-उपेन्द्र झा
अहिले मतदानको नतिजा आफ्नो पक्षमा आउने आकंलन नयाँ शक्तिहरुले गरिरहेका छन् । चुनावी नतिजाको सुरुवातले पनि सोही दिशालाई इंगित गरेको छ । चुनावको नतिजाको रूझानले जनता परिवर्तनकै पक्षमा रहेको पनि स्पष्ट गर्दछ । नतिजाले विशेषगरी मध्यमवर्गले ठूलो परिवर्तन खोजिरहेका देखाउँछ ।
सबै राजनीतिक दलहरुका भ्रष्ट आचरणका कारण देशमा आएको बेथितिले हरेक क्षेत्रलाई पंगु बनाएको तीन दशक भयो । नेपालमा विधीको शासन अब कल्पनामा मात्र सीमित छ । सरकारमा दलीय वर्चस्व र कमर्चारीहरुमा रहेको दलीय प्रभावले हरेक क्षेत्रमा मनपरी व्याप्त छ । खुलेआम लुट्ने साम्राज्य व्याप्त छ । लुटिने जनताको अवस्था अत्यन्त दयनीय छ । कतिपय बेरोजगार युवाहरुको विदेश पलायन भइरहेको छ भने विदेश जान नपाउने युवाहरु अवसर नपाएर अपराधको दुनियाँमा जान बाध्य भएका छन् । बेथितीका कारण समाजमा यसरी दिनानुदिन विकसित भइरहेको हिंसा, घरेलु हिंसा, चोरी, डकैती आदि असमाजिक तत्वहरुबाट आक्रान्त नेपाली जनता आज सुधार होला, भोली सुधार होला ? त्यो प्रतीक्षामा ३२ वर्ष बितायो । एकातिर अवसरबिहीनता अर्कोतर्फ हरेक वस्तुमा भईरहेको मूल्यवृिद्ध जनताको आत्महत्याका कारण बनिरहेको छ । आवश्यकता पूरा गर्न समाजमा ठग्ने प्रवृति बढेको छ । मृत्युतर्फ अग्रसर भईरहेको सामाजिक जीवनलाई बाँच्ने विकल्प समाप्त भइरहेको अवस्थामा दलीय प्रभावको माला झुण्ड्याएर कुनै अर्थ छैन भन्ने आम धारणा बनेको छ । यसका विपरित साना ठूला राजनीतिक दलहरुको भ्रष्टाचार गर्ने एकमात्र एजेण्डा रहेकोले उनको तथा उनका आसेपासे हजारौं कार्यकताहरु राज्य सुविधामा लिप्त रहेका कारण धरातलीय समस्या यिनको दृष्टिबाट ओझेल परेको छ । जनताको दयनीय जीवन यिनलाई परिलक्षित भइरहेको छैन ।
राजनीतिमा यिनको एकाधिकार र त्यसबाट प्राप्त शान शौकत तथा आफ्नो चाकरी गर्नेहरुको ठूलो जमात रहेको अवस्थामा शासकीय मनोवृित, अहंकार, दुष्प्रवृतिको जन्म हुनु स्वाभाविक हो । यो प्रवृत्ति सानो ठूलो सबै राजनीतिक दलहरुमा रहेकोले देशमा अराजक अवस्था विकसित भएको हो । “काले काले मिलेर खाउँ भाले” भन्ने उखानलाई चरितार्थ गर्न सबै प्रयासरत छन् । जनताको समस्या उठाउने कसले ? देशको अर्थनीति र यसको विकासबारे सकारात्मक पहल गर्ने कसले ?
आज दलीय कार्यकर्ता आफ्नो स्वार्थपूर्ति गर्न पार्टी नेतृत्वको गुलामी गर्न तल्लीन छन् । उनीहरुलाई देशको अवस्था, जनताको समस्या तथा राजनीतिसँग कुनै मतलब हुँदैन । पैसा, प्रलोभन, डर, त्रास, धम्कीबाट जनताको मत संग्रह गरी पार्टीलाई जिताउने अनुशासित सिपाहीको भरमा राजनीतिक दलहरु चलिरहेका हुन्छन् । मत आफ्नो पक्षमा ल्याउन कार्यकर्ता असफल रह्यो भने राज्यशक्ति प्रयोग गरि मतदानको नतिजा आफ्नो पक्षमा पार्ने ताकत त छँदैछ ।
जे–जस्तो चुनावी नतिजा आएको छ, यस्तो अवस्थामा पनि शीर्ष नेताहरु आफ्नो जीतमा ढुक्क बसेका छन् । लामो समयसम्म देश यथास्थितिमा रहेकोप्रति किञ्चित पनि पछुतो देखिन्नन् । देशको बेथितिबाट उत्पन्न समस्याहरुबाट जुझ्दै, यी राजनीतिक दलहरुबाट निराश बनेका जनता आफ्नै धरातलबाट परिवर्तन खोज्न बाध्य बनेका छन् । दलका शीर्ष नेताहरुको विरुद्ध उम्मेदवारी दिएका सुयोग्य युवाहरुको जोश र जाँगरबाट आम जनतामा उत्साह बढेको देख्न सकिन्छ । परिणामलाई हेर्दा, जनतामा परिवर्तनप्रति ठूलो उत्साह बढेको छ ।
राजनीतिक दलहरुको खस्किएको जनधरातललाई लोभ्याउन मुलधारका कुनै पनि दलहरु गतिलो कार्यक्रम ल्याउन सकेनन् । एमालेले आफ्नो असफलतालाई छोप्ने मात्रै काम ग¥यो भने कांग्रेसले एमालेलाई सफलताको डंका पिट्यो । माओवादी केन्द्रको त के कुरा गर्ने ? ऊ आफैं सैद्धान्तिक विचलनले पूर्णं आक्रान्त भएको छ ।
तीन वटा मुख्य दलको सरकार व्यवहार प्रदर्शनमा शून्य रहेकोले जनतामा नैराश्यता जन्मिनु पनि स्वाभाविक थियो । लोकतन्त्र अभ्यासमा लामो समय बिताएको कांग्रेस स्वयम्ले लोकतान्त्रिक आचरण बनाउन सकेको छैन । गुट उपगुटमा विभक्त कांग्रेस देशलाई विकासको दिशा दिन सकेन । भ्रष्ट आचरण र विकास निर्माणको रत्तिभर सोच नराख्ने कांग्रेसलाई पनि देशको दयनीय अवस्थाप्रति आत्मालोचना छैन । कुनै पछुतो देखिन्न । जसरी पनि राज्यसत्तामा टाँसी रहने तथा राज्य सुविधा लिइरहने बाहेक अन्य कुनै सोंच देखिन्न । एमालेको अवस्था थप बिजोग छ । नेतृत्वको निरंकुशतावादी प्रवृत्ति र व्यवहारले सिंगो पार्टी जकडिएको छ । जसबाट जनताले अपेक्षा गर्ने धेरै अवस्था छैन । माओवादी कसलाई सिध्याउने वा नजिक बन्ने भन्ने बाहानामा आफैं सकिँदै गएको छ । नतिजाले पनि सोही विषयलाई इंगित गर्दछ । मधेशवादी दलहरुको अवस्था त झन् विजोग देखियो । जसपा र लोसपा आफ्नो अस्तित्व जोगाउनै सकसमा देखिए । कांग्रेस र एमालेसँग जोडिएर अस्तित्व खोज्नुपर्ने बाध्यतालाई जनताले कसरी बुझ्ने ? यस्तो अवस्थामा नयाँ शक्तिको उदय स्वभाविक थियो । जुन चुनावी परिणामको रुझानले देखाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies