
दोहा, कतार : नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले कतारमा पहिलो पटक रोपाइँ जात्रा तथा तिज विशेष कार्यक्रम–२०२६ आयोजना हुने भएको छ । पाल्पाली सेवा समाज दोहा–कतारको आयोजनामा आगामी शुक्रबार प्लाजा मलस्थित मिस्क्याफे रेस्टुरेन्टमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम मध्यान्ह १२:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तालाई समेत आफ्नो संस्कृति र चाडपर्वसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष विकास गैरे (बिक्की) ले जानकारी दिए । कार्यक्रममा परम्परागत रोपाइँ जात्रा, तिज विशेष सांस्कृतिक कार्यक्रम, लाखे नाच तथा नेपाली मौलिक परिकारसहितका विविध प्रस्तुति रहनेछन् । कार्यक्रममा नेपाल मगर सांस्कृतिक परिवार कतारको सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
स्थापनाकालदेखि नै समाजले सामाजिक सेवाका साथै नेपाली कला, संस्कृति, भाषा, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको समाजका महासचिव हिरालाल बस्यालले कतारमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै कार्यक्रमको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । आयोजकले कार्यक्रमलाई नेपाली समुदायबिच सांस्कृतिक एकता, मौलिक परम्पराको संरक्षण र नयाँ पुस्तामा नेपाली संस्कृतिप्रतिको अपनत्व बढाउने अवसरका रूपमा लिएको जनाएको छ ।