काठमाडौं : आरक्षित शेयरमा आवेदन गर्न चाहने वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई बुधबारदेखि ‘सिआरएन’ नम्बर वितरण गरिने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार बुधबारबाट वैदेशिक रोजगारमा रहेका कामदारहरुले सिआरएन नम्बर परिवर्तन गर्न सक्ने छन् ।
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले वैदेशिक रोजगारीमा रहेकाहरुले आफूले खाता खोलेको बैंकमार्फत सिआरएन नम्बर परिवर्तन गर्न सक्नेछन् । त्यसैगरी नयाँ डिम्याट खाता खोल्ने कामदारहरूले आफ्नो नयाँ डिम्याट खातामा बैंक एकाउन्ट जोड्दा रेमिटेन्स खाता नम्बर पनि जोडेर सिआरएन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि खाता खोलेकाहरूले खातालाई परिवर्तन गरी रेमिट्यान्स खातामा जोडिदिन निवेदन गर्नुपर्ने छ । बैंकले रेमिट्यान्स खाताका बारेमा यकिन गरी सिआरएन नम्बर दिने व्यवस्था छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दा प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात् कुनैपनि कम्पनीको आईपीओ सार्वजनिक गर्दा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्तिमा १० प्रतिशत छुट्याउनु पर्ने व्यवस्था गरेका थिए । विदेशमा रहेका भएपनि श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा अवैधानिक भएका कामदारहरूलाई आरक्षणबाट वञ्चित गरिएको छ ।
केही दिनअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दर्ता तथा निष्काशन (छौठौं संशोधन) नियमावली, २०७९ जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई सुविधा दिने व्यवस्था गरेको हो । यो व्यवस्थाले कामदारको आर्जन पूँजी निर्माणमा आई उनीहरू स्वदेश फर्केपछि लाभ पाउने अपेक्षा गरिएको छ ।
वैदेशिक रोजगारीमा गएका कामदारले तोकिएको आईपीओ नभरेमा छुट्याइएको शेयर सर्वसाधारणका लागि बिक्री गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।
हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया, खाडी मुलुक तथा मलेसिया गएका अधिकांश कामदारहरुले डिम्याट खाता खोलेका कारणले उनीहरु प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात् कम्पनीको आईपीओतर्फ सहजरूपमा आकर्षित हुने आंकलन गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको पूँजी परिचालन गर्न यसअघि नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै आए पनि प्रचारप्रसारको अभावमा वैदेशिक रोजगारमा रहेका कामदार त्यसतर्फ भने आकर्षित हुन सकेका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies