
काठमाडौं : भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोटका जल विद्युत् क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । जलविद्युत्को बढी सम्भावना र आयोजनाको क्षेत्रमा आएको बाढीले १४ हाइड्रोपावर कम्पनीलाई क्षति भएको छ । दुई जिल्ला सञ्चालनमा रहेका र निमार्णधीन आयोजनामा क्षति भएको हो । बाढीका कारण विद्युत् आयोजनाका बाँध, आयोजना, पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ भने अधिकांश आयोजनाको उत्पादन तथा प्रसारणसमेत प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढीका करिब ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको जनाएको छ । ९ वटा सञ्चालनमा आएका जलविद्युत् आयोजनबाट ३५४ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो भने निमार्णाधीन ४ वटा जलविद्युत् आयोजना ३९४ मेगावाट विद्युत् उत्पादन क्षमताका थिए ।
बाढीले सबैभन्दा धेरै रसुवा जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा क्षति भएको छ । रसुवामा सञ्चालनमा रहेका ५ वटा र निर्माणाधीन ३ वटा गरी ८ वटा आयोजनामा क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै, नुवाकोटका पनि ६ वटा आयोजनामा क्षति भएको छ । नुवाकोटमा सञ्चालनमा रहेका ४ वटा र निमार्णाधीन ३ वटा आयोजनमा क्षति भएको हो ।
प्राकृतिक विपद्बाट त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ । विशेषगरी नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको इप्पानले जनाएको छ । प्रारम्भिक विवरणअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति भएको छ । त्यसैगरी नुवाकोट जिल्लामा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा करिब ५२.६ मेगावाट क्षमताका दुई निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको हो । माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठुलो क्षति नपुगेका कतिपय आयोजनासमेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको छ ।
बाढीले विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी÷कामदार सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन रहेको त्रिशूली ३बी को साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, चिलिमे जलविद्युत् कम्पनीको चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्रवरपर रहेको १ जना, चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीबाट खटिई त्रिशूली जलविद्युत् कम्पनीबाट निर्माणाधीन त्रिशूली ३बी जलविद्युत् आयोजनाको साइटमा कार्यरत ११ जना सम्पर्कबाहिर रहेका छन् । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना, त्रिशूली ३ ए जलविद्युत् केन्द्रको पावर हाउसको मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । यस्तै, प्राधिकरणको त्रिशूली जलविद्युत् केन्द्र र देविघाट जलविद्युत् केन्द्रमा कार्यरत १÷१ जना कर्मचारी र रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्विचयार्डमा काम गर्ने एकजना सम्पर्कमा छैनन् । त्रिशूली २२० के.भी. ३बी हब सबस्टेसनमा ठेकेदारको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहीन छन् । यस्तै, अन्य आयोजनाका काम इन्जिनियरदेखि दर्जनौं कामदारसमेत सम्पर्कविहीन छन् ।