
काठमाडौं : चियाका लागि नेपाल आत्मनिर्भर मुलुक हो । चिया सहकारी खोलेर व्यावसायिक विकासमा लागेका किसानका लागि चिया उद्योग रोजगारीसँगै आम्दानीको बलियो माध्याम बन्दै गएको छ । तर, नेपाली चियाको बजार अभावले चिया व्यवसायी चिन्तित छन् ।
२०५१ सालबाट प्रारम्भ भएको चिया सहकारी अभियान ६०को दशकपछि धमाधम दर्ता हुने र सहकारीमार्फत व्यावसायिक बन्दै गए । त्यसपश्चात् किसानको बगैंचादेखि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने नेपाली चियाको यात्रामा सहकारी महत्त्वपूर्ण आधार बन्न पुग्यो ।
देशभर करिब १८ देखि २० हजार किसानले सहकारीमार्फत वा निजी लगानीमा व्यावसायिक चिया खेती गर्दै आएका छन् । अहिले १ सय १० चिया सहकारी सञ्चालनमा छन् भने कम्तीमा साढे ९ हजार किसान सदस्य छन् । साना किसानको छरिएको उत्पादनलाई एउटै प्रणालीमा ल्याउन सहकारी संरचना चियाको क्षेत्रमा महत्त्वपूर्ण माध्यम बनेको चिया सहकारी केन्द्रीय संघका महासचिव नवीन राईले बताए । ‘नेपालमा चियाको सम्भावना राम्रो छ,’ उनले मध्यान्हसँग भने, ‘चिया सहकारीले किसानलाई संगठित गरेर उत्पादनको आधार तयार गरिसकेका छन् । अब किसानले कच्चा पत्ती बेच्ने सहकारीबाट आफ्नै ब्रान्डको चिया बेच्ने उद्यमतर्फ फड्को मार्नुपर्नेछ ।’ सरकारले अनुदानभन्दा पूर्वाधार र बजारमा लगानी गर्ने, गैरसरकारी संस्थाले परियोजनामुखी सहयोगभन्दा दीर्घकालीन व्यावसायिक क्षमता विकासमा जोड दिनुपर्ने राईले बताए ।
‘अहिले १ सय १० चिया सहकारी सञ्चालनमा छन्,’ संघका महासचिव राईले भने, ‘ती सहकारीमा कम्तीमा ९ हजार किसान सदस्यकै रूपमा जेडिएका छन् । सहकारीमा आबद्ध किसानले उत्पादन गरेको चिया विश्वबजारसम्म आकिर्षित हुन थालेको छ ।’ सहकारीको कारोबार केवल हरियो पत्ती बिक्रीमा सीमित नराखी प्रशोधन, प्याकेजिङ र ब्रान्डिङतर्फ केन्द्रित हुनुपर्नेमा उनको जोड छ । चियाको उत्पादन, प्रशोधन, ब्रान्डिङ र निर्यातमा सहकारीको भूमिका बढ्दै जाँदा बजार विविधीकरण, गुणस्तर प्रमाणीकरण र सरकारी सहयोग नभएको राईले दाबी गरे ।
२०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित पाँचवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरेका थिए । किसान तहमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ जारी भएसँगै चिया उत्पादनका क्षेत्रमा व्यावसायिक विकासको प्रारम्भ भयो । ०४६–४७ सालदेखि ५०–५२ सालबाट विस्तारै अपडेट हुँदै गएको चिया उद्योग अहिले आर्थिक सम्भावना र रोजगारीको बलियो आधार बनेको छ । नेपालको तराई र पडाहका विभिन्न क्षेत्रमा चियाको व्यावसायिक खेती विस्तार हुँदै गएको छ ।
भारतीय बजारको भर
नेपालमा उत्पादित ७० प्रतिशत चिया भारतीय बजारमा निर्यात हुन्छ । यहाँ वार्षिक ३ करोड किलो अर्थात् (तीन हजार मेट्रिकटन) तयारी चिया उत्पादन हुने गरेको छ । नेपालीहरू चियाका पारखी नभएका कारण गाउँ घरमा चिया भन्दा मही, दही र दूध बढी खपत हुने गरेको पाइन्छ । करिब १ करोड केजी चिया पनि नेपालमा खपत हुँदैन । बाँकी चिया भारतसहित तेस्रो मुलुकमा निर्यात हुने गरेको छ । यद्यपि करिब ७० प्रतिशत नेपाली चियाको बजार भारत नै हो । भारतले बेलाबखत चिया आयातामा रोक लगाएका कारण चिया व्यवसायी मारमा छन् ।
उक्त समस्याबाट मुक्त हुन नेपाल सरकारले तेस्रो मुलुकमा निर्यातको वातावरण बनाउनुपर्ने व्यवसायी तथा चिया सहकारी अभियान्ताहरूको माग छ । युरोप, अमेरिका, क्यानडासहितका तेस्रो मुलुकमा करिब १० देखि १५ प्रतिशत मात्रै चिया निर्यात हुने गरेको छ । ‘मुख्य बजारमा इन्ट्री भएन भने त यहाँ गाह्रो भइहाल्छ,’ सहकारी संघका महासचिव राई भन्छन्, ‘भारतले नेपाली चिया निर्यातमा रोक लगाउँदा नेपाली चिया किसानहरू मारमा पर्ने गरेका छन् । १ केजी तयारी चिया बन्नलाई करिब ५ केजी हरियो पत्ती आवश्यक पर्दछ ।’ निर्यात रोकिँदा सिधै किसानको मूल्य रोक्ने उनको भनाइ छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र व्यवसायीहरूको तथ्यांकअनुसार नेपालमा वार्षिक प्रतिव्यक्ति ३५० ग्राम चिया खपत हुन्छ । नेपाली बजारमा सबैभन्दा बढी सिटिसी चिया खपत हुने गरेको छ । सिटिसी चियामा आत्मनिर्भर रहेको नेपालमा उत्पादित चियाको करिब ५० प्रतिशत स्वदेशभित्रै खपत हुने तथ्यांकमा उल्लेख छ । त्यस्तै, अर्थोडक्स र ग्रिन टी नेपालको पहाडी भेगमा उत्पादन हुने उच्च गुणस्तरको चिया हो । जसको ठुलो हिस्सा (करिब ९५ प्रतिशतभन्दा बढी) विदेश निर्यात हुने गर्दछ । नेपालका सहरी क्षेत्र र पर्यटकीय स्थलहरूमा यसको आन्तरिक व्यापार भने राम्रो देखिएको छ । सिटिसी चियाको आधा उत्पादन डोमेस्टिक खरिद हुने गरेको र आधा भारतीय बजारका लागि निर्यात हुने गरेको व्यवसायीहरूको दाबी छ ।
वार्षिक ३ करोड किलो उत्पादन
विश्वका करिब ३५–३६ वटा देशले व्यावसायिक चिया उत्पादन गर्दै आएका छन् । त्यसमध्ये नेपाल १८औं नम्बरमा पर्दछ । नेपालको उत्पादन अन्य देशको तुलनामा निकै कम अर्थात् विश्व बजारमा उत्पादन परिमाणका हिसाबले ०.१ प्रतिशत मात्रै छ । तराईमा उत्पादन हुने सिटिसी र पहाडमा उत्पादन हुन अर्थोडोक्स चियालाई जोडेर नेपालमा वार्षिक करिब ३ करोड तयारी चिया उत्पादन हुने गरेको चिया सहकारी केन्द्रीय संघको तथ्यांक छ । सहकारीहरू मिलेर इलाम झापालगायत चियाको पकेट क्षत्रमा उद्योग खोल्ने कामसमेत भएका छन् । झापामा सिटिसीको चारवटा उद्योगबाट प्रशोधनको काम भइरहेको छ । अरू जिल्लामासमेत गर्दा २७–२८ वटा उद्योग सहकारीले सञ्चालन गरेको चिया सहकारी केन्द्रीय संघले जनाएको छ ।
चिया उत्पादनकै लागि खोलिएका ठुला–साना निजी कम्पनीसमेत सक्रिय छन् । प्रारम्भमा कतिपय त्यस्ता कम्पनीले सरकारी जमिन छुट लिएर कम्पनी दर्ता गरेका थिए । सरकारले समेत आफ्नै नाममा सातवटा नेपाल टि कर्पोरेसन कम्पनी चलाएको थियो । अहिले ती कम्पनीहरू निजीकरण गरिएको छ । देशभर झन्डै २२–२५ हजार हेक्टर जग्गामा चिया खेती भइरहेको छ । व्यवसायिक रूपमा १२÷१३ वटा जिल्लामा चिया उत्पादन हुँदै आएको महासचिव राईले बताए । ‘पछिल्लोपटक अन्य ठाउँमा समेत विस्तार हुँदै छ,’ उनले भने, ‘अहिले करिब ३१ वटा जिल्लामा चिया खेतीको सुरुवात तथा विस्तार भइरहेको छ ।’ विभिन्न १७ वटा जिल्लामा चिया क्षेत्रमा काम गर्ने सहकारी स्थापना भएका छन् । देशभर करिब १७० चिया स्टेट र साना–ठुला गरी करिब १२० प्रशोधन केन्द्र संलग्न छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालले वार्षिक करिब २ करोड किलो चिया निर्यात गरी ५ अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गर्ने गरेको छ ।
वैकल्पिक बजारको खोजी
सन् २०२६मा भारतले नेपाली चियाको आयातमा गुणस्तर परीक्षणसम्बन्धी प्रक्रिया कडा बनायो । यसले नेपाली चियाको भारतीय बजार निर्भरता कति जोखिमपूर्ण छ भन्ने कुरा फेरि देखाएको छ । जुन २०२६मा भारतीय पक्षको परीक्षण प्रक्रियाका कारण नेपाली चिया निर्यातमा पटक–पटक अवरोध आएको थियो ।
त्यस अवधिमा इलाम र झापाका ८३ चिया कारखाना बन्द गर्नुपरेको र ठुलो परिमाणमा चिया गोदाममा रोकिएको उद्योगीहरूले बताएका थिए । पछि भारतले घरेलु उपभोगका लागि आयात हुने चियामा अनिवार्य परीक्षणको व्यवस्था केही सहज बनायो । तर, बारम्बार बदलिने परीक्षण प्रक्रिया र प्रमाणपत्रको विषयले नेपाली चिया उद्योगमा बजार जोखिम कति ठुलो छ भन्ने देखाएको छ । यस घटनाले सहकारीलाई पनि प्रत्यक्ष असर पार्छ । किसानले हरियो पत्ती उत्पादन गर्छन्, सहकारीले संकलन गर्छ, उद्योगले प्रशोधन गर्छ र निर्यातकर्ता बजारमा पठाउँछ । निर्यात रोकिँदा यसको असर अन्ततः किसानको भुक्तानीसम्म पुग्छ ।
पुरानो राष्ट्रिय चिया निर्यात रणनीतिले नेपालले ३५ भन्दा बढी देशमा चिया निर्यात गर्ने गरेको र जर्मनी, चेक गणतन्त्र, रुस, चीन, फ्रान्स, अमेरिका, जापान, क्यानडा र युक्रेनजस्ता बजारलाई सम्भावित गन्तव्यका रूपमा देखाएको थियो । यी देशहरू नेपाली चियाको वैकल्पिक बजारका रूपमा विकास गर्न सरकारले आवश्यक समन्वयमा सहयोग गर्नुपर्ने चिया उद्यमी तथा व्यवसायीको माग छ ।
उत्पादनको ट्रेसिबिलिटी, अर्गानिक प्रमाणीकरण, खाद्य सुरक्षा, कीटनाशक अवशेषको परीक्षण, अन्य गुणस्तर प्रणाली, निरन्तर गुणस्तर र आकर्षक प्याकेजिङलाई व्यवस्थित गर्न सके विश्वबजारमा नेपाली चिया निर्यातमा बाटो खुल्ने विज्ञहरू बताउँछन् । नेपालको राष्ट्रिय चिया निर्यात रणनीतिले पनि अन्तर्राष्ट्रिय बजारका लागि प्रमाणीकरण, ट्रेसिबिलिटी र कीटनाशक अवशेष नियन्त्रणलाई महत्त्वपूर्ण मानेको छ ।