
काठमाडौं : नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवार्ड्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ । ‘रेडबुल इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेकोले रेडबुल १३औं कृति अवार्ड्स २०८३ नामाकरण गरिएको छ । यस वर्षको आयोजनालाई नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिङ एसोसिएसन, एकोर्याब, र ब्रोडकास्टर्स फोरम पनि सहआयोजकका रूपमा छन् ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले इन्डोर्समेन्टसहित सम्बन्धन मान्यता प्रदान गरेका छन् । नेपाल विज्ञापन संघ नेपाल (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको हो । ‘कृति अवार्ड्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चारक्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने एजेन्सी, सिर्जनाकर्ता र ब्रान्डहरूलाई सम्मान गर्दै आएको छ । १३औं संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोको रूपमा पहिचान बनाएको छ ।
यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ भने यस वर्ष डिजिटल, इभेन्ट्स र इन्टेग्रेटेड गरी ३ वटा नयाँ क्षेत्रसहित २४ वटा नयाँ विधा समावेश गरिएको संघका महासचिव कृष्णप्रसाद घिमिरेले बताए ।
काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. विजय के.सी.को अध्यक्षतामा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र वरिष्ठ मार्केटिङविज्ञ रवीन्द्रमान श्रेष्ठ क्षेत्रगत विशेषज्ञहरू समावेश भएको जुरी गठन गरिएको छ, जसले विषयगत मूल्यांकनकर्ता मनोनयन गरी विजेताको चयन गर्नेछ । विज्ञापन संघ नेपाल (आन)का अनुसार यस वर्ष मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ ।
इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डले २०८० वैशाख १ गतेदेखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नेछन् । कृति अवार्ड्स आयोजनाको बारेमा घोषणा गर्दै आनका अध्यक्ष सुदीप थापाले यसपटक धेरै विधालाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिए । ‘कृति अवार्ड्सले सुरुवातदेखि नै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्धन गर्दै आएको छ । यसपटक यसलाई थप विधाहरूमा विस्तार गरिएको छ । यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ,’ उनले भने । कृति अवार्ड्सले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने र विज्ञापन बजारलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।