
काठमाडौं : नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो सो २०२६मा नयाँ विद्युतीय मोटरसाइकल आरभिएक्स सार्वजनिक गरेको छ । कम्पनीले यसलाई रिभोल्टको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र प्रविधियुक्त विद्युतीय बाइक भएको दाबी गरेको छ । नेपालमा विद्युतीय गतिशीलतालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ ल्याइएको आरभिएक्सको सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नाडा अटो सोस्थित रिभोल्ट पेभिलियन र काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप सोरुमबाट बाइकको बुकिङ र टेस्ट राइड गर्न सकिन्छ ।
आरभिएक्समा ४ किलोवाट क्षमताको मिड–ड्राइभ पिएमएसएम मोटर जडान गरिएको छ, जसले ५.३ किलोवाट पिक पावर र २३० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार बाइकले ३.९ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ भने ‘बुस्ट मोड’मा ९० किलोमिटर प्रतिघण्टासम्म दौडिन सक्षम छ । यसमा ३.२४ किलोवाट–आवर क्षमताको निकाल्न मिल्ने एनएमसी ब्याट्री जडान गरिएको छ । फास्ट चार्जरबाट ८० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यो बाइकले एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्मको आइडिसी रेन्ज दिने कम्पनीले जनाएको छ ।
आरभिएक्समा ३.५ इन्चको पिएमभिए डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ, हिल होल्ड असिस्ट, रिभर्स मोड र वाक असिस्टजस्ता स्मार्ट फिचर समावेश गरिएको छ । यो बाइक पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बाइक सार्वजनिकसँगै एमभी दुगड ग्रुप र रिभोल्ट मोटर्सले ‘नेपाल गर्छ रिभोल्ट’ नामक नयाँ ब्रान्ड अभियान पनि सुरु गरेका छन् । कम्पनीका अनुसार यो अभियान नयाँ पुस्ताका नेपाली राइडरको आत्मविश्वास, पहिचान र दिगो यात्राको सन्देशसँग जोडिएको छ ।
एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले भने, ‘नेपालमा सुरुवातदेखि नै रिभोल्टले पाएको प्रतिक्रिया निकै उत्साहजनक छ । नेपाली राइडरहरूका लागि विद्युतीय गतिशीलताको उत्कृष्ट प्रविधि ल्याइरहने हाम्रो प्रतिबद्धताको नतिजा आरभिएक्स हो । यो शक्तिशाली, स्मार्ट र हाम्रा युवा पुस्ताले रोज्ने राइडिङ शैलीअनुसार निर्माण गरिएको छ ।’ इन्धनको बढ्दो मूल्य र वातावरणीय चेतनाका बीच आरभिएक्सले कार्यक्षमता वा शैलीमा कुनै सम्झौता नगरी दिगो र किफायती विकल्प प्रदान गर्ने उनले बताए ।
यस्तै रतन इन्डिया इन्टरप्राइजेज लिमिटेडकी अध्यक्ष अञ्जली रतनले भनिन्, ‘नेपाल रिभोल्ट मोटर्सका लागि एक महत्त्वपूर्ण रणनीतिक बजार हो र आरभिएक्सले हाम्रो इन्जिनियरिङ र नवप्रवर्तनको उत्कृष्ट रूपलाई प्रतिनिधित्व गर्छ । यो नयाँ पुस्ता महत्त्वाकांक्षी र भविष्यप्रति आशावादी छ । उनीहरू प्रविधिले आफूलाई प्रेरित गरोस् र आफ्नो पहिचान झल्काओस् भन्ने चाहन्छन् । आरभिएक्सले यही भावनालाई आत्मसात् गरेको छ ।’ एमभी दुगड ग्रुपसँगको सहकार्यमा यसले नेपालमा पर्फर्मेन्स इलेक्ट्रिक बाइकको नयाँ मानक स्थापित गर्नेमा विश्वस्त रहेको उनले सुनाइन् ।
कम्पनीका अनुसार काठमाडौं, पोखरा, विराटनगर, बुटवल, वीरगन्ज, जनकपुर, नेपालगन्ज र धनगढीलगायत प्रमुख सहरमा रहेका एमभी दुगड ग्रुपका सोरुमबाट बाइकको बिक्री, डेलिभरी र सर्भिस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।