १३८ कटाउने कुनै गञ्जायस देखिदैन । त्यसको मुल कारण नयाँ दल र स्वतन्त्रहरुप्रति मतदातामा देखिएको रुझान हो । यो रुझानको राजनीतिक अर्थ भने महत्वपूर्ण छ । किनकि लोकतन्त्रमा आवधिक निर्वाचनलाई मतदाताले नेताहरुलाई मूल्यांकन गर्ने प्रक्रियाका रुपमा लिने गरिन्छ । त्यसको अर्थ यसअघि मत पाएका नेताहरुले जनभावना बमोजिम काम गर्न नसकेकै कारणले जनादेश अप्रत्यासित आएको हो । तर अझैपनि ठूला दलहरुलाई अवसर बाँकी छ । यदि आफूलाई सच्याउने हो भने अर्को निर्वाचनमा फेरि मत पाउने नै छन् । विगतमा बलिदानीपूर्ण संघर्ष गरेको शक्तिले नै अर्को निर्वाचनबाट मुलुकको नेतृत्व गर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies