२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

प्रवासमा तिहारको रौनक : साउदीका विभिन्न सहरमा देउसी-भैलो

Nada
अन्जान गुभाजु
२०८३ कार्तिक २८ गते १९:५९
Shares
प्रवासमा तिहारको रौनक : साउदीका विभिन्न सहरमा देउसी-भैलो

दम्माम,साउदी : आफ्नो जन्मभूमि, परिवार र आफन्तजनबाट हजारौँ किलोमिटर टाढा रहेर पनि नेपाली मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै साउदी अरेबियामा रहेका नेपालीहरूले तिहार पर्व हर्षोल्लासका साथ मनाएका छन् । तिहारको अवसरमा साउदीका विभिन्न सहरमा देउसी–भैलो, शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

यसैक्रममा नेपाल मगर संघ साउदी अरबको आयोजनामा शुक्रबार साउदीको पूर्वी क्षेत्र दम्मामस्थित एभरेस्ट नेपाली रेस्टुरेन्टमा तिहार विशेष देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रवासमा नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा पूर्वी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, मगर संघका सदस्य तथा नेपाली दाजुभाइहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली मौलिक परिकार सेलरोटीका साथै देउसी–भैलो प्रस्तुत गरी सहभागीहरूले परदेशमै तिहारको खुसी साटासाट गरेका थिए । फरक संस्कृति र परम्परा भएको मुलुकमा रहेर पनि नेपाली चाडपर्वलाई सामूहिक रूपमा मनाउन पाउँदा घरदेशको न्यास्रो मेटिएको नेपाल मगर संघ साउदी अरबका केबी काउचा मगरले बताए ।

No description available.

उनका अनुसार यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक पहिचान र संस्कृतिसँग जोड्नुका साथै नयाँ पुस्तामा नेपाली परम्परा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।

यस वर्षको भाइटीकामा पनि साउदी अरबका विभिन्न सहरमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो अनुकूल समय मिलाएर टीका लगाएका थिए । सप्ताहन्तको बिदालाई सदुपयोग गर्दै जेद्दा, अलकासिम, दम्माम र रियादलगायतका सहरमा शुक्रबार तिहार विशेष देउसी–भैलो कार्यक्रम आयोजना गरिएको थियो । रियादमा प्रवासी नेपाली समन्वय बिभागको आयोजनामा समेत तिहार विशेष देउसी–भैलो कार्यक्रम सम्पन्न भएको थियो ।

रोजगारीको सिलसिलामा परदेशमा रहे पनि नेपालीहरू आफ्नो मौलिक चाडपर्व, संस्कृति र परम्परालाई जोगाउन संगठित हुँदै आएका छन् । यस्ता सांस्कृतिक गतिविधिले प्रवासी नेपालीबीच आत्मीयता, सामाजिक एकता र नेपाली पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर