काठमाडौं : मधेश प्रदेशको प्रदेश सभाको समानुपातिकतर्फ प्रारम्भिक मतगणनामा सिके राउत नेतृत्वको जनमत पार्टीले पहिलो स्थानमा छ । नेपाली कांग्रेसले जनमत पार्टीलाई पच्छ्याइरहँदा तेस्रोमा नेकपा एमाले र चौथोमा नेकपा माओवादी केन्द्र छ ।
०६२/०६३ को मधेस आन्दोलनको नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) पाँचौं स्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशमा निकै पछाडि छ । प्रारम्भिक मतपरिणामले राउत नेतृत्वको पार्टीले मधेशमा अरू मधेसवादी दललाई पछि पार्ने देखिन्छ । जनमत पार्टीको प्रतिस्पर्धा कांग्रेससँग छ ।
प्रत्यक्ष निर्वाचनमा पनि सप्तरी क्षेत्र नं २ मा राउत मात्रै अगाडि छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उठ्ने गरेको सप्तरी–२ बाटै उठेका राउत जित्ने निश्चित जस्तै देखिएको छ । अर्थात, उपेन्द्रलाई राउतले हराउँदैछन् । मधेसमा यादवलाई राउतले हराउनुले ठूलो अर्थ राख्छ । किनभने, कुनै बेला यादवलाई मधेशको नेता मानिन्थ्यो । ०६२/०६३ पछि भएको मधेस आन्दोलनबाट उदाएका यादव मधेसको पहिचान दिलाउने नेताका रूपमा परिचित छन् । उनै मधेसको मुख्य शक्तिलाई नै राउतले ठूलो धक्का दिँदैछन् । प्रत्यक्ष र समानुपातिक दुबैतर्फ यादवलाई हराएर उनै यादवको पहिचानसमेत राउतले खोस्दैछन् । किनकी राउतले परम्परागत रूपमा जसपालाई जाने दलित समुदाय र विपन्न वर्गको मत नै मुख्य रूपमा तानेका छन् । प्रारम्भिक मतगणनामा लोसपाको समानुपातिक तर्फ नगन्य मत आएको छ नै । प्रत्यक्षतर्फ पनि स्वमं महन्थ ठाकुर अप्ठ्यारोमा छ । अर्थात, मधेश प्रदेशमा सिके राउत जबरजस्त स्थापित हुँदैछन् ।
मधेशमा सिके राउत नेतृत्वको जनमत पार्टी उदाउँदा पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी उस्तै गरी जबरजस्त रुपमा उदाएको छ । विखण्डनको मुद्वा छाडेर शान्तिपूर्ण राजनीतिमा आएका राउत र रेशम चौधरीप्रतिको सहानुभुतिमा मतमा प्रकट भएको देखिन्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ कैलाली–३ मा गंगाराम चौधरी सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर विजयी भए । ६३ हजार ४ सय ४० मतमध्ये उनले २३ हजार १ सय २० मत पाए। निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए ।
कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले लगातार अग्रता लिइरहेकी छन् । उनको जित सुनिश्चित जस्तै छ । बर्दियाका २ क्षेत्रमा समेत नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।
उम्मेदवारी दर्ताका बेला रेशमले बर्दिया–२ मा उम्मेदवारी दिएका थिए । अदालतबाट दोषी ठहर भइसकेका रेशमको उम्मेदवार खारेज हुन सक्ने अनुमान गरेर उनले आफ्ना बुवालाई स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लगाएका थिए। नभन्दै उनको उम्मेदवारी खारेज भयो ।
अहिले उक्त क्षेत्रमा उनका बुवा लालवीर चौधरी जितको नजिक छ । यो पार्टीले लुम्बिनी प्रदेश सभाको एक र सुदुरपश्चिम प्रदेश सभाको एक क्षेत्रमा समेत अग्रता लिएको छ । उसले अहिलेसम्म समानुपातिकतर्फ पनि आठौं नम्बरको मत पाएको छ ।
प्रत्यक्षतर्फ जितले भने नागरिक उन्मुक्ति पार्टीको पश्चिम तराईमा नयाँ शक्तिको रूपमा उदय भएको छ । यो दललाई पूर्वदेखि पश्चिमसम्मका थारू समुदायका मतदाताले मत दिएका छन् ।
२०७४ को निर्वाचनमा तत्कालीन राजपाको तर्फबाट कैलाली क्षेत्र नं १मा रेशम चौधरीले जितेका थिए । २०७२ मा टीकापुर घटनामा दोषी ठहरिएका चौधरीले भूमिगत अवस्थामै निर्वाचन जितेका थिए । सांसदमा विजयी भइसकेपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका चौधरी अहिले ज्यान मुद्दामा जेलमा छन् । चौधरीकी श्रीमती रञ्जना श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो ।
झुठा मुद्दा लगाएर फसाइएको भन्दै चौधरी समुदायमा उनीप्रति ठूलो सहानुभूति देखिन्छ । थारू समुदायको बाहुल्य रहेको पश्चिम तराईका कैलाली, बर्दिया लगायतका क्षेत्रबाट यो पार्टीले समानुपातिकतर्फ राम्रो मत पाउने देखिन्छ ।
अर्थात, तराई मधेशमा शक्ति बदलिएको छ । नयाँ दलको उदय भएको छ । लामो समयसम्म मधेशलाई छुट्टै मुलुक बनाउने नारा दिएका राउतले सुशासन र किसानका समस्यालाई एजेण्डा बनाएपछि जनताले पतयाएका छन् । यो सँगै राजनीतिक शक्ति पनि आर्जन गरेको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत दुबै पार्टीले निर्वाचनबाट जे जति पूँजी हासिल गरेका छन्, त्यसलाई संगठित गरेर अगाडि बढे भने राजनीतिमा एउटा उदीयमान शक्तिका रूपमा लिन सकिन्छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies