
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)ले उद्यमी तथा व्यवसायीहरूलाई लक्षित गर्दै नयाँ साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले उद्यमीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अत्यन्तै आकर्षक ब्याजदरमा यो नयाँ कर्जा सुविधा ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५ प्रतिशतको आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । यो ब्याजदर कर्जा प्रवाह भएको एक वर्षसम्म स्थिर रहनेछ । यसले गर्दा व्यवसायीहरूलाई ब्याजदरमा आउने उतारचढावबाट ढुक्क हुन मद्दत पुग्नेछ ।
बैंकले “मेहेनती हातलाई हाम्रो साथ” भन्ने मूल नाराका साथ यो योजना सञ्चालन गरिरहेको छ । उद्यमीहरूको व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको मुख्य लक्ष्य रहेको छ ।
यस योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालू पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभर रहेका आफ्ना २५१ वटै शाखाहरू मार्फत एसएमई कर्जा सम्बन्धी सेवा तथा जानकारीहरू उपलब्ध गराउँदै आएको छ । मेहेनती उद्यमी तथा व्यवसायीहरूसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।